जनकपुर, १२ साउन। धनुषा प्रहरीले जनकपुरमा एक महिलासँग दुई लाख रुपैयाँ लुट्ने दुई युवकलाई पक्राउ गरेको छ।
विदेशबाट आफन्तले पठाएको २ लाख रकम बैंकबाट निकालेर घर फर्किदै गरेकी धनुषाको सबैला नगरपालिका ४ घर भई जनकपुरधाम उपमहानगरपालिका १ मा बस्ने शर्मिला देवीबाट सो रकम लुटेको आरोपमा लक्ष्मीनियाँ गाउँपालिका ७ का २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
गत सोमबार जनकपुरको मिल्सएरियामा रहेको एभरेष्ट बैँकबाट झिकेर घर फर्किदै गर्दा दुई लाख र मोवाईल सहितको प्लाष्टिकको झोलामा लुटेर दुई युवक फरार भएका थिए।
घटना लगतै जानकारी दिएपछि प्रहरीले अनुसन्धानको क्रममा दुवै जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जनाए।
जितेन्द्रको साथबाट लुटिएको मोबाइल र ५४ हजार नगद तथा दिपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ समृत बरामद गरिएको एसपी रजौरेले बताए।