धनकुटा, ११ असार। धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका ६, पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर धनकुटा नगरपालिका ४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका २ का १४ वर्षीय उदय राईको डुबेर मृत्यु भएको हो।
पोखरीमा पौडी खेल्ने क्रममा उनीहरु पोखरीमा डुवेको स्थानीयको भनाई छ। धनकुटा एग्रो टुरिजम एण्ड फन भ्यालीले पर्यटकहरुका लागि बोटिङ गर्न र माछापालनको लागि बनाएको पोखरीमा उनीहरु पौडी खेल्न गएका थिए।
पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका बालकहरुको उद्धार गरी जिल्ला अस्पताल धनकुटामा लगिएको थियो। उदयको जन्मदिनको अवसर पारेर उदयसहित स्वर्णीम र धनकुटा नगरपालिका ५ का सन्देश राई पात्लेखोला पौडी खेल्न गएका थिए।
सन्देश भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिाकरी डीएसपी चिरञ्जीवी दाहालले बताए । पौडी खेल्न पोखरी छिरेका साथीहरु बेपत्ता भएपछि सन्देशले नजिकैको बस्तीमा गएर खबर गरेका थिए। घटना पश्चात प्रहरी टोलीले उद्धार गरेको थियो।
उनीहरुको उपचारका क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको बताइएको छ। बालकहरुको शव पोस्टमार्टमको लागि धनकुटा अस्पतालमा राखिएको छ।