वीरगञ्ज, ३ असार। पर्साको पकहाँमैनपुर गाउँपालिकामा छिमेकीको कुटाइबाट जेष्ठ नागरिकको मृत्यु भएको छ। पकाहामैनपुर १ धोरेका ६५ वर्षीय दशैं महराको छिमेकी महेश रामको कुटाईबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गएराति ११ २० बजेतिर महरा र छिमेकी महेश राम बिच झगडा भएको थियो। केही दिन अघि महेश रामको घरमा एक पुरूष पसेको विषयमा दुवै घरका महिला सदस्यबीच विवाद भएको थियो। त्यसैमा दशैं र महेश पनि मिसिन पुगेका थिए।
विवादले उग्र रुप लिएपछि महेश रामले दशैंको टाउकोमा लाठीले हानेका थिए । लाठी प्रहारबाट बेहोस भएपछि उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको थियो। उपचारको क्रममा दशैं महराको गएराति १ बजे मृत्यु भएको बताएको छ।