सिरहा, २२ फागुन । आफ्नै प्रेमिकाको हत्या अभियोगमा सिरहा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । सिरहाको कर्जन्हा नपा ७ प्रेमनगरका २३ वर्षिय अमर राउतलाई आफ्नै प्रेमीका काठमाडौं नपा २० जैशिदेवल बस्ने २२ वर्षिय पूजा सिंह भन्ने पूजा कुमारी पोदारको हत्या अभियोगमा प्रक्राउ परेको हो ।
राउतले साथीहरुको सहयोगमा पूजालाई फागुन १६ गते कर्जन्हा ७ कै कमला नदीकिनारमा रहेको खर (काँस) घारीमा घाँटी थिचेर हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बैदेशिक रोजगारीमा कतारमा रहेकाबेला राउत पूजासँग समाजिक सञ्जाल फेसबुकको माध्यमबाट चिनजान हुँदै प्रेममा परेको बताइएको छ । माघ १० गते कतारबाट काठमाडौं झरेका राउत केहीदिन पूजासँगै बसेका थिए । राउत तत्काल घर प्रेमनगर आएर फर्केपछि उनीहरुले काठमाडौं भद्रकाली मन्दीरमा गत माघ २७ गते विवाह गरी बाफलमा छुट्टै डेरालिएर केहीदिन सँगै बसेको प्रहरी अनुसन्धानबाट खुलेको जनाए ।
केही दिन सँगै काठमाडौंमा बसेका राउत बुबा–आमासँग सल्लाह गरेर घरै लान्छु भनेर आएपनि नफर्केपछि पूजा फागुन १६ गते राउत खोज्दै सिरहा आएका थिए । सिरहाको बस्तीपुर आएर राउतलाई फोनगरी आफू बस्तिपुर आईसकेको र लिन आउ भनेपनि राउतले आफू बाहिर रहेकोले बेलुका लिन आउँछु त्यतै बस भनेपछि पूजा बस्तिपुरमै दिनभर बसेको प्रहरीको भनाई छ ।
बेलुका साथीहरुसँगै आएका राउतले पूजालाई कर्जन्हा नपा ७ कै कमला नदी किनारमा रहेको खर (कास) घारीमा घाटी थिचेर हत्या गरेको प्रहरीको भनाई छ । प्रहरीलेभने घटनाको दोस्रो दिन १७ फागुनमा मात्र थाहा पाएको बताएको छ ।
स्थानीयले घटनाबारे जानकारी दिएपछि प्रहरी तत्काल घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कायालय सिरहाका सूचना अधिकृत सुवास बुढाथोकीले जानकारी दिए ।
यसैविच घर परिवारले अमरको फागुन २७ गते अर्कै केटीसँग विवाह गर्ने निधो गरेका थिए । अमरले घरपरिवारको मञ्जुरी बेगर विवाह गरेको थाहापाएपछि विवाह भाडिने डरले १८ गतेलाई विवाह सारेको थियो । परिवारले गरिदिन लागेको विवाहमा बाधापुग्ने भएपछि घटना घटाएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रदेश प्रहरी कार्यालयाट ल्याएको तालिम प्राप्त कुकुर र घटनाभएकै वडामा २७ गतेलाई तोकेको विवाह सरेको घटनालाई आधार बनाएर अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ । घटनामा संलग्न अन्यको पनि खोजी भईरहेको छ । पक्राउ परेका राउतलाई आजै कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट ८ दिनमो म्याद थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।