महोत्तरी, २७ पुस । माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।
नेपाली भूमिमा सडक बनाउने सम्बन्धमा भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्ति खेदजनक भएको भन्दै अविलम्ब दुवै देशका प्रधानमन्त्रीले वार्ताका माध्यमबाट समस्याको समाधान गर्नुपर्ने उनले बताए ।
नेता पोखरेलले सार्वभौमसत्ता माथि प्रहार हुने भारतीय क्रियाकलापले जनस्तरमा रहेको सम्बन्धलाई रोक्नेतर्फ सचेत गराएका छन् । उनले भनेका छन्, 'नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्तामाथी गम्भीर प्रहार हुने कृयाकलापले दुई देशको सम्बन्धलाई बलियो हुनबाट रोक्नेछ ।'
केहीदिन अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले नेपाली भू:भाग लिपुलेकमा भारतले सडक बिस्तार गरिरहेको बताएका थिए ।