वीरगञ्ज, १२ असार। वीरगञ्ज महानगरपालिका १० मा सडक ढलान र नाला निर्माणको काममा गुणस्तरहिन र कमशल सामाग्री प्रयोग भइरहेको भन्दै स्थानीयले विरोध जनाएका छन्।
मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा वीरगञ्ज १० को बजरङ्ग टोलस्थित हनुमानगढी मन्दिर नजिकै विश्वप्रकाश शर्माको घर अगाडि उपभोक्ता समिति मार्फत निर्माण भइरहेको ढलान सडक र नालामा गुणस्तरहिन सामग्री प्रयोग गरेर मापदण्ड विपरित काम भइरहेको आरोप लगाउँदै स्थानीयले विरोध जनाएका हुन्।
निर्माण भइरहेको ढलान सडक काम समपन्न नहुँदै ठाउँठाउँमा भासिएको र ढलानलाई पानीले बगाएको छ भने नालामा गुणस्तरहिन सामग्री प्रयोग गरिएको स्थानीयहरुले बताएका छन्
भौतिक पूर्वाधार मन्त्रलायले वीरगञ्जस्थित पूर्वाधार विकास कार्यालयमार्फत उक्त स्थानमा ३ सय ३६ मिटर पिसिसी ढलान सडक र १ सय ३७ मिटर आरसीसी नाला निर्माणका लागि बजरङ्ग टोल सडक निर्माण उपभोक्ता समिति गठन गरेर निर्माणको जिम्मा दिएको छ। उपभोक्ता समितिले २ लाख ७१ हजार ८७ रुपैयाँ हाल्ने गरी निर्माणको कुल लागत २६ लाख ७१ हजार ८७ रुपैयाँ रहेको छ।
यद्यपी उपभोक्ता समितिका सदस्यहरुले पैसा बचाउन गुणस्तरहिन सामग्री प्रयोग गर्नुका साथै मापदण्ड विपरित काम गरिरहेको स्थानीय परमानन्द उपाध्यायले बताए । उपभोक्तासँग कामको लगत इस्टिमेटको बारेमा जानकारी माग्दा पनि नदिएको उपाध्यायको आरोप छ । “पछिल्लो १०–१२ दिनदेखि निर्माणको काम भइरहेको छ । आफ्नै टोलमा काम भइरहेकोले त्यसको गुणस्तर, लागतको बारेमा जानकारी पाउनु हाम्रो अधिकार हो”, उपाध्यायले टेलिफोन संवादमा भने, “तर उपभोक्ता समितिसँग गुणस्तर र लगत इस्टिमेट माग्न जाँदा धम्किपूर्ण भाषामा दिन मिल्दैन भनेर जवाफ फर्काउने गरेका छन्।”
हेर्दा पनि सडक र नालामा गुणस्तरहिन सामाग्री प्रयोग गरेर मापदण्ड विपरित काम गरिएको स्पष्ट देखिन्छ । पूर्वाधार कार्यालयले बनाएको गुणस्तर र लागत इस्टिमेटका अनुसार एक बोरा सिमेन्ट, डेढ बोरा बालुवा र तिन बोरा गिट्टी मिसाएर ८ एमएमको पिसिसी सडक ढलान गर्नुपर्नेमा उपभोक्ता समितिले इस्टिमेटभन्दा बढी गिट्टी र बालुवा मिसाएको अर्का स्थानीय राजन प्रसाद कलवारले बताए।
त्यसैगरी उपभोक्ता समितिले एकरुप हिसाबले सडक ढलानसमेत नगरेको पाइएको छ । सडक ढलान गर्दै कुनै ठाउँमा १० फिटको ढलान गरिएको छ भने कतै ७ फिट मात्र ढलान गरिएको छ । सडक ढलान कहाँदेखि कहाँसम्म भइरहेको छ भनेर प्रश्न गर्दासमेत उपभोक्ता समितिका सदस्यहरु झगडा गर्ने गरेको कलवारले बताए ।
कलवारका अनुसार आवश्यक्ता नभएको ठाउँमासमेत सडक ढलान र नाला निर्माण गरिएको छ । उपभोक्ता समितिका अध्यक्षको जग्गा पर्ने ठाउँमा अनावश्यक रुपमा जग्गाको मोल बढाउन पनि सडक ढलान र नाला निर्माण गरिएको कलवारले बताए।
आइतबार निर्माणस्थल पुगेका स्थानीय र उपभोक्ता समितिका सदस्यहरुबीच इस्टिमेटको विषयमा भनाभनसमेत भएको थियो।
प्राविधिक व्यक्तिका अनुसार पनि ढलान गरिएको सडकको गुणस्तर राम्रो छैन । माटो भएको ठाउँमा आरसीसी सडक ढलान गर्नुपर्नेमा उपभोक्ता समितिले पैसा बचाउने चक्करमा पूर्वाधार कार्यालयका कर्मचारीहरुसँग मिलेर इस्टिमेट नै गलत बनाएर पीसीसी ढलान गरेको एकजना इनिजिनियरले बताए । “यो ढलान धेरै दिन टिक्दैन । वर्षातमा पानीले ढलान तलको माटो बगाएर लिन्छ र हेभी गाडी चले सडक टुट्छ । नाला निर्माण गर्दा पनि इस्टिमेट अनुसारको मापदण्ड पालना गरिएको छैन”, उनले भने।
यता, उपभोक्ता समितिका अध्यक्ष आकाश गुप्ताले सडक ढलान र नाला निर्माणमा कुनै कमजोरी नभएको दावी गरे । केही स्थानीयहरुको व्यक्तिगत स्वार्थ पूरा नहुँदा अनावश्यक विरोध गरेको गुप्ताको आरोप छ। निर्माण काम चलिरहेकोले कहिँकतै कमजोरी देखिए त्यसलाई आफूहरुले ठिक गर्दै लगिरहेको उनको भनाई छ।