गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २९ भदौ । भारतीय पर्यटकलाई लक्षित गरी सीमा क्षेत्रमा सञ्चालित होटल व्यवसाय नाममात्रैको निषेधाज्ञाका कारण धरासायी अवस्थामा पुगेका छन् । निशेषधाका कारण भारतिय सवारिसाधन नेपाल भित्रन नपाउँका सीमाना जोडिएको पर्सा जिल्लाको वीरगञ्जमा खोलिएका होटल व्यवसायीहरु थिलथिलो परेका हुन्् ।
भारतीय सीमानाबाट निर्बाध रुपमा मानिसको आवागमन भइरहेपनि सवारी साधनको आवागमनमा लगाइएको रोक नहटाउँदा होटल व्यवसायीहरु मारमा परेको व्यसायीहरु बताउँछन् ।
बजार, व्यवसाय, विद्यालय, होटल, रेस्टुरेन्टसँगै फिल्म हलहरुसमेत खुलीसकेको अवस्थामा नाकाबाट सवारी आवागमन हालसम्म पनि बन्द गर्नुको पछाडी सरकारको के स्वार्थ भन्ने प्रश्न व्यवसायीहरुले गर्न थालेका छन् ।
होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तका अनुसार यस्तै अवस्था रहिरहने हो भने धेरै व्यवसायीहरु कोरोना महामारीकै कारण पलायनहुने अवस्थामा छन् भने कतिपय व्यवसायी पलायन भइसकेका छन् ।
भारतीय निजी सवारीसाधनको आवागमन तत्काल नखोलेसम्म होटल व्यवसायले गती लिन नसक्ने अध्यक्ष पन्तको भनाई छ । पन्त थप्छन्, ‘सीमानामा सर्वसाधारणको पैदल आवागमन र अन्यगतिविधि सामान्य अवस्थामा फर्किइसकेको हुँदा गाडीमात्रै रोक्नुको कुनै तुक छैन ।’
व्यवसाय नचल्दा बैंकको ब्याज, होटेलको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युत लगायत नियमित खर्चको भार बढिरहेको पन्त बताउँछन् ।
अहिले सीमावर्ती क्षेत्रका नेपाल र भारत दुवैतर्फ संक्रमण नगण्य रहेको र अन्य दिनचर्या सामान्यजस्तै रहेकाले गाडीको आवागमन तत्काल खुलाउनुपर्ने व्यवसायीको माग छ । स्थानीय स्तरबाट माग सम्बोधन नभएको भन्दै व्यवसायीले प्रधानमन्त्रीलाई नै भेटेर आग्रह गर्ने योजना भएका छन् । व्यवसायीले यसबारेमा स्थानीय जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई पटक पटक आग्रह गरिसकेका छन् । केन्द्रको संयोजक रहेका प्रमुख जिल्ला अधिकारीले यो केन्द्रको निर्णय भएकाले आफूले केही गर्न नसक्ने बताउँदै आएका छन् ।