सर्लाही, ५ साउन। सर्लाही प्रहरीले स्रोत खुल्न नसकेको करिव १८ लाख नेपाली रुपैयाँ र ब्राउन सुगर सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको बिष्णु गाँउपालिका १ बारास्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १७ लाख ८२ हजार ५ सय नेपाली रुपैयाँ र ५ ग्राम २७० मिलिग्राम प्रतिवन्धित लागुपदार्थ ब्राउन सुगर सहित जिल्लाकै बागमती नगरपालिका १० का २३ वर्षीय सुमन विश्वकर्मालाई नियन्त्रणमा लिएको छ।
प्रदेश ०२–००३–००६ प ३४५१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका विश्वकर्मालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बाराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा स्रोत खुल्न नसकेको उक्त रकम र ब्राउन सुगर फेला परेको जनाएको छ।
उनको साथबाट चाँदीको ब्रासलेट १ थान, चाँदीको औँठी १ थान, मोबाइल सेट ३ वटा र उक्त मोटरसाईकल समेत बरामद गरिएको छ।
पक्राउ परेका विश्वकर्मालाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहिको जिम्मा लागाउने तयारी भईरहेको जनाएको छ।