वीरगञ्ज, २ साउन। उज्यालो वीरगञ्ज कार्यक्रममार्फत निवर्तमान मेयर बिजय कुमार सरावगीले धेरै चर्चा बटुलेको योजना कार्यकाल सकिंदापनि पुरा हुन सकेको छैन। उनले अधिकांश कार्यक्रममा महानगरले गरेका कामहरु बताउँदा उज्यालो वीरगञ्ज कार्यक्रम छुटाउँदैन्थे। बडा गर्वका साथ उनले आफ्नै कार्यकालमा उज्यालो वीरगञ्ज कार्यक्रम सफल भएको दावी गर्नेगरेपनि कार्यकाल सकिएको महिनौं वितेपनि काम सम्पन्न हुन सकेको छैन्।
भएका कामपनि कम गुणस्तरको रहेको प्राविधिकहरुको भनाई छ। जडान भएका ६० प्रतिशतभन्दा बढी बत्ति बल्न छोडी सकेको छ। यसको उचित अनुगमन र निगरानीको जरुरी रहेको स्थानीयहरु बताउँछन्।
राष्ट्रिय योजना आयोगको ५० प्रतिशत अनुदान र वीरगञ्ज महानगरपालिकाको ५० प्रतिशत लगानीमा वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडालाई उज्यालो बनाउने कार्यक्रम प्रभावकारी हुन सकेन। उक्त कार्यक्रमले ३२ वटै वडा त परै जाओस् वीरगञ्ज महानगरको बजार क्षेत्र समेत उज्यालो हुन सकेन।
२४ करोड ३१ लख २० हजार ६ सय ५६ रुपैयाँको बोलपत्र आह्वान भएको उँज्यालो वीरगञ्ज कार्यक्रमको ठेक्का सूर्याेदय ऊर्जा÷टपसन ईनर्जी प्रा.ली. काठमाडांैले २३ करोड ९६ लाख २४ हजार १ सय २७ रुपैयाँमा सकारेको थियो। २५ जेठ २०७७ मा वीरगञ्ज महानगर र ठेकेदार पक्षबिच भएको सम्झौताबमोजिम १५ असार २०७८ भित्र निर्माण सक्ने भनिएको थियो। कोभिड लगायतका कारण देखाई काम सम्पन्न नभएपछि १३ असार २०७८ को निर्णयानुसार १५ पौष २०७८ सम्म म्याद थप गरियो। उक्त अवधिसम्म पनि काम सम्पन्न नभएपछि २४ माघ २०७८ मा पुनः अवधीलाई लम्ब्याएर ३० असार २०७९ नाइयो। यो अवधिमा पनि काम सम्पन्न हुन सकेन।
पछिल्लो पटक थपिएको अवधिभित्र ठेकेदारले बत्ती जडानको काम नसकेका कारण २ सय दिनसम्म ठेक्का कबोल रकमको १० प्रतिशतसम्म महानगरपालिकाले जरिवाना गर्न सक्ने प्रावधान रहेको छ। यद्यपी अब जरिवाना गर्छ या फेरी म्याद थप गर्छ भन्ने प्रतिक्षाको विषय।
सम्झौताअनुसार १ सय वाट, ६० वाट र ४० वाटको गरी कूल १३ हजार ३ सय ९० वटा बत्ती र ३ सय १ वटा कन्ट्रोल प्यानल जडान गर्नुपर्ने हो। तर हालसम्म ३२ वटै वडामा कुल ९ हजार ६ सय १७ बत्ती र ६६ वटा कन्ट्रोल प्यानल जडान गरिएको छ। सम्झौतामा भनिएको क्षमताबमोजिम पनि बत्ती जडान नभएको एक प्राविधिकले बताए।
जडान भएका बत्तीमध्ये १, २, ४, १३, १५, १६, १७, १९ र २३ नम्बर वडाका करिब ६० प्रतिशत बत्ती बलेका छैनन्। १२, २० र २९ गरी ३ वटा वडामा मात्रै जडान भएका ७ सय ८५ बत्तीमध्ये १ सय २३ वटा बत्ती बल्दैनन्। पूरा काम नसकिदै अधिकांश स्थानका बत्ती नबल्नुले यो कार्यक्रमको प्रभावकारीतामा प्रश्न खडा गरेको छ।
बत्तीको गुणस्तर र जडान गर्ने प्रक्रियामध्ये कुनैमा समस्या देखिएको हुन सक्ने आशंका गरिएको छ। अँध्यारोमुक्त अभियान भनेर सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी नदेखिएपछि त्यसमा गरिएको लगानी बालुवामा पानी हाले सरह भएको टिकाटिप्पणी पनि भइरहेको छ। अँध्यारोमुक्त अभियान भनिएपनि वीरगञ्ज क्षेत्रमै राति अँध्यारो हुने गरेकोमा स्थानीय युवा शशीकान्त सर्राफले आक्रोश पोखे। उनी भन्छन्, “बजार क्षेत्र नै अँध्यारो भएपछि झन गाउँ गाउँमा बत्ती बालेर उज्यालो बनाउलान् भनेर के आश गर्नु । जडान गरिएका बत्ति पनि नबल्नुले झनै आशंका उब्जिएको छ।”
बत्ती जडानमा व्यापक अनियमितता भएको हुन सक्ने वीरगञ्जकै स्थानीय कृष्ण कुशवाहको आशंका छ । “पहिलो कुरा २ पटक म्याद थप्दा पनि बत्ती जडान भएको छैन। र जडान भएका बत्तीमध्ये पनि अधिकांश बल्दैनन् । त्यही भएर लगाएजस्तै गरेर रकम सकाउने काम मात्रै भएको हुन सक्छ”, उनले भने।
वीरगञ्ज महानरपालिकाले जारी गरेको श्वेत पत्र २०७९ मा पनि उज्यालो वीरगञ्ज कार्यक्रम प्रभावकारी नभएको उल्लेख गरिएको छ । श्वेत पत्र तर्जुमा समितिका संयोजक डा. दिपेन्द्र कुमार चौधरीले पनि श्वेत पत्र तयार पार्ने क्रममा अध्ययन तथा अनुसन्धान गर्दा उज्यालो वीरगञ्ज कार्यक्रमले वीरगञ्ज महानगरलाई उज्यालो बनाउन नसकेको भेटाए । महानगरभित्रका सडक बत्तीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न फिफ्थ वायर जडान गर्नुपर्ने आवश्यक्ता श्वेत पत्रमा औँल्याइएको छ । नेपाल विद्युत प्राधिकरणले फिफ्थ वायर जडान गर्ने मौखिक आश्वासन दिएपनि हालसम्म जडान हुन सकेको छैन ।
के गर्दैछ नयाँ नेतृत्व ?
वीरगञ्ज महानगरपालिकामा नयाँ नेतृत्व आएसँगै उज्यालो वीरगञ्ज कार्यक्रम दु्रत गतिमा अघि बढीरहेको वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह दावी गर्छन् । मेयर सिंहले भने, “यसअघि बिग्रिएका स्थानमा मर्मत एवम् जडान नभएका ठाउँमा नयाँ बत्ती जडान गर्ने काम पनि तिव्र गतिमा भइरहेको छ ।” उनी थप्छन्, “यसअघि जडान भएका बत्ती पनि क्षमताअनुसारको नभएको भन्ने गुनासो आएपछि गुणस्तर तथा नापतौल विभागमा पनि परीक्षणका लागि पठाएका छौँ ।” नापतौल विभागबाट गुणस्तरीय नभएको प्रमाणीत भए ठेकेदारलाई कारवाही गर्ने पनि मेयर सिंहले चेतावनी दिए ।
यस्तो थियो निवर्तमान मेयर सरावगीको दावी
वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर बिजय कुमार सरावगीको कार्यकालमा उज्यालो वीरगञ्ज कार्यक्रम शुरु गरिएको हो । वीरगञ्जको बिकासको अवस्थाबारे जानकारी गराउन उनले ‘वीरगञ्ज परिदृश्यमा विकास’ पुस्तकमा ‘उज्यालो वीरगञ्ज, अँध्यारोमुक्त अभियान’ शीर्षकमा वर्णन गरिएको छ । औद्योगिक नगरीको रुपमा परिचित वीरगञ्जमा रहेका हजारौँ कलकारखाना चौबिसै घण्टा सञ्चालन हुने भएकाले रातिको समयमा पनि वीरगञ्जलाई उज्यालो बनाउन उक्त कार्यक्रम सञ्चालन गरिएको सो पुस्तकमा उल्लेख छ । देशकै अघोषित आर्थिक राजधानी वीरगञ्ज बजारलाई रातिको समयमा पनि चलायमान बनाउन उज्यालो वीरगञ्ज कार्यक्रम कोशेढुंगा साबित हुने पुस्तकमा दाबी गरिएको छ ।
निर्माणको जिम्मा लिएको टपसन ईनर्जी प्रा.ली.का प्रबन्ध निर्देशक किरण गौतमसँग प्रतिक्रिया लिन खोज्दा उनी जानकारी दिनबाट पन्छिएका छन् ।