बद्री नारायण यादव

सिरहा,९ चैत्र । गाउँलाई शैक्षिक, राजनीतिक, संस्कारिक र आर्थिक रुपले सवल नबनाएसम्म देशमा समृद्धि नआउने नेपाली काँग्रेसकी केन्द्रिय सदस्य चित्रलेखा यादवले बताइन् । सिरहाको बरियारपट्टीस्थित वित्तिय जागरण राष्ट्रिय अभियान समारोहमा त्यस्तो कुरा बताएकी हुन् ।
१५ वर्षको युद्ध अवधिमा ग्रामिण भेगका महत्वपूर्ण संरचनाहरु ध्वस्त भएको चर्चा गर्दै त्यस्ता संरचनाहरु निर्माण गर्न अतिआवश्क रहेको उनले बताइन् । विकास र समृद्धिका लागि शान्ति चाहिन्छ तर युद्ध अवधिको असर समाजमा अहिले पनि पर्दै छन् त्यस्ता असरलाई रोक्ने गरी क्रियाकलाप हुनु जरुरी रहेको उनले औंल्याइन् ।IMG_20220322_161615
‘चुनावको समयमा भोटको राजनीतिक हुन्छ । सबै पार्टीले गर्छ । हामी पनि गछौं,’उनले भनिन्,‘तर चुनाव पछि विकासको राजनीतिक गर्नुपर्ने हुन्छ । जितेकाहरु सबैको साझा बन्ने प्रयास गर्नुपर्छ ।’ उनका अनुसार शिक्षित व्यक्तिले एउटा मोवाईलको माध्यमबाट ‘हत्तकेला’ मा संसार राखेको छ घर बसेर रचनात्मक र आर्थिक उन्नतिका क्रियाकलाप गर्छन् तर ग्रामिण बासिन्दामा त्यही मोवाईल हुँदा पनि खासै काम योग्य क्रियाकलाप गर्न पाइराखेको छैन् ।
सफ्टवेयर र मोवाईलको माध्यमले सीप हुनेहरु सहज रुपमा आर्थिक कारोवार गरेर मनचाहे आम्दानी गर्न सफल भइरहेको अवस्थामा ग्रामिण बासिन्दाहरुमा त्यस्ता सीप नभएर टिकटक, गीत, गेम र अन्य फजुलका क्रियाकलाप गर्ने वाहेक शैक्षिक सुधार तथा समृद्धि ल्याउने खालका काम नगरिरहेको उनले थपिन् ।
संघीयताको माध्यमले गाउँ–गाउँमा रहेको स्थानीय सरकारले ग्रामिण बासिन्दाको आवश्यकता र देखा परेका समस्याहरुलाई सामाधान हुने गरी योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनले औंल्याइन् । ‘नामको मात्र सरकार बनेर र भनेर हुँदैन् । जिम्मेवारीबाट पछि हटेर हुँदैन् । समस्यासँग डटेर स्थानीय सरकारले काम गर्नुपर्छ,’उनले थपिन्,‘चुनावको समय सकेपछि सबैले विकास र आर्थिक समृद्धिको राजनीतिक गर्नुपर्ने हुन्छ त्यो नै समय र जनताको चाहना पनि हुन जान्छ ।’
‘विकासको मूल जर शिक्षा छ । शिक्षा आर्जन गर्नबाट कसैले कसैलाई बञ्चित गर्नु हुँदैन्,’उनले भनिन्,‘सरकारी विद्यालयहरुको पठन पाठनमा सुधार नआएसम्म ग्रामिण भेगको विकास हुन सक्दैन् ।’ बिना बिभेद् सबैलाई शिक्षा आर्जन गर्ने वातावरण निर्माण गरेर ग्रामिण भेगका सबैलाई शिक्षित बनाउने गरी कार्ययोजनाका साथ अगाडि बढ्न स्थानीय सरकारसँग उनले आग्रह गरिन् ।
‘८ कक्षा पढ्दा मेरो विवाह भएको थियो । १० पढ्दा मैले बच्चा पाए । दुई वर्षको बच्चालाई घरमा छोडेर अध्ययनका लागि काठमाण्डौं गएको थिए त्यहाँ अरुको बच्चा रोएको सुन्दा आफ्नो बच्चको यादमा लुकेर रुन्थे । अहिले जस्तो संचारमाध्यमको विकास भएको थिएन्,’उनले थपिन्,‘पढाईका लागि बुवाको साथ थियो । अरुले रोक्दा रोक्दै पढाईका लागि बुवाले साथ दिइरह्यो मैले दृढताका साथ पढिरहे । तपाईहरु पनि दृढताका कुनै काम गर्न प्रयास गर्नुभो भने अगाडि बढ्नबाट कसैले रोक्न सक्दैन्, त्यसको उदाहरण म छु । प्रयास र त्याग गरेरै म यो स्थानसम्म आएको छु ।’
‘राष्ट्र बैंकले सेवाग्राही माझ सिधै सेवा दिइरहेको छैन्,’ राष्ट्र बैंक मधेश प्रदेशकी निर्देशक मिराताल्छा मगरले भनिन्,‘राष्ट्र बैंकले वित्तिय सम्बन्धी नीति बनाएर वित्तिय कारोवार मात्र गर्दै आएको छ ।’ उनका अनुसार राष्ट्र बैंकले बनाएको नीतिमा काम नगर्नेलाई कारवाही र गर्नेलाई पुरस्कार वाहेक जनतासँग प्रत्यक्ष खासै काम गर्दैन् ।
‘पुजी नहुने बेरोजगार छन् । पुजी हुनेहरु अन्यौलमा छन् । काम गर्ने उद्योग खोल्ने वातावरण अझै बनिसकेको अवस्था छैन्,’जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोक लाल अमात्यले भने,‘व्यवसायी र सीपमुलक शिक्षाको अभाव छ । दक्ष जनशिक्ति पाउनै मुस्किल छन् । सुलभ ऋण पाइराखेकै छैन् । उद्योगी व्यापारीहरु मारमा छन् ।’
उनका अनुसार मालपोतमा जग्गा नामसारी गरेर ३६ प्रतिशत व्याज दर ऋण लिने चलन हटाउनका लागि व्याज घटाएर सुलभ रुपमा ऋण लिने वातावरण निर्माण र उद्योगी लक्षित ऋण प्रवाह नभएसम्म ग्रामिण भेग र देशमा समृद्धि आउन सकिदैन् ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको अध्यक्षतामा भएको वित्तिय जागरण राष्ट्रिय अभियान समारोहमा बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतो, प्रभु फोन पेयका कवीर महर्जन, जनता माध्यमिक (प्राविधिक)का प्राचार्य बीरवल यादव लगायतले अभियानको महत्व र सफलताबारे आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सहकार्य, नेपाल राष्ट्र बैंकको प्रबद्र्धन, बरियारपट्टी गाउँपालिकाको सहयोगमा मिडिया इन्टर नेशनलको आयोजनामा वित्तिय जागरण राष्ट्रिय अभियान संचालन हुँदै आएको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड सिरहाका शाखाका शाखा प्रबन्धक लोकेश कुमार यादवले बताए ।