फाईल फोटो ।
- सुधा देव
सप्तरी, ७ कात्तिक । सप्तरीको राजविराज नगरपालिका- १ चनौरा पडरिया की ४० वर्षीया कवितादेवी यादवले अर्काको १८ कठ्ठा खेतमा लगाएको धानबाली नष्ट भएको छ ।
बेमौसमी पानी परेर आएको बाढीले बाली नष्ट पारेपछि उनलाई अब के खाने भन्ने चिन्ताले सताइरहेको छ । त्योभन्दा ठूलो चिन्ता जग्गाधनीले कुत माग्यो भने के गर्ने भन्ने छ उनलाई ।
श्रीमान् भए पनि एकल महिला जस्तै जीवन बिताउन बाध्य छन् उनी । श्रीमान्ले अर्को विवाह गरेर गएको १० वर्षभन्दा बढी भयो । विवाह गरेको केही समयमै अर्को विवाह गरेर उनी अलगै बस्न थाले ।
त्यसपछि कविताको काँधमा एक्लै सासू-ससुरा र चार छोराछोरीको जिम्मेवारी आयो । सुरुमा त सासू-ससुराले पनि उनीहरूलाई सहयोग गरेका थिए । अहिले उनीहरू बूढाबूढी भएर राम्ररी हिँड्डुल गर्न पनि सक्दैनन् ।
सम्पत्तिको नाममा घडेरीबाहेक उनको केही छैन । सहयोग गर्ने पनि कोही छैन । अर्काको १८ कठ्ठा जग्गामा लगाएको भर थियो, त्यही पनि बाढीले सखाप पारिदियो ।
'लगाएको खेती बाढीले बगायो । अब परिवारै भोकभोकै मर्ने स्थिति आएको छ । अब कसरी बाच्ने होला ?', कविताले भनिन् । मजदुरी गरेर पनि सधैँ खाने अवस्था नभएको उनको दुखेसो छ ।
तीन छोराछोरी पढ्न विद्यालय जान्छन् । बिरामी सासू-ससुरा घरमै बस्छन् । उनको काँधमा ठूलो जिम्मेवारी छ । आर्थिक अभावका कारण जेठी छोरीको बालविवाह गरेर पठाएको उनले बताइन् ।
सोही ठाउँकी कंकडियादेवी नौनियाको पनि १० कठ्ठा जग्गाकै भर थियो । उनी वर्षभरि मौसमी तरकारी लगाएर बेचेर परिवारको पालन पोषण गर्दै आएकी थिइन् ।
बेमौसमी पानी परेर आएको बाढीले चौपट्टै पारेको कंकडियाको गुनासो छ । काउली, आलु, खुर्सानी, गोलभेडा, सागसहित फलाउनका लागि एक लाख रुपैयाा खर्च गरेको गरेको उनले बताइन् । श्रमसमेत पानीले बगाएपछि आठ जनाको परिवार बिचल्लीमा परेको कंकडियाको दुखेसो छ ।
'सरकारले अहिलेसम्म सप्तरीका किसानका लागि राहत दिने कुनै घोषणा गरेको छैन । विभिन्न ठाउँबाट पाएको आश्वासन पनि आश्वासनमा सीमित हुने गरेको छ', उनले भनिन् ।
सोही ठाउँका ५५ वर्षीय हरिहर चौधरीको पनि १० कठ्ठा काटेको धानबाली पानीले नष्ट गरेको छ । दुई कठ्ठामा गरिएको तरकारी खेतीमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ ।
'मेरो परिवार कृषिमा निर्भर छ । विकल्पमा आम्दानीको कुनै बाटो छैन । तरकारी बारीमा २० हजार खर्च र परिश्रम लागेको थियो', उनले भने, 'धानबालीमा त भनेर साध्य छैन । अब दुई छाक खानै नपाई मरिने डर भयो ।'
जिल्लाको दक्षिणी क्षेत्रका छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिकासहित पश्चिमी भेगका बलान विहुल, राजगढ गाउँपालिका, बोदेबरसाइन, डाक्नेश्वरी नगरपालिका र पूर्वी भेगका राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकालगायतका क्षेत्रमा धानबालीलाई पानीले बढी असर गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यस वर्ष जिल्लाको ६८ हजार हेक्टर जग्गामा धानबाली लगाइएको थियो । रोपाइँको बेला समयमै मनसुन भएकाले सत प्रतिशत रोपाइँ भएकाले जिल्लामा धान उत्पादन बढ्ने अनुमान केन्द्रको थियो ।
बाली बीमासम्बन्धी अवधारणा अहिलेसम्म नगरपालिकाभित्र आउन नसकेको स्थानीय किसानहरूको गुनासो छ । बाली बीमा गराउन नसक्दा सप्तरीबासी झन् पीडित भएको स्थानीयको भनाइ छ ।