दलतन्त्रले अँठ्याइरहेको नेपालको राजनीतिक बजारमा चुनावको व्यापारमेला लागिरहेको छ । स्थानीय चुनावको व्यापारमेलामा सत्तासीन गठबन्धनका दलदेखि सत्ताकांक्षी पार्टीका मोर्चासम्म, हिजोका मण्डलेदेखि माओवादीसम्मका दल र स्वतन्त्र व्यक्तिहरू विकासे सपना र विश्वासका माला बेच्न लागिपरेका छन् ।
उनीहरूमध्ये कोही मेट्रो रेल गुडाउने त कोही केबलकार झुन्ड्याउने त कोही भ्युटावर बनाउने त कोही पार्क सजाउने सपना बेच्दै छन् र बालिग मतदाताबाट मत किन्न खोज्दै छन् । बोल्नेको पीठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने ज्ञान भएका ती सबै राजनीतिक व्यापारीलाई थाहा छ, यहाँको राजनीतिक बजारमा कि विकास बिकाउन सकिन्छ, कि त विश्वास बेच्न सकिन्छ !
अरू देशले सय वर्षमा गरेको विकास–प्रगति–समृद्धि दस वर्षमै सम्पन्न गर्ने गरी फुटाइएको ‘विकासको मूल’ मै पौडी खेली हुर्केकालाई राम्ररी थाहा छ- नेपालीहरूमा विकासप्रति अन्धविश्वास प्रगाढ छ, विकासे गफ दिने दल र व्यक्तिप्रति भक्तिभाव अगाध छ । यही विश्वास, भक्ति र श्रद्धाकै बलमा विकासे दल र व्यक्तिले मतदाताको मन जित्दै आएको पाइन्छ । विकासप्रति अन्धविश्वासले मात्रै मतदाताको मन जित्न गाह्रो हुने अवस्था आउँदा पनि राजनीतिक बजारमा बेच्ने मालको कुनै अभाव नहुने रहेछ । यसै क्रममा उनीहरूले कहिले चुच्चे नक्साको राष्ट्रवादी वस्तु त कहिले राम–अयोध्याको धार्मिक विश्वास र सांस्कृतिक राष्ट्रवादको मिश्रित माल बेचेर पनि सत्तासीन हुने गरी आवश्यक मत किन्न सक्छन् ।
नयाँ शीतयुद्ध
अहिले प्रतिपक्षी नेकपा एमाले समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता बिकाउन क्रियाशील छ भने सत्तापक्षीमध्ये नेपाली कांग्रेस लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिको नारा बेच्दै हिँडेको छ । सत्तापक्षकै नेकपा माओवादी व्यवस्था होइन, अब अवस्था फेर्ने प्रचारबाजीमा लागेको छ भने जसपाले पहिचान, संघीयता, सुशासन र सदाचारको मार्केटिङ गर्दै छ । यी घोषणा, प्रचार, नाराको मार्केटिङको नेपथ्यमा भने राज्यबाट बहिष्कृत र सत्तासीन वर्गबाट उत्पीडितजनलाई सचेत, संगठित र संघर्षशील बनाईकन सामाजिक संरचना फेर्ने र जनजीवनलाई सहज पार्ने स्थानीय सरकारको वैचारिकी छैन; त्यसभन्दा बेसी मात्रामा विकासप्रतिको अन्धविश्वास बेच्ने राजनीतिक ठेकेदारको काल्पनिकी प्रभावशाली देखिन्छ । यही काल्पनिकी बिक्री–वितरण गर्दै जसरी पनि स्थानीय निकायको स्वायत्ततासँगै स्रोत–साधन–शक्ति खल्तीमा हाल्न अनेक ‘चुनावी फन्डा’ उपयोग हुन थालेको देखिन्छ, घोषणापत्रबारे दलका नेताहरूबाट थालनी भएको नयाँ शीतयुद्ध हेर्दा ।
अन्धविश्वासको विकास
यस्तै स्पर्धा र आकांक्षा अनेक निर्वाचन क्षेत्रमा प्रकट हुने सिलसिलामा वीरगन्जमा जसपाका सांसद प्रदीप यादवले एमालेका उम्मेदवार एवं उद्योगपति विजय सरावगीलाई चुनाव जित्न साम, दाम, दण्ड, भेदसँगै काला जादु प्रयोग गरेको आरोप लगाउन चुकेनन् भने सरावगीले पनि आफूले राक्षसी प्रवृत्तिविरुद्धको लडाइँ थालेको र पण्डितहरूबाट गायत्री मन्त्र जप गराएको स्विकार्न भ्याए । सार्वजनिक भएका आरोप–प्रत्यारोप र आचरण मात्रै हेर्दा पनि देखिन्छ, स्थानीयदेखि राष्ट्रिय स्तरका धेरैजसो नेताहरू सेकुलर लोकतन्त्रको पक्षपाती हुनु त टाढाको कुरा, अन्धविश्वास, रूढिवाद र धर्मान्धताको विपक्षमा समेत छैनन् ।
सार्वजनिक जीवनमा समेत कोही ज्योतिषीको पछि लाग्ने, कोही भैंसी पूजा गर्ने, कोही पशुपतिको अर्चना गर्ने राजनीतिक नेतृत्वको अवस्तुवादी दृष्टिकोण र अवैज्ञानिक संस्कृतिको प्रभाव मठमन्दिर निर्माणमा संघदेखि प्रदेश र स्थानीय सरकारबाट बढ्दो राज्यको लगानीमा मात्रै होइन, जनमानसमा झाँगिन थालेको धर्मान्धता, अन्धविश्वास र रूढिवादी रुझानमा पनि देख्न सकिन्छ । सन् १९९० मा भाजपाका नेता लालकृष्ण आडवाणीले गरेको श्रीराम रथयात्राको शैलीमा महाव्याधिका बेलासमेत बालुवाटारदेखि माडी (तथाकथित अयोध्यापुरी) सम्मको राम–सीता–हनुमानको राजकीय रथयात्रा कुनै विचार–विमर्श नगरीकन दलपतिको सनकमा मात्रै आयोजना गरिएकै थिएन । धर्मभीरु राष्ट्रवादी जनगणको मनको विश्वासलाई भजाएर दलीयकरण गर्ने नियोजित योजना अनुसार प्रधानमन्त्री निवासदेखि कथित अयोध्यापुरीसम्म मूर्ति–यात्रा गर्ने धर्मसापेक्ष एमाले सरकार, त्यसका मन्त्री, प्रदेशप्रमुख र मुख्यमन्त्रीसँगै नेता–कार्यकर्ता छ्यापछ्याप्ती भएपछि पशुपतिको भाइरल बाँदर वा अन्य लौकिक–अलौकिक शक्तिबाट आशीर्वाद लिनेहरूको घुइँचो लाग्नु कुनै अनौठो घटना हुन सक्दैन । अब नेपालमा पनि भारतको तमिलनाडुमा जस्तै आफ्नो पार्टी जितेमा आफ्नै जिब्रो काटेर भगवान्लाई चढाउने जुझारु भक्तहरू देखिए भने पनि छक्क पर्ने अवस्था नहुन सक्छ ।
स्थापितहरूको ओलीकरण
चुनावमा जसरी पनि जित्न विकास वा विश्वास बेच्ने अराजनीतिक धन्दा नेपालमै कति हदसम्म अभ्यास भइरहेको छ, त्यसको सानो उदाहरण काठमाडौंका एक पूर्वमेयरको उद्घोषमा देख्न पाइन्छ । राजनीतिक दलका मठाधीशहरूबाट कसलाई कसरी टिकट दिइएको छ, त्यसको एक झलक उनले सार्वजनिक गरेका छन्, ‘काठमाडौंको कुनै डाँडामा विश्वकै ठूलो गणेश मूर्ति राखेर ध्यानकेन्द्र बनाउँछु भनेपछि ओलीले टिकट दिनुभयो ।’ कुनै बेला एकीकृत मार्क्सवादी लेनिनवादी पार्टीका युवा नेता रहेका पूर्वमेयर केशव स्थापित हाल काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार मात्रै होइनन्, भगवान् गणेशका साधक पनि हुन् । उनी अचेल गणको ईश वा राजा वा देउता हुने र मुकुट वा श्रीपेच लगाउने सपनाका साथ गणेश, गणेशको वाहन मुसाबारे एमालेपति ओलीकै धार्मिक शैलीमा ‘मार्क्सवादको सारभूत विश्लेषण’ गर्दै हिँडेका छन् । यो कुनै एक व्यक्तिमा देखिएको रोग मात्रै होइन, बरु एउटा महामारीका रूपमा देशभरि फैलिएको छ । यो रोग लागेपछि धर्मभीरु मनका विश्वास भजाउने अनेक काम, प्रचार र मिथ्या सूचना प्रवाह गर्नुमा कुनै गैरलोकतान्त्रिक, गैरसेकुलर र गैरमार्क्सवादी समस्या देखिनै छाड्छ ।
विकासलाई भजाएर होस् कि विश्वासलाई षड्यन्त्रकारी टेको दिएर, जसरी पनि विजय हासिल गर्ने उपक्रमको इतिहास लामो छ । यसैबीच एमालेका उम्मेदवार केशव स्थापितले एउटा भाइरल अन्तर्वार्तामा करिब तीन दशकअघिको उपनिर्वाचनमा आफूले गरेको चुनावी षड्यन्त्रलाई आफैंले उजागर गरेका थिए । महिलाहरूमाथि यौन–हिंसा गरेको आरोपमा ‘मी टु’ लागेका कारण चारित्रिक विवादको घेरामा परेका स्थापितले उजागर गरेको चुनावी षड्यन्त्रले देखाएको छ- चुनावमा जित हासिल गर्न जे पनि गर्नु नीति–नैतिकताबिनाको राजनीतिमा जायज छ ! २०५० सालमा कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउन एमालेका तर्फबाट मदन भण्डारीकी श्रीमती विद्यादेवी भण्डारीलाई हिन्दु मूल्य–मान्यता अनुसार सेतो सारीमै प्रचार अभियानमा कुदाइएको र धार्मिक विश्वासलाई भजाइएको तथ्य जगजाहेर नै छ । त्यसै बेला गरिएको अर्को धार्मिक–राजनीतिक षड्यन्त्रबारे स्थापितले कुनै बेला सगर्व दाबी गरेका थिए, ‘मैले विद्यादेवी भण्डारीको ६ बाई ६ फिटको फ्लुरोसेन्ट पोस्टरमा गोबर र रातो रङ छ्यापेर अर्को दिन देशव्यापी रूपमा कांग्रेसले विधवा नारीको तस्बिरमा रगत छ्याप्यो भन्ने अफवाह र होहल्ला मच्चाएर चुनाव जिताएको हुँ ।’
कौटिल्यको कुटिल शिक्षा
चाहे कक्षामा होस् या कार्यस्थलमा, सामान्य रूपमा प्रतिस्पर्धा भनेको हिंसात्मक हुन्छ; यसमा प्रतिस्पर्धीलाई जसरी पनि हराउने नीति र नियत हुन्छ नै । त्यसमा पनि सत्ता–शक्ति–सम्पत्तिसँग जोडिएको चुनावी प्रतिस्पर्धामा जानेर–बुझेर धार्मिक विश्वास, आस्था, भक्ति र श्रद्धासँग दुष्प्रचार र षड्यन्त्र पनि जोडियो भने झन् खतरनाक हुन्छ । तर, धेरैजसो शासक र साझेदारले शासन प्राप्ति एवं विस्तारका लागि धार्मिक मूल्यमान्यता र अन्धविश्वासलाई भजाउन र षड्यन्त्रका अनेक तानाबाना बुन्न कुनै कसर बाँकी राखेको देखिँदैन । नेपालसहित दक्षिण एसियामा सयौं वर्षदेखि शासक र सत्ताकांक्षीहरूलाई दीक्षित गर्न प्रयोग गरिने एउटा प्रमुख किताब हो- ‘अर्थशास्त्र’ । धर्म, अर्थ, राजनीति, संस्कृति, कूटनीति र षड्यन्त्रका अनेक सूत्रले भरिएको ‘अर्थशास्त्र’ का मूल लेखक चाणक्य नामबाट प्रख्यात कौटिल्य हुन् । रोमिला थापरका अनुसार, उनले करिब २३ सय वर्षअघि पाटलीपुत्रका सम्राट् चन्द्रगुप्त मौर्यको मन्त्री हुँदा लेखेको ‘अर्थशास्त्र’ मा विष्णुगुप्तले इस्वी संवत्को छैटौं र सातौं शताब्दीमा सम्पादन र संशोधन गरेका थिए । त्यसमा सत्ता–शक्ति–सम्पत्तिका लागि, उनीहरूमाथि निरन्तर शासनका लागि सोझा, सीधा, धर्मभीरु जनताका धार्मिक विश्वास र परम्परागत आस्थालाई दोहन गर्ने अनेक उपाय सिकाइएका छन् ।
कौटिल्यले राजा र तिनका जासुसलाई सिकाएका थिए- अर्को देशमा मुख्य देउताको मूर्तिलाई बाख्राको रगतले नुहाइदिनू, त्यसले राज्यमा विनाशको आशंका र त्रास फैलाउँछ । त्यसैबाट सिकेर होला, भारतको अयोध्यामा तथाकथित राम जन्मभूमि रहेको बाबरी मस्जिदको परिसरमा सन् १९४९ मा रामललाको मूर्ति राखिएको थियो । हालै अयोध्याकै मस्जिद र मजारमा मासुको टुक्रा, धार्मिक ग्रन्थका च्यातिएका पाना र मुसलमान समुदायका लागि आपत्तिजकन शब्द लेखिएका पत्र राति फ्याँकेर साम्प्रदायिक दंगा फैलाउने दुष्प्रयास भएको छ ।
राज्यकोष र शक्ति वृद्धि गर्न जनताको धार्मिक विश्वासलाई राजनीतिक छलकपटमा प्रयोग गर्न उक्साउने पण्डित कौटिल्यले राजाहरूलाई सल्लाह दिएका थिए- साम्प्रदायिक प्रचार वा धन आर्जनको माध्यम बनाउन राजाले जमिनमुनि देउताका मूर्ति गाडेर राख्न सक्छन् । कुनै बनावटी सपनाको कथा फैलाउँदै माटोमुनिको मूर्ति पत्ता लागेको वा देउता आफैं भूमिबाट प्रकट भएको प्रचार गर्न सकिन्छ । जनताबाट पैसा संकलन गर्न र मन्दिर बनाउन त्यही मूर्तिलाई प्रयोग गर्न सकिन्छ । कुनै अशुभ संकेत देखिएको प्रचार गर्दै देउताको पूजा गर्न वा सम्भावित अनिष्ट हटाउन धार्मिक मेला लगाउन सकिन्छ र तीर्थालुबाट पैसा असुल्न सकिन्छ । राजाका कुनै गुप्तचरले राक्षसको वेशमा रूखमा चढेर मानिसहरूसँग दैनिक नरबलि माग गर्न सक्छ । प्रेतात्माको निवारणका नाममा मानिसहरूबाट पैसा खिच्न सकिन्छ । त्यस्तै, अनेक टाउका भएको सर्प देखाएर शुल्क लिन सकिन्छ, शंका गर्नेलाई चरणामृतमा विष खुवाउन सकिन्छ, औषधि खुवाएर बेहोस पार्न सकिन्छ वा गुप्तचर लगाई साँपले टोकाएर कोपभाजनमा परेको भन्न सकिन्छ ।
विश्वासमाथि सन्देह गर
जब कुनै दल वा नेता वा व्यवस्थाको राजनीति भनेकै कूटनीति वा षड्यन्त्र वा जालझेल हुन्छ, सबै अश्लीलता, अनैतिकता, दुराचार, दुष्ट्याइँ पनि जायज हुन थाल्छन् । चुनावमा आफू चुनिन वा अरूलाई हराउन विकास/विश्वासको बेचबिखनमा लागेका उम्मेदवारहरूले जेजस्तो चुनावी फन्डा उपयोग गर्दै छन्, जति हदसम्म मिथ्या सूचना, दुष्प्रचार र अन्य समुदायविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति सार्वजनिक गर्दै छन्, तिनले लोकतान्त्रिक गणतन्त्र र यसका सार्वभौम जनताको हस्तक्षेपलाई नै एकपछि अर्को रूपमा मार्दै छन् । सार्वजनिक वृत्त र (अ)सामाजिक सञ्जालमा प्रोपगान्डामार्फत जारी शीतयुद्ध तथा अनेक षड्यन्त्र र तिकडममार्फत फैलाइएको विकास/विश्वासको बेचबिखनले कस्तो भयावह वर्तमान बनाउने र अन्धकारमय भविष्य छोडेर जाने हो, अनुमान गर्दैमा कहाली लाग्न सक्छ । सबै खालका सत्ता–शक्तिमाथि सन्देह र प्रश्न गर्ने र आलोचनात्मक विवेक जगाउने तथा आफ्नो वर्तमान आफैंले बनाउने गरी सार्वभौम जनताको हस्तक्षेपलाई सुदृढ गर्ने नयाँ आन्दोलन सुरु गर्न सकिएन भने असफल राज्य र निकम्मा समाजको भड्खालोमा जाकिने सम्भावना बढ्नेछ । बुद्ध र मार्क्सले भनेका थिए, सबैमाथि सन्देह गर ! सन्देह गर्दै आलोचनात्मक विवेकको नजरियाले उत्तर खोज्ने आन्दोलनबिना अनेक चुनावी फन्डाले आम रूपमा लोकलाई, त्यसमा पनि गरिखाने वर्ग, जात, जाति, लिंग, समुदाय र क्षेत्रका लोकको हित गर्दैनन्, न त उनीहरूका नाममा बनाइएको लोकतान्त्रिक ढाँचालाई नै बलियो बनाऊँछन् ।