वीरगञ्ज, २३ फागुन । रक्सौल–वीरगञ्ज नाकालाई ह्यापी बोर्डरको रुपमा विकास गर्नुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले जोड दिएका छन् । ह्याप्पी बोर्डरको रुपमा विकास भए पर्यटक एवम् आवागमन गर्ने यात्रुहरुलाई सहज हुने अध्यक्ष डा. गुप्ताको विश्वास छ ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जले ‘भारत–नेपाल सीमा व्यापार’ सम्बन्धमा वीरगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष डा. गुप्ताले रक्सौलमा विगतदेखि बन्द अवस्थामा रहेको विमानस्थल पुनः सञ्चालन गर्नुपर्ने बताए । रक्सौल रेल्वे क्रसिङ््गका कारण सँधैभरी ढाट बन्द रहने र जामको समस्या भएकाले ओभर ब्रिज निर्माण गर्नुपर्ने आवश्यक्ता पनि उनले औँल्याए । रक्सौल रेल्वे साइडिङ्गका रोडहरुलाई समयसापेक्ष स्तरोन्नती गर्नुपर्ने, रकसौल–पिपराकोठी ६ लेन सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने, आईसिपी–लक्ष्मीपुर सडक खण्डमा निर्माणाधीन अवस्थामा रहेको फ्लाई ओभरको निर्माण कार्य सम्पन्न भएमा उद्योगी, व्यवसायीसँगै उपभोक्ताहरुलाई पनि सहज हुने नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका डा. गुप्ताको बुझाई छ ।
नेपाल चामल, दाल तथा तेल संघका केन्द्रिय अध्यक्षसमेत रहेका डा. गुप्ताले प्रस्तुत गरेको कार्यपत्रमा आयात निर्यात गर्दा कोलकताबाट परीक्षण गराउनुपर्ने बाध्यताको अन्त्य गरी आवश्यक प्रयोगशालाको स्थापना गर्नुपर्ने उल्लेख छ । ‘नेपाल भारत निर्यातमा भ्यालु एडिशनलाई घटाई १० प्रतिशत कायम गरिनुपर्ने, नेपालको आयातलाई थप सहज बनाउन मुम्बई, धमरा र केन्डला पोटलाई पनि नेपाल आयातको लागि प्रयोगमा ल्याउनुपर्ने, नेपाली सवारी साधनहरुलाई भारतीय भूमिमा आवागमनका लागि सहजता प्रदान गर्ने, कार्यपत्रमा उल्लेख छ ।
भारतीय तथा नेपाली नागरिकहरुका लागि सिमित भारतीय मुद्रा सहज उपलब्ध हुनुपर्ने, रक्सौलबाट भारतका मुख्य मुख्य शहरहरुलाई जोड्ने सुपरफास्ट ट्रेन सञ्चालन गर्नुपर्ने, आईसिपीमा पार्किङ्ग एरिया प्रयोग गर्ने सवारीसँग मात्र पार्किङ्ग शूल्क लिनुपर्ने, तौल परीक्षण गर्ने मेशिनको शूल्क, परीक्षण शूल्क र जिएसटी हटाउनुपर्ने, पर्यटन प्रवद्र्धनका लागि टुरिष्ट हेल्प डेस्क र व्यापारिक मतभेद निवारण डेस्कको स्थापना गर्नुपर्ने विषयमा पनि डा. गुप्ताले भारतीय महावाणिज्य दूत नितिश कुमारको ध्यानाकर्षण गराए ।
संघले दिएका सुझाव सकरात्मक रहेको भारतीय महावाणिज्य दुत नितिश कुुमारले बताए । सम्बन्धित निकायसम्म संघको कार्यपत्र लिएर जाने र मागहरुलाई सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष, उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष, आईसिपी भारततर्फका प्रमुख, भारतीय भन्सारका प्रमुख लगायतले संघका व्यावाहारिक एवम् नितीगत समस्याहरुमा गम्भिर रहेको प्रतिक्रिया दिएका थिए ।