माया आचार्य
नेपालमा महिला हिंसाका घटना न्यूनीकरण भएको छैन । किनकि समाजमा लैङ्गिक हिंसा, घरेलु हिंसा, जबरजस्ती करणी, बोक्सीको आरोप, चेली बेचबिखन, यौन हिंसा, तेजाब आक्रमण, छाउपडी, देउकी, झुमा राख्ने, बालविवाह, दाइजोको निहुँमा यातना दिने र हत्या गर्नेजस्ता क्रियाकलापले नेपाली महिला हिंसाको सिकार बन्न बाध्य छन् । देशमा जस्तोसुकै परिवर्तन भए पनि महिलालाई हेर्ने दृष्ट्रिकोणमा परिवर्तन हुन सकेको छैन । एक्काइसौँ शताब्दीमा समेत महिला अझै आत्मनिर्भर र सक्षम हुन नसक्नुका कारण हरेक खालको हिंसा सहन बाध्य छन् ।
महिलामाथि हुने लैङ्गिक हिंसा, शारीरिक, मानसिक र यौनजन्य हिंसा चरम उत्कर्षमा पुगेका छन् । महिला आफ्नै श्रीमान् तथा परिवारका सदस्यबाटै सुरक्षित छैनन् । निर्दोष महिला अनायासै आफ्नो ज्यान गुमाउन बाध्य छन् । २०७७ असार २ गते हेटौँडा घर भएकी सुस्मिता केसीलाई बिहे गरेको ६ महिनामै श्रीमान्को दुर्घटनामा परी मृत्यु भएपछि मानसिक तथा शारीरिक तनाव दिएर रहस्यमय ढङ्गले हत्या गरियो । उहाँको हत्यामा घर परिवारको संलग्नता भएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।
पछिल्लो समय तराईमा दाइजोको निहुँमा शृङ्खलाबद्ध रूपमा श्रीमान् तथा परिवारका सदस्य मिलेर हत्या गरेका घटना सार्वजनिक भएका छन् । २०७८ वैशाख ४ गते चितवनमा सविता भण्डारीको रहस्यमय ढङ्गले मृत्यु भयो, उहाँलाई श्रीमान् तथा परिवारका सदस्य मिलेर हत्या गरेको आरोप माइती पक्षको छ । उहाँलाई झुण्डिएर आत्महत्या गरेको भनी घरपरिवारका सदस्य पन्छिएका छन् । के कारणले यो घटना भयो भनी अनुसन्धानतिर लागेनन् । उहाँको न्यायका लागि माइती पक्ष, आफन्त तथा छिमेकीहरूले नारा जुलुस गरे तर सत्यतथ्य बाहिर आउन सकेन ।
त्यो घटना सेलाउन नपाउँदै बुटवलमा पोखरा माइती भएकी विष्णु बरालले बिहे गरेको २७ दिनमै ज्यान गुमाउनुभयो । उहाँ आफ्नै घरमा मृत फेला पर्नुभयो । माइती पक्षले श्रीमान् र परिवारका सदस्य मिलेर दाइजोका निहुँमा हत्या गरेको आरोप लगाएको छ तर घरपरिवार यो कुरा स्वीकार्न तयार छैनन् । उहाँको न्यायको खोजीमा माइती पक्ष भाँैतारिरहेका छन् । यस्ता घटनाको सत्यतथ्य बाहिर आएर पीडितले न्याय पाउनु जरुरी छ । त्यसको लगत्तै बुटवलमा नै भदौ १९ गते सीता भण्डारी मृत फेला पर्नुभयो । श्रीमान् तथा घरका सदस्य मिलेर हत्या गरेको माइती पक्षको भनाइ छ । उहाँको न्यायका लागि माइती पक्ष लागिपरेका छन् तर अझै उचित न्याय पाउन सकेका छैनन् ।
बुटवलमै असोज २० गते अमेरिकाको भिसा लागेकी अनिता रेग्मीलाई सासु र देवर मिलेर दाइजोकै कारण झुण्ड्याएर हत्या गरे । अनिताको न्यायका लागि माइती पक्ष र आफन्तले अनेक प्रयास गरे पनि न्याय पाउन सकेका छैनन् । निरीह भएर बस्नुको विकल्प भएन र महिला हिंसाविरुद्धको अभियान सञ्चालन हुँदै गर्दा अनिता रेग्मीको शव मङ्सिर २० गते मात्रै जलाइयो । उहाँको न्यायको खोजीमा माइती पक्ष भौँतारिरहेको छ तर कतैबाट न्यायको सुनुवाइ भएन । त्यस्तै रुपन्देहीमै सीता थारूको आफ्नै श्रीमान्ले दाइजोकै कारण आगो लगाएर हत्या गरेको समाचार सार्वजनिक भयो ।
यसैगरी, माइत गएकी दलमाया श्रेष्ठलाई श्रीमान्ले घरमा लिएर आउँदा बाटोमै हत्या गरियो । यी त सार्वजनिक भएका नेपाली समाजका प्रतिनिधि घटना मात्र हुन् । सार्वजनिक नभएका पाटा थुप्रै होलान् । कस्तो विडम्बना यो देशमा महिला, छोरी चेली, दिदीबहिनी कहिलेसम्म असुरक्षित हुने ? अझ घरभित्र अत्यधिक मात्रामा महिला हरेक खालका हिंसाबाट पीडित छन् । कोरोनापछि महिला हिंसाका घटना झनै बढेका छन् ।
एकातिर आफ्नो छोरी चेली गुमाउनुको पीडा छँदैछ अर्कोतिर न्यायको खोजीमा परिवारका सदस्य छटपटिनुपर्ने अवस्था छ । राज्यलाई यी र यस्ता घटना सामान्य लाग्न सक्ला र राज्यका लागि एकजना व्यक्ति होला तर उसको परिवारका लागि त सर्वस्व हो त्यसैले यस्ता घटनालाई सामान्य रूपमा लिनु हुँदैन । प्रत्येक घरमा यस्ता घटना हुन सक्छन् त्यसैले राज्य, सरोकारवाला व्यक्ति, महिला अधिकारकर्मी, सङ्घसंस्थाले आआफ्नो ठाउँबाट तदारुकता देखाउनु जरुरी छ ।
हरेक वर्ष महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरी भाषण गरेर मात्र यसको नियन्त्रण हुन सक्दैन । अन्यायमा परेकोलाई न्याय दिलाउनु समाजको दायित्व हो र खराबलाई खराब भन्न सक्नु एउटा असल नागरिकको कर्तव्य हो । यहाँ त पहुँचका भरमा खराब व्यक्तिलाई साथ दिँदा अपराधीको मनोबल बढेको छ । अपराधी जोसुकै होस् अपराधी नै हो । अपराधीले कुनै पनि हालतमा मुक्ति पाउन हुँदैन । यस्ता अपराधीलाई छोड्यो भने समाजमा अर्को अपराधको जन्म हुन्छ । हत्यारालाई कडा कारबाही हुन सके यस्ता घटना न्यूनीकरण हुन सक्थे । होइन भने यसले आगामी दिनमा विकराल रूप लिन सक्छ ।
देशमा तीन तहको सरकार छ तर महिला हिंसाका घटनामा कमी आउनुको साटो झनै बढिरहेको छ । यसमा स्थानीय प्रदेश र सङ्घीय सरकारका बीचमा समेत आवश्यक समन्वय हुन सकेको देखिँदैन । नेपालको संविधानमा महिला भएकै कारण कुनै पनि भेदभाव गरिने छैन भन्ने उल्लेख छ । प्रत्येक महिलालाई स्वाभिमानी भई, स्वतन्त्रपूर्वक बाच्न पाउने अधिकार छ तर त्यसको अनुभूति महिलाले गर्न पाएका छैनन् । अर्कोतिर, महिला हिंसा न्यूनीकरण गर्न सबैभन्दा पहिला हिंसापीडित महिला सचेत हुनु जरुरी छ ।
महिलालाई सक्षम र आत्मनिर्भर बनाउनु पनि उत्तिकै जरुरी छ । समाजले पनि अन्याय परेका महिलालाई सहयोग सहानुभूति र हौसला प्रदान गर्नुका साथै न्याय दिलाउन सक्नुपर्छ । हिंसा सहनुहुँदैन भन्ने चेतना महिलामा भयो भने केही हदसम्म समस्या समाधान हुनसक्छ । महिलाले आफू हिंसामा परेको कुरा आफ्नो नजिकको व्यक्ति वा साथीसँग निर्धक्क रूपमा राख्न सकेमा पनि केही हदसम्म हिंसा कम हुन सक्थ्यो ।