महोत्तरीको सम्सी गाउँपालिका-५ संग्रामपुर पोखरभिण्डाका नारायण मल्लिक (डाेम) सुकुम्बासी हुन्। तर, उनको आफ्नै झुपडी भने छ।

स्थानीय रामजानकी कुट्टीको जग्गामा खर, पराल, त्रिपाल लगाएर बनाएको झुपडीमा उनको परिवार जसोतसो बसिरहेको छ। तर वर्षको चार महिना भने उनलाई झुपडीमा गुजारा गर्न निकै सकस हुन्छ। 

वर्षा याममा झुपडी भेलमा डुब्छ। अनि उनीहरुको बास हुन्छ सडकमा। अहिले नारायणको परिवार सडकपेटीमा त्रिपाल टाँगेर गुजारा गरिरहेको छ।

यतिबेला घरको अगाडि सडकपेटीमा त्रिपाल र थाङ्नाथरा टाँगेर ओत लाग्ने दुईवटा टेन्टमा मल्लिक परिवार दुई साताको शिशुसहित बसिरहेका छन् । घर छाडेर सडकपेटीमा त्रिपाल झुण्ड्याएर वर्षको चार महिना काट्नु मल्लिक परिवारको रहर होइन, बाध्यता हो। यो हरेक वर्ष दोहोरिने नियति पनि हो।

नारायण मल्लिकको घर वर्षा याम सुरु भएसँगै डुबानमा पर्छ । वर्षाको पानीको निकास नहुँदा घरसहित दैलोसम्म दुईफिट पानी जम्छ। यो समस्या त्यो वस्तीमा नारायणको परिवारलाई मात्रै छ। गाउँमा अरु सबै उनीभन्दा कथित उच्च जातिका मानिस छन्। उनीहरुलाई घर डुबानमा पर्ने समस्या छैन।

नारायाणको परिवारमा श्रीमती जयादेवी, छोराहरु जेठो अशेश्वर, माहिलो सोनिल र कान्छो विकेस छन् । जेठो र माहिलाको बिहेबारी भइसकेको छ। जेठी बुहारी रञ्जु र माहिली विभा छन्। 

दुई हप्ता अघि नारायणकी जेठी बुहारीले त्रिपाल भित्रै छोरालाई जन्म दिइन्। वर्षाको बेला त्रिपालभित्र राम्ररी स्याहार नहुँदा शिशु बिरामी परेका छन्। वर्षाको मौसम भएकाले विषालु सर्पको डर उत्तिकै छ। 

राति खाना खाएर सुत्न नारायणका पतिपत्नी नजिकै रहेको रामजानकी मन्दिरको कुट्टीमा जान्छन्। कान्छो छोरा सोनिल घरभन्दा तीनसय मिटर पर काका पर्ने सम्भुको घर पुग्छन्। 

‘घर डुबानमा परेको छ। त्रिपाल दुईवटा मात्रै छ । दुबैमा जेठो र माहिलो छोराबुहारी बस्छन्,’ आमा जयाले भनिन्,  ‘सुत्ने ठाउँ नभएर हामी बुढाबुढी राति खाना खाएर कुट्टीमा रात बिताउँछौं।  कान्छो छोरो सुनिल दियाद पर्ने सम्भुको घरमा जान्छ।’    
 
म्रकृतिको विपतिमा परेका डाेम परिवार समाजमा जरा गाडेको छुवाछुत र चरम विपन्नताको मारमा छन्। यो विपतिमा पनि उनीहरु सफा पिउने पानीबाट समेत बञ्चित छन्। 

मल्लिक परिवारको आफ्नो चापा कल डुबानमा परेको छ । छरछिमेक सबैको घरमा कल छ। तर कथित उपल्ला जातका छरछिमेक डोमबाट छोइन्छ भनेर चापाकल छुन समेत दिँदैनन्। त्यसकारण डुबानै परेको चापाकलको फोहोर पानी खान बाध्य छन् मल्लिक परिवार।  

‘छोइन्छ भनेर हामीलाई गाउँका कसैले पानी भर्न दिँदैनन् । हाम्रो चापाकल डुबानमा छ । फोहोर पानी आउँछ। त्यसमाथि छेउमै छिमेकहरुको भैँसी गोठ छ।  पानीलाई अझ फाेहाेर बनाएको छ,’ जयाले पीडा सुनाइन्, ‘पानीमा गोबर गनाउँछ। तर त्यही पानी खाइरहेका छाैँ।’

 

 

गरिबीको चरम चपेटामा परेका सकुम्बासी मल्लिक परिवार समाजबाट अपहेलित र बहिस्कृत त छन् नै, तीनै तहका सरकारको दृष्टिमा समेत पर्न सकेका छैनन्।  

बाँसको सामग्री चंगेरा, बैना र टाट बुनेर साँझ बिहानको छाक टार्ने गरेको  जय बताउँछिन्। चरम विपन्नताको कारण माटोसमेत भर्न नसक्दा वर्षेनी घर डुबानमा पर्ने गरेको उनको गुनासो छ। तर उनीहरुको मतले चुनाव जित्ने संघ, प्रदेश र स्थानीय तहका कुनै पनि मन्त्री, सांसद, मेयर र वडाध्यक्षलाई उनीहरुको समस्याप्रति वास्ता छैन।  

‘विपन्नताले हामीलाई साँझ बिहान छाँक टार्नै मुस्किल छ। घर डुबानबाट बचाउन त्यात्रो माटो कसरी किनेर ल्याउनु,’ जया भन्छिन्,  ‘हामी जस्ता परिवारको लागि कुनै सरकार छैन। चुनावको बेला भोट माग्न आउँदा अनेक आश्वासन बाँड्छन्। जितेपछि विर्सिन्छन्। तिमीहरुको के समस्या छ भनेर कसैले एक शव्द पनि सोध्दैनन्।’ 

दुई साताअघि त्रिपालको टहरामा बुहारीले नाति जन्माउँदा निकै कष्ट भएको उनले सुनाइन्। ‘यो वर्खामा राम्ररी स्याहार गर्न नसक्दा नाती पनि बिरामी छ, उपचार गर्न लैजान पैसा छैन,’ उनले भनिन्।

हरेक वर्ष घर डुबान हुँदा मल्लिक परिवारले असहस्य पीडा खेप्नु परेको स्थानीय सितम देवी साहले बताइन्। उनीहरुको समस्याप्रति कुनै पनि सरकारी निकायले चासो नदेखाएको उनको भनाई छ। 

वडाध्यक्ष पनु राय यादव वर्षाको कारण माटो ल्याउन नसक्दा मल्लिक परिवारलाई डुबानबाट जोगाउन नसकिएको बताए।  ‘गत वर्ष हामीले मल्लिक परिवारलाई सहयोग गरेका थियौं । तर यस वर्ष वर्षाको समयमा माटो भेट्नै समस्या भएकाले खाडल पुर्न सकेनौँ,’ उनले भने, ‘मल्लिक परिवारको समस्याले हामी पनि चिन्तित छौं। कुनै समाधानको उपाय निकाल्छौं।’

                                                                                                                    नेपाल खवर ।