जनकपुर, १४ चैत । धनुषा प्रहरीले जनकपुरबाट बालिका अपहरण गरी फिरौती मागेको आरोपमो तीन युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले धनुषाकै कमला नगरपालिका २ घर भई हाल जनकपुरधाम उपमनपा १६ बस्ने धुव्रकुमार मण्डलकी ४ वर्षीया छोरीको अपहरण गरी फिरौती मागेको आरोपमा धानुषाधाम नगरपालिका ३ सिजियाहीका २१ वर्षीय अरविन्द मुखिया, जनकपुरधाम १ का २१ वर्षकै रविकुमार दास र कमला नगरपालिका ८ सोनापारा घर भई हाल जनकपुर १६ पुल्चोक डेरा गरी बस्ने वर्ष २० का अभिषेकचन्द्र दासलाई नियन्त्रणमा लिएको हो ।
बिहीबार साँझ साढे ७ बजे अपहरित बालिकालाई प्रहरीले २४ घण्टाभित्रै शुक्रबार साँझ सकुशल उद्धार गरेको थियो ।
विदेह नगरपालिका ८ बफैयबाट उद्धार गरी बालिकालाई प्रहरीले परिवाजनको जिम्मा लगाएको थियो ।
सोही दिन प्रहरीले अपहरणमा संलग्न आरोपमा अभिषेक दाससहित ७ जनालाई पक्राउ गरेको थियो । तर प्रारम्भिक अनुसन्धानका क्रममो ४ जना घटनामा संलग्न नदेखिएको भन्दै प्रहरीले आईतबार तीनजनालाई सार्वजनिक गरेको छ । पक्राउ परेका ३ जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको धनुषा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार तीन अभियुक्तमध्ये अभिषेकचन्द्र पनि बालिकाको परिवार डेरा लिएर बस्ने पुलचोकस्थित घरमै डेरामा बस्थे । उनकै योजनामा विद्यालयबाट फर्केपछि बालिकाको अपहरण भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अपहरणपश्चात् उनीहरूले बालिकाको परिवारसँग १५ लाख रुपैयाँ फिरौती दिन अन्यथा बालिकालाई मारेर फालिदिने चेतावनी दिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार अपहरण गरेको भोलिपल्ट बिहानै परिवारजनलाई फोन गरेर उनीहरूले भनेका थिए, ‘हामी तिम्रो छोरी अपहरण गरी लिएर आएका छौं । सकुशल चाहिने भए १५ लाख छिटो बुझाऊ, नत्र तिम्रो छोरीलाई मारेर फाल्दिन्छौं ।’
उनीहरूले मोबाइल नम्बर परिवर्तन गर्दै पटकपटक बालिाकका परिवारजनलाई धम्की दिएको पाइएको डीएसपी बस्नेतले बताए ।
प्रहरीका अनुसार प्राविधिक विश्लेषणका आधारमा शंका लागी अभिषेकचन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा वास्तविकता पत्ता लागेको हो ।
जिल्ला प्रहरी कार्यालय (धनुषा), प्रदेश प्रहरी कार्यालय (जनकपुर), संघीय प्रहरी एकाइ कार्यालय (जनकपुर) समेतको सहकार्यमा अपहणकारी पक्रन सफल भएको जनाएको छ ।
प्रहरीले पक्रिन खोज्दा उनीहरू खेततर्फ दौडिएका थिए । लखेट्दै लखेट्दै पाँच राउन्ड हवाई फायर गरेपछि प्रहरी उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
त्यसपछि उनीहरूका बयानका आधार अपहरित बालिकालाई धनुषाको विदेह नगरपालिका ८ स्थित बफैबाट शुक्रबार साँझ ६ बजे सकुशल उद्धार गरिएको थियो ।
योजनाअनुसारै उनीहरूले बालिकाको अपहरण गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।