वीरगञ्ज, २२ फागुन । वीरगञ्जको गर्मी, धुलो–धुवा, अस्तव्यस्त सडक, गाडीहरूको लर्को र मान्छेको भिडभाड । यी सबैबाट पन्छिएर केही बेर आनन्दसँग बसेर एक कप चिया पिउने इच्छा कसको हुँदैन र ? वीरगञ्ज त झन चियाका पारखीहरुको शहरका रुपमा परिचित छ ।
यद्यपी स्वच्छ र शान्त वातावरणमा चिया पिउने ठाउँको अभाव भने सँधै खट्किरह्यो । सडक छेउमा रहेका चिया पसलहरु सबै अव्यवस्थित, त्यसमा छेउबाट निरन्तर गुड्ने सवारी साधनहरुको हर्नको कर्कस आवाज, एक मिनट राम्ररी बसेर कुरा पनि गर्न निमिल्ने । शान्त र आरामदायी चिया पिउने ठाउँहरु भएपनि तिर्नै नसक्ने गरी महँगा छन् । एक कपको सय रुपैयाँ, त्योमाथि भ्याट र ट्याक्स ।
यही समस्यालाई समाधान गर्न तिन जना स्थानिय युवाले ‘वीरगञ्ज चिया घर’ सञ्चालनमा ल्याएका छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीए पढिरहेका आशुतोष पटेल, सचिन पटेल र भारतको देहेरादुनमा स्नातकोत्तर पढिरहेका सिद्धान्त तिवारीले वीरगञ्ज चिया घर सुरू गरेका हुन् । तिनैजना स्कुल पढ्दादेखिका साथी हुन् ।
वीरगञ्जको मूख्य सडकमा पर्ने माइस्थान चोकस्थित हुक्का हटको माथिल्लो तल्लमा युवाहरुले शुक्रबारदेखि पारम्परिक र आधुनिक अनुभूतिको मिश्रण आउने गरी चिया घर सञ्चालनमा ल्याएका हुन् । खुलेकै दिनदेखि यहाँ चिया पिउन आउनेहरुको लर्को छ ।
चिया घरमा दैनिक खाने मसाला चिया र कालो चियादेखि ग्रिन टी, सुगर फ्री टी, तन्दुरी टी जस्ता विभिन्न प्रकारका चिया उपलब्ध छन् । स्वास्थ्यलाई फाइदाजनक हुने नयाँ प्रकारका चिया छिट्टै पाइने सञ्चालक सिद्धान्त तिवारी बताउँछन् ।
दश लाख रुपैयाँको लगानीमा सुरु भएको चिया घरमा एकैपटक ५० जनाभन्दा पनि बढी अटाउने ठाउँ छ । दिउँसो घाम छेक्नका लागि फुसका टहरा आकारमा क्याबिन बनाइएको छ भने राती शितल हावाको आनन्द लिँदै चिया पिउन खुल्ला ठाउँ पनि प्रशस्तै छ । हाल चियामात्र पाइने भएपनि छिट्टै खाजा र नास्ता पनि उपलब्ध हुने आशुतोष पटेलले बताए ।
चिया घर खोल्ने आईडिया पनि आशुतोषकै हो । काम विशेषले काठमाडौँ पुगेको बेला उनले यस्ता चिया पसलहरु देखेका रहेछन् । त्यहाँ चिया पिउन आउने पनि बढी युवा । वीरगञ्जका युवाले चिया पिउन मन पराए पनि साथीसँग एक छिन गफिँदै चिया पिउने ठाउँको खाँचो उनले महसुस गर्दै आएका थिए ।
त्यहीँबाट उनलाई वीरगञ्जमा पनि यस्तै चिया पसल खोल्ने आइडिया फु¥यो । वीरगञ्ज फर्किए लगत्तै उनले स्कुले साथि सिद्धान्त र सचिनलाई चिया घर खोल्डे आईडिया सुनाए ।
सिद्धान्त र सचिनलाई आइडिया मन प¥यो र सुरु भयो चिया घर खोल्ने काम । आफैले जम्मा गरेर राखेको केही पैसा र परिवारको सहयोगले अहिले ‘वीरगञ्ज चिया घर’ सञ्चालनमा आएको छ ।
“पढाईसँगसँगै व्यवसाय पनि गर्नुपर्छ भन्ने सोच भएपनि के गर्ने भन्ने थाहा थिएन” आशुतोष सुनाउँछन्, “साथिहरुसँग सधै नयाँनयाँ बिजनेस आइडियाको बारेमा छलफल गरिन्थ्यो तर ठूलो लगानी लाग्ने भएकाले हामी रोकिन्थ्यौँ । काठमाण्डौमा चिया पसल देखेपछि यसमा खासै लगानी पनि नचाहिने र वीरगञ्जमा चिया बेच्न सहज हुने भएकोले हामीलाई आइडिया मन प¥यो र अगाडी बढ्यौँ ।”
लगानी भन्दा पनि आइडिया ठूलो हुने आशुतोष बताउँछन् । उनी थप्छन्, “व्यवसाय र उद्धम गर्न ठूलै लगानी चाहिन्छ भने सोच गलत हो, राम्रो आइडिया भए थोरै पैसामा पनि गज्जबको बिजनेस हुन्छ । आइडिया, समर्पण, प्रतिबद्धता र धैर्य हुनुप¥यो, बिजनेस चलिहाल्छ ।”
बेरोजगार भएर बरालिने र वैदेशिक रोजगारमा जाने युवाहरुको संख्या बढीरहेको अवस्थामा आफ्नै जन्मभूमिमा आफ्नै घरमा आमाले पकाएको खाना खाएर व्यवसाय गर्ने सोचले अन्य युवाहरु पनि प्रेरित छन् । एक्लै लगानी गर्न नसकेपनि ३ जना साथिको साथ पाउँदा उनीहरुको मेहनत र लगानी खेर नजाला भनेर विश्वास गर्न सकिन्छ ।