सुनसरी, ६ असार। सुनसरीको बराहक्षेत्रमा खोलाल टेम्पो बगाउँदा एक किशोरीको मृत्यु भएको छ। अर्की किशोरी घाइते भएकी छन्। धरान–चतरा भित्री सडकखण्ड भएर धरानबाट चतरातर्फ जाँदै गरेको को २ ह ७९८५ नम्बरको टेम्पो आइतबार साँझ बराहक्षेत्र नगरपालिका १ बगुवास्थित बाघ खोलाले टेम्पोमा सवार स्थानीय १७ वर्षिय किशोरी वर्षीया किस्टिफिना राईको मृत्यु भएको हो।

खोलाले बगाएको स्थानबाट लगभग ६ सय मिटर तल कृष्टिनाको शव र क्षतिग्रस्त अवस्थामा टेम्पो फेला परेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए। टेम्पोमा सवार रसुवाको गोसाइँकुण्ड ६ धुन्चेकी १८ वर्षीया आनिया तामाङ सामान्य घाइते अवस्थामा भेटिएकी थिइन्। साथीलाई भेट्न पूर्व आएकी उनी चतरा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेकी छन्।

टेम्पो चालक धरान उपमहानगरपालिका १७ का २२ वर्षीय राजु राई भने सकुशल भेटिएको प्रहरीले जनाएको छ। टेम्पोमा चालकसहित ३ जना सवार थिए। टेम्पोसहित तीनै जनालाई खोलाले बगाएर बेपत्ता बनाएको खबर आएपछि उद्धारका लागि नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो। एसपी थापाले खोलामै रहेको टेम्पो निकाल्ने प्रयास भइरहेको र घटनाको थप अनुसन्धान थालिएको बताए।