काठमाडौं, २९ जेष्ठ। आज बाल श्रम विरुद्धको दिवस विश्वभर मनाइँदै छ । बाल श्रम विरुद्ध सचेतना जगाउने उद्देश्यले हरेक वर्षको जुन १२ तारिखमा यो दिवस मनाउदै आएको छ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार बाल श्रम त्यो काम हो जसले बालबालिकालाई बाल्यअवस्था, उनीहरुको सम्भावना र मर्यादाबाट वञ्चित गर्दछ। जुन शारीरिक र मानसिक स्वास्थ्यका लागि हानिकारक छ।

कुनै पनि प्रकारको काम जसले बालबालिकालाई विद्यालय शिक्षा लिन रोक्छ भने त्यो पनि बाल श्रम हो। नेपालले बाल श्रम रोक्न तथा समग्र बाल अधिकारको संरक्षण तथा सम्वर्द्धनका लागि बाल अधिकार सम्बन्धी महासन्धि १९८९, श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओ महासन्धि र निकृष्ट प्रकारको बाल श्रम उन्मूलन सम्बन्धी महासन्धि अनुमोदन समेत गरेको छ।

बाल श्रम रोक्न प्रयास भइरहे पनि त्यो पर्याप्त देखिएको छैन। अहिले पनि डेढ लाखभन्दा धेरै बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेका विभिन्न तथ्याङ्कले देखाएका छन्।