साङ्केतिक फोटो ।

सिरहा, १५ मंसिर । विद्युत् चुहावट नियन्त्रण गर्न गएका कर्मचारी स्थानीयले कुटिटगर्दा तीन जना घाइते भएका छन् । चुहावट नियन्त्रणगर्न सुरक्षाकर्मीसहित गएका विद्युत् कर्मचारीमाथी सखुवानन्कारकट्टी गापा ३ सरहञ्चिरयाका गाउँलेले कुटपिट गर्दा उनीहरु घाइते भएका हुन् ।
चुहावट नियन्त्रण गर्न खटिएका १४ जनामध्ये फिल्ड इन्चार्ज प्रकाशनारायण चौधरीसहित तीनजना घाइते भएको नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र यादवले जानकारी दिए । उनका अनुसार थप दुईजनालाई सामान्य चोटपटक लागेकाले लहानमा उपचार गरी घर पठाइएको, तर चौधरीको घाँटीमा गम्भीर चोट लागेकाले थप उपचारका लागि विराटनगर पठाइएको छ ।
गाउँलेले तीनजना नेपाल प्रहरी, सातजना सशस्त्र प्रहरी हुँदाहुँदै विद्युतका कर्मचारीलाई घेराबन्दी गरेर कुटपिट गर्दै पिकअप भ्यानको सिसासमेत तोडफोड गरेको जनाए । इन्जिनियर यादवले गाउँलेले फिल्ड खर्चका लागि चौधरीलाई दिइएको २० हजार रुपैयाँ पेस्की रकम, कर्मचारीले लगाएको सुनको सिक्रि समेत खोसेको आरोप लगाए ।
त्यसका साथै सखुवानन्कारकट्टीकै महदेवा र गढिया गाउँबाट विद्युत् चोरी गरी पानी तानिरहेको अवस्थामा नियन्त्रणमा लिइएको पाँचजना स्थानीय र पाँच थान मोटरसमेत खोसेर लगेको उनले बताए ।