सर्लाही, १३ मंसिर । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद भएपछि सर्लाहीमा सोमबार पनि गोली चलेको छ । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बलरा नगरपालिका ८ मा सोमबार पुनः गोली चलेको हो ।
वडा अधिवेशनका क्रममा झडप भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीड तितरबितर पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव बुढाथोकीले बताए । डीएसपी बुढाथोकीका अनुसार झडपमा एक जना मतदान अधिकृत र केही प्रहरी घाइते भएका छन् ।
सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता अमरेश कुमार सिंह र प्रदेश सांसद एवम् प्रदेश २ का महिला तथा बालबालिका मन्त्री वीरेन्द्र सिंहबीच विवाद छ ।
विवादकै कारण आइतबार पनि मन्त्री सिंहका अंगरक्षकले हवाई फायर गरेका थिए । आइतबार भएको झडपमा मन्त्री सिंहका अंगरक्षक प्रहरी हवल्दार रामचन्द्र खङ र सहयोगी रामचन्द्र महतो घाइते भएका थिए ।