विजय कुमार सरावगी, वीरगञ्जबासीका लागि कुनै अपरिचित नाम हैन । उद्योग एवम् व्यवसायको क्षेत्रमा प्रतिष्ठित मानिने सरावगी राजनीतिक रुपमा थोरै समयमै धेरै उपलब्धी प्राप्त गर्ने नेताहरुको सूचीमा अग्रपंक्तिमा आउँछन् । वि.स. २०७४ सालको निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरमबाट साम, दाम, दण्डभेदको बलमा मेयरको टिकट पाएर बिजयी भएका सरावगी अब पुनः मेयरमै दोहोरिन्छन् कि भन्ने आशंका पनि उब्जिएको छ । सरावगीले मेयर भईसकेपछि गरेका कामहरुको आधारमा नामसँगै बदनाम पनि कमाएका छन् । अर्थात उनका प्रशंसक भएजस्तै आलोचकहरु पनि छन् । निर्वाचित भएदेखि अब केही समयमात्रै कार्यकाल बाँकी हुँदा उनले गरेका काम एवम् आगामी राजनीतिक यात्रा लगायतका विषयमा गमक पोष्टकालागि सूर्यनारायण वि.क.ले मेयर सरावगीसँग गरेको कुराकानीको संपादित अंश ।
आसन्न निर्वाचनमा पुनः मेयरमै लड्का लागि जसपाबाट टिकट पाउने सम्भावना नदेखिएपछि एमाले प्रवेश गर्नुभयो । यसले तपाई अवसरवादी हो भन्ने प्रस्ट भयो है ?
म अवसरवादी हो कि राष्ट्रवादी भन्ने कुरा म भन्दा पनि वीरगञ्जवासीले बुझेका छन् । विभिन्न राजनीतिक उतारचढाव र आफ्नै पार्टीका नेता कार्यकर्ताको दवाव र विरोधका बिच पनि निर्वाचित भएदेखि अहिलेसम्म गरेका कामहरुको मूल्यांकन जनताले गरेकै छन् । जनप्रतिनीधि आउनु अगाडी वीरगञ्जको विकासको अवस्था र वीरगञ्ज महानगरपालिकाको भद्रगोल एवम् डामाडोल अवस्थालाई व्यवस्थापन गर्न सफल हुनुलाई म महत्वपूर्ण उपलब्धी मान्छु । म जसपाबाट अलग भएकै हो । कसैको दवावका बिच बस्न र काम गर्न सकिदैन भन्ने निक्र्याैलमा पुगेरै यो निर्णय गर्न म बाध्य भएको हुँ ।
२०/ २५ वर्षमा हुन नसकेको विकास साढे ४ वर्षमा गरे भनेर तपाई कुन आधारमा दावी गर्नुहुन्छ ? जनतालाई विश्वास दिलाउन सक्नुहुन्छ ?
मापदण्ड नपुग्दा पनि हतारमा महानगरपालिका घोषणा गरियो । अपर्याप्त स्रोत साधन, अपर्याप्त जनशक्ति, आफ्नै पार्टीका एवम् अन्य पार्टीको विरोधका बिच पनि वीरगञ्जमा म आएदेखि भएको विकास नै काफि छ । मैले केही बोल्नुपर्छ जस्तो लाग्दैन । तर कुरा के छ भन्दा एडिबिको परियोजनालाई लिएर सबैमा एउटा भ्रम छ । त्यो पनि महानगरपालिकाले नै एडिबिसँगको सहयोगमा गरेको काम हो । वीरगञ्जका अधिकांश क्षेत्र अहिले पनि ग्रामिण वडाका रुपमा छन् । ति वडाहरुलाई महानगरस्तरमा पु¥याउन धेरै काम भएको छ । त्यस्ता वडालाई बढी प्राथमिकता दिएर काम भईरहेको छ । साढे ४ वर्षको अवधिमा वीरगञ्जको विकासमा ९ अर्ब रुपैयाँ खर्च भएको जसको उपलब्धी म एकएक गरी देखाउन सक्छु । २०÷ २५ वर्षअघिको वीरगञ्ज र अहिलेको तुलना गरेर हेर्ने हो भने मैले भनेका कुराहरु पत्याउनुको कुनै विकल्प नै छैन ।
जनता एकातिर अनि जनप्रतिनीधि अर्काेतिर । दुवैका कुरा बाँझीए । जनता असन्तुष्ट अनि जनप्रतिनीधिले धेरै बिकास भएको दावी गर्नु कुरा मिलेन नी मेयर साव ?
वीरगञ्ज आफैमा एउटा ऐतिहासिक एवम् सम्भावनाको शहर हो । आर्थिक नगरी हो । जसका कारण अपेक्षा बढी हुनु स्वभाविक हो । जनअपेक्षा बमोजिम विकासका लागि वीरगञ्जलाई १ खर्ब रुपैयाँ चाहिन्छ । जबकी अहिले वर्षमा लगभग १ अर्ब रुपैयाँको हाराहारीमा खर्च हुन्छ । स्थानीय तहलाई पनि केन्द्र र प्रदेशले बाँधेर राखेका छन् । संघियता नामको मात्रै छ । अँझै धेरै अधिकारहरु हामीलाई दिइएकै छैन । यसका बाब्जुद पनि बिकास लागि चाहिने आधारहरु मेरो नेतृत्वको स्थानीय सरकारले गरेकै छ । अब फेरी पनि म निर्वाचित भए भने मेरा सपना र योजनाहरुले मुर्त रुप लिनेछन् भन्नेमा म विश्वस्त छु ।
कोरोना भाइरसको महामारीले पनि केही हदसम्म काम गर्न नदिएको यथार्थ हो । तर त्यसले विकास निर्माणमा पारेको प्रभाव चाँही के छ ?
वीरगञ्ज महानगरपालिकालाई कोरोना महामारीबाट मुक्त बनाउन आफ्नै स्रोतबाट १२ करोड रुपैयाँ खर्च भयो । जुन पक्कै पनि सानो रकम हैन । यदि कोरोना कहर नआईदिएको भए उक्त रकमले अरु योजना निर्माण हुन सक्थ्यो । यद्यपी त्यो समयमा हामीले गरेको काम र हाम्रै मोडललाई अरुले पनि अनुसरण गरे । फलस्वरुप हामी शतप्रतिशत सफल भयौँ भन्ने लाग्छ । सिमा क्षेत्रमा अँझै बढी जोखिम र चुनौती हुँदाहुँदै पनि हामीले नियन्त्रण गरेरै छोड्यौँ । वीरगञ्ज मात्र नभएर समग्र पर्सादेखि बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर चितवनसम्मका संक्रमितलाई औषधी, खाना बस्नसहितको व्यवस्थापन ग¥यौँ । मैले नै सुरु गरेको ‘एक घर एक पीसीआर परीक्षण’ को अवधारणाले पनि संक्रमण नियन्त्रणमा ठूलो सघाउ पुग्यो । पीसीआर मेशिन ल्याएर परीक्षण थाल्ने पहिलो महानगरपालिकाको रुपमा वीरगञ्जलाई बनाउन सफल भए । यसमा यहाँका सहयोगी हातहरु, उद्योगी, व्यवसायी, समाजसेवीहरुको पनि ठूलो हात छ ।
अब फेरी पनि तपाई मेयरको दावेदारीका रुपमा तयारी गरीरहनुभएको छ । पुनः जनताले तपाईलाई नै जिताउने आधार के छन् त ?
मलाई अहिले धेरैले सोध्ने प्रश्न सोध्नुभएकोमा धन्यवाद । आज यही माध्यमबाट मैले प्रस्ट पार्ने मौका पाए । खासमा मैले अहिलेसम्म गरेका कामको मूल्यांकन एकातिर छ । अनि अर्काेतिर मेरा योजना र भिजनले अँझै मुर्त रुप पाएका छैनन् । ति सपनाहरुलाई सार्थकता दिन अँझै ५ वर्ष काम गरे भने वीरगञ्जलाई साँच्चिकै समृद्ध बनाउँछु भन्नेमा कुनै आशंका छैन । वीरगञ्जलाई फोहोरको शहर भनेर चिनिन्थ्यो । तर अहिले फोहोरमैला व्यवस्थापनमा ठूलो अपलब्धि भएको छ । यसअघि शंकराचार्य गेटमा थुप्रिने फोहोर अब अब महानगरपालिकाले निर्माण गरेको ल्याण्डफिल साइटमा बिसर्जन भइरहेको छ । केही कमजोरी पनि छन् नभएका हैनन् । हामीले डस्टबिन वितरण ग¥यौँ, जनचेतना जगायौँ । तर पनि नगरवासीले नै अटेरी गरेर जहाँत्यहीँ फोहोर फाल्दा समस्या भएको छ । आफ्नो घर र पसल वरीपरीको फोहोर एकैठाउँमा राखेर नगरपालिकाको गाडीमा राख्दिने हो भने वीरगञ्जको फोहोर पुर्ण रुपमा कम हुन्छ । अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि ‘ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट प्लान्ट’ बनेको छ । गरेका कामहरुको बखान गर्ने हो भने अहिले समय नै पुग्दैन सूर्य जी । (हाँस्दै)
तपाईले प्राय ः सुनाउने समस्या भनेको जनशक्ति अभाव । त्यसका लागि महानगरपालिकाले पहल नगरेको हो कि ?
एकजना सचिवले ३ वटा वडा हेर्नुपर्ने बाध्यता छ । अब भन्नुहोस् कसरी काम प्रभावकारी र चुस्त दुरुस्त हुन्छ ? हामीले पहल नगरेको हैन । संघिय सरकारले यो अधिकार नै हामीलाई दिएको छैन । मलाई लाग्छ, जनशक्ति अभावको समस्या वीरगञ्ज महानगर मात्रै हैन देशैभरका हरेक स्थानीय तहले भोगिरहेका छन् । तर पनि जति छन् त्यति नै जनशक्तिको परिचालन राम्रैसँग गरेका छौँ । मैले प्रमुखको जिम्मेवारी सम्हाल्दा महानगर ३६ करोड रुपैयाँ ऋणमा थियो । कर्मचारीको अभाव थियो । उपसचिव तहको जनशक्ति चाहिने ठाउँमा सातौँ तहको ईन्जिनियरबाट काम गराइरहेका छौँ । महानगरको आन्तरिक आय १७ करोड रुपैयाँ थियो । अहिले ४५ करोड पुगेको छ । मुख्यतया संघ र प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय नगर्दा समस्या सृजना भएको हो ।
निर्वाचनता गरेको प्रतिबद्धताहरु पनि अधुरै छन् । महानगरमा सामान्य काम गराउँदा पनि कमीशन दिनुपर्छ भन्ने सेवाग्राहीको गुनासो छ । व्यापारी न पर्नुभयो राजनीतिलाई पनि नाफा र नोक्सानीसँग तुलना गर्नुभएकै हो त ?
म व्यावसायीकै क्षेत्रबाट राजनीतिमा प्रवेश गरेको हुँ । तर मैले राजनीतिलाई व्यापार कहिलै सोचिन र सोच्ने पनि छैन । पैँसा नै कमाउने हो भने म राजनीतिमा आउँदिन थिए पनि । तर आफ्नो शहरको विकास गर्ने र नगरवासीलाई सेवा सुविधा सहज रुपमा प्रदान गर्ने हुटहुटीले राजनीतिमा पाइला टेकेको हुँ । मलाई अहिले पनि वीरगञ्जको विकास र वीरगञ्जबासीको जिवनस्तर उकास्ने विषयले निद्रा लाग्दैन । आरोप लगाउने क्रम त कहिलै रोकिदैन । विरोधीहरुले लोकप्रियता सहन नसकेर आरोप लगाइरहन्छन् । तर मलाई यी सब कुराहरुले कुनै प्रभाव पर्दैन । जहाँसम्म कमिशनको कुरा छ, प्रमाणसहित कसैले मागेको छ भने आउनुहोस् हामी ति कर्मचारीलाई कारवाही गर्न तयार छौँ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ सम्पूर्ण वीरगञ्जबासीका लागि ?
अहिले वीरगञ्जले देशका लागि झण्डै ५० देखि ६० प्रतिशतसम्म राजस्व दिन्छ तर संघ सरकारले सँधै वीरगञ्जलाई उपेक्षामा राख्दै आएको छ । यसमा मेरो घोर आपत्ति छ । आगामी दिनमा संघ सरकारको वीरगञ्जलाई हेर्ने दृष्टिकोण बदलियोस् भन्ने आशा छ । यसका साथै आगामी ५ वर्ष पुनः मलाई नै काम गर्ने अवसर दिनुभएमा तपाईहरुले हेर्न चाहे जस्तै वीरगञ्ज बनाउनेछु भन्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । अनि अन्त्यमा मेरा धारणा र बिचारलाई प्रस्तुत गर्ने अवसर प्रदान गर्नुभएकोमा तपाई र द नेपाल टप परिवारप्रति आभारी पनि छु ।
हस् धन्यवाद ।