काठमाडौं, ४ चैत ।  रामेछापमा घरभित्र पसेर ‘बिटुलो’ बनाएको आरोपमा १२ वर्षीया दलित बालिकालाई चरम यातना दिने दम्पतीलाई कानुनबमोजिम कारबाही गर्न सत्तारुढ नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन नेपाल दलित मुक्ति संगठनले राज्यसँग माग गरेको छ। 

संगठनका केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माले विज्ञप्ति जारी गरी जातीय विभेदका आधारमा दलित बालिकालाई कुटपिट गर्ने रामेछापको मन्थली नगरपालिका–६ निवासी शेरबहादुर श्रेष्ठ र उनकी श्रीमतीलाई समेत कसुरबमोजिम कारबाही गर्न माग गरेका हुन्। 

घटना विवरणअनुसार गत फागुन ३० गते स्थानीय १२ वर्षीया सरिता नेपालीलाई घरभित्र पसेर दही चोरेको आरोपमा श्रेष्ठ दम्पतीले घरको पिँढीको थाममा डोरीले बाँधी रातभर सिस्नोपानीले चुट्दै र लाठीले कुट्दै २१ घण्टासम्म यातना दिएका हुन्। 

दही चोरेको भन्दा पनि ‘अछूत’ भएर घरभित्र पसेको भन्ने रिसमा दलित बालिकालाई बन्धक बनाई कुटेको दाबी दलित मुक्ति संगठनले गरेको छ। 

दलित बालिकालाई त्यसरी यातना दिएको देखेपछि उनलाई पढाउने शिक्षकले त्यसो नगर्न अनुरोध गर्दा तथा पीडित बालिकाको परिवारले छोरीलाई छाडिदिन अनुनय विनय गर्दा पनि घरधनी श्रेष्ठले ‘तल्लो जाति’ घरभित्र पसेकाे हुँदा कुलदेउता रिसाउने भएकाले घरको जिम्मा लिनुपर्ने वा घर चाेख्याउन रुद्री पूजा गर्न आवश्यक खर्च जरिवाना तिर्नुपर्ने माग राखेको विज्ञप्तिमा उल्लेख छ। 

श्रेष्ठले बालिकालाई छाड्दै नछाडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। गत सोमबार दिउँसोदेखि नाम्लाले बाँधिएर यातना खेपिरहेकी ती दलित बालिकालाई भोलिपल्ट मंगलबार प्रहरी पुगेर उद्धार गरेको थियो। लगत्तै श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले बुधबार जिल्ला अदालत (रामेछाप) बाट शरीर बन्धक मुद्दामा ७ दिन म्याद थप गराई अनुसन्धान गरिरहेको छ। ​

तर उनकी श्रीमतलाई पनि पक्राउ गरी कारबाही गर्न संगठनले विज्ञिप्तिमार्फत माग गरेको हाे। 

‘सो अमानवीय गम्भीर मानव अधिकारको हननसँग सम्बन्धित घटनाप्रति घोर भर्त्सना गर्दै नेपालको संविधान तथा विद्यमान कानुनअनुसार न्यायका लागि जोडदार माग गर्द छौं’, विज्ञप्तिमा भनिएको छ। 

५८औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च) को पूर्वसन्ध्यामा भएको जातीय अत्याचारविरुद्ध आआफ्ना क्षेत्रबाट न्यायको आवाज उठाइदिन पनि संगठनले सबै सरोकारवालालाई आह्वान पनि गरेको छ।  नेपालखवरबाट ।