वीरगञ्ज, ९ साउन। पर्सा प्रहरीले चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा ३ जनालाई शनिबार पक्राउ गरेको छ। जबरजस्ती करणी गरी हत्या अभियोगमा प्रहरीले वीरगंज महानगरपालिका २ का १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका १६ का १८ वर्षीय किशोर र १२ वर्षीय बालक लाई पक्राउ गरेको हो।

mount school 333

बिहीबार साँझदेखि बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले खोजी गर्ने क्रममा वीरगंज महानगरपालिका २ छप्कैयास्थित खाली जग्गाको झाडीमा बालिकाको शव फेला पारेको थियो। घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी थप सोधपुछको क्रममा निज बालक र अन्य ३ जनाको संलग्नतामा ती बालिकालाई जबरजस्ती करणी पश्चात हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साको कथन रहेको छ।

घटनामा संलग्नमध्ये सलमान खानलाई सोही महानगरपालिका २ घुसुकपुरबाट र १८ वर्षीय किशोरलाई सोही महानगरपालिका १६ नगवा सडकबाट प्रहरीले नियन्त्रणमा लिएको बतएको छ।

उनीहरु उपर जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न हाल फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ।