जनकपुर, ७ वैशाख । धनुषामा हात र खुट्टा बाँधेर पोखरीमा फालिएको अवस्थामा बुधबार एक युवकको शव भेटिएको छ । जनकपुरधाम उपमहा नगरपालिका २१ कुर्थास्थित रामनारायण महासेठको पोखरीमा अन्दाजी २५ वर्षीय अपरिचित युवकको शव भेटिएको हो।
हात र खुट्टामा कपडाले बाँधिएको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ। पानीमा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।
शवको प्रकृतिले हत्या गरिएको जस्तो देखिएपनि घटनाबारे थप अनुसन्धान भईरहेको जिल्लाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।