नेपालका भूतपूर्व विदेश एवं वित्तमन्त्री अनि प्रतिष्ठित कूटनीतिज्ञ भेषबहादुर थापा र म एउटै वाहनमा तीतामीठा कुराहरू बाँड्दै उत्तराखण्डका तत्कालीन मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतलाई भेट्न गएका थियौं । हृषीकेशबाट निस्कनासाथ अति सुरम्य दृश्यहरू हेर्दाहेर्दै राष्ट्र–राष्ट्रबीचको कूटनीतिमाथि गफ सुरु भयो ।
भारत–नेपाल प्रबुद्ध व्यक्तिहरूको समूह (इमिनेन्ट पर्सन्स ग्रुप) का अन्य सदस्यसँगै त्यहीँबाट टेहरी जलविद्युत् आयोजना जानपर्ने थियो । यात्रा दिनभरिकै थियो । पुराना कुराहरू निकाल्दै मैले पहाड–पर्वतमा विश्वको त्यति ज्ञान नभएको तर छरछिमेकहरूसँग कसरी कूटनीति गर्ने भन्ने विषयमा उदाहरण दिँदै सिक्किमका छिबु लामाको कुरा झिकें ।
गफैगफमा भेषबहादुर थापाले सन् १९६६ को आफ्नो मन छुने कुरा राखे । नेपालका प्रधानमन्त्री कीर्तिनिधि विष्टको नेतृत्वमा उनीहरू पहिलो पटक चीन भ्रमणमा गएका थिए । उनी र वाईके सिलवाललाई त्यहाँ प्रधानमन्त्री चाउ एनलाईले स्वागत गरे । अतिथिको सत्कार गर्दै चाउ एनलाईले हवाई अड्डामै नेपालका प्रतिनिधिमण्डलका हरेक सदस्यलाई सैनिक ढाँचाको मोटो–तातो ओभरकोट, त्यस्तै टोपी र हातका पन्जा टक्र्याए । नेपाली प्रतिनिधिहरूलाई पहिले त अनौठो लाग्यो तर हवाई अड्डाबाट निस्केर चीनमा बसुन्जेलको कठ्यांग्रिने चिसोले च्यापेपछि मात्रै थाहा भयो कि, काठमाडौंबाट लगाएर आएका लुगाफाटाले यस्तो भीषण ठन्डा किञ्चित् नढाक्ने रहेछन् । कूटनीतिमा यस्तो नरम र मन छुने साधनको प्रयोग थापाले पहिलो पटक देखेका थिए ।
कूटनीतिमा चलाइने प्रमुख साधनहरूका मुख्यतः दुई पक्ष हुन्छन् । एउटा, कडा शक्ति (हार्ड पावर) अनि अर्को, नरम शक्ति (सफ्ट पावर) । कडा शक्तिअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्धमा राष्ट्रहरूले एटम बम, हवाई–सैनिक हमला, शारीरिक हस्तक्षेप, दुस्मन राष्ट्रको सत्ताविरुद्ध द्वन्द्व र युद्ध, राष्ट्रभित्रै सन्दिग्ध रूपमा घुसेर उथलपुथल र अस्थिरता, आतंकवाद आदिको प्रयोग गर्दै आएका छन् । कडा शक्ति चलाउने आधुनिक राष्ट्रको नमुना अमेरिका हो । सोभियत संघ अहिलेको रुस, इराक, इरान र अन्य पश्चिमी राष्ट्रहरू पनि यसमा अग्रपंक्तिमा आउँछन् । अर्कापट्टि, अन्तर्राष्ट्रिय सम्बन्धमा नरम शक्तिलाई कूटनीतिको मूल आधार बनाई सफलता हासिल गर्ने राष्ट्रहरू पनि धेरै छन् । साहित्य, संगीत, संस्कृति, धर्म, खानपिन, भाषा, सिनेमा, खेल, खेलाडी आदिलाई नरम शक्तिका रूपमा चलाएरै कतिपय राष्ट्रले अन्तर्राष्ट्रिय सम्बन्धमा आफूलाई माथिल्लो दर्जामा राखेका छन् । ब्राजिलले फुटबल, चीनले चाइनिज फुड, दक्षिण कोरियाले संगीत र टेलिसिरियल, भारतले सिनेमा र धर्म–संस्कृति, नेपालले प्रकृति र जनमानस, भोटाङले खुसियाली (ग्रस नेसनल ह्याप्पिनेस) अनि जापानले मानवताजस्ता नरम शक्तिहरूको ढ्यांग्रो बजाएरै विश्वमा नाम कमाएका छन् । कडा शक्ति चलाउने वा नरम शक्ति प्रयोगमा ल्याउने भन्ने कुरो अनि निर्णय धेरै पक्षमा निर्भर रहे पनि सबैभन्दा प्रमुख तत्त्वहरू हुन्— राष्ट्रको इतिहास, राजनीतिक संस्कृति, प्रकृतिसँगको सम्बन्ध अनि नेतृत्व । एकापट्टि अमेरिकाका बुस, अर्कापट्टि इराकका सद्दाम हुसेन, उनीहरूका माझमा खाडीको तेलको भण्डार । सबै कडैकडा पक्षहरू, झगडैझगडा र युद्ध नै युद्ध । लेखिनसक्नु छ, कडा शक्तिको प्रयोगको इतिहास र प्रहार ।
बर्माकी नेत्री आङ सान सु चीले सन् २०१२ मा भारतमा जवाहरलाल नेहरू स्मृति सम्भाषणमा भनेकी थिइन्, ‘मेरा पिताजी जनरल आङ सान बर्माको स्वतन्त्रताबारे बातचित गर्न लन्डन जाँदा घरबाट पिपल्स भोलन्टियर अर्गनाइजेसनको एउटा पातलो युनिफर्म लगाएर दिल्ली प्रस्थान भए । दिल्लीमा पण्डित जवाहरलाल नेहरूसँग भेटघाटपछि, त्यहीँबाट लन्डन जाने भए । नेहरूले जनरल सानको पातलो कपासको पहिरन देखेपछि र लन्डनको प्रचण्ड चिसोको सम्झना गरेपछि आफ्नो कोठामा पसेर गम्म परेको न्यानो ओभरकोट ल्याएर दिए । मेरा पिताजीको आज सबैलाई मन पर्ने तस्बिर नै ब्रिटिस प्रधानमन्त्रीको निवासस्थान लन्डनको टेन डाउनिङ स्ट्रिटमा त्यही ओभरकोट लगाएर खिचेको नक्सा हो ।’ नेहरूले बर्माका जनरल आङ सान र उनकी सुपुत्री आङ सान सु चीसित यसरी मन छुने कूटनीति गरेर पारिवारिक एवं राष्ट्रगत मैत्रीभावको छाप बसाएका थिए ।
यस्ता घटनाहरू धेरै छन् । तेन्जिङ नोर्गे शेर्पा एडमन्ड हिलारीसँग सन् १९५३ मा प्रथम पटक सगरमाथाको चुचुरोमा पुगेपछि चारैतिर भव्य स्वागत गरियो । त्यसै बखत स्वागत र बधाईको कार्यक्रमअन्तर्गत, तेन्जिङले दिल्लीमा भारतका प्रधानमन्त्री पण्डित नेहरूसँग भेटघाट गरेपछि लन्डन जानुपर्ने थियो । तेन्जिङको आत्मकथा लेख्ने जुडी एवं टासी तेन्जिङले आफ्नो पुस्तकमा लेखेका छन्, ‘त्यस साँझ प्रधानमन्त्री नेहरूको निवासस्थानमा भव्य स्वागत कार्यक्रम आयोजना गरिएको थियो । तेन्जिङ त्यसबखत आफ्नै साधारण शेर्पा पहिरनमा थिए तर तातो लुगा पनि बोकेका थिएनन् । पण्डित नेहरूले तेन्जिङलाई अँगालो हालेर आफ्नो ड्रेसिङ रुममा लगे । लुगाफाटाको ठूलो अलमिराबाट तेन्जिङलाई न्याना नयाँ पहिरनहरू दिए, जसलाई लन्डनमा औपचारिक भेटघाटमा चलाउन सकिन्थ्यो । अनि तेन्जिङकी श्रीमती आङ ल्हामुलाई पानी ढाक्ने कोट र पाकेट नोटबुक पनि दिए ।’ फेरि, नेहरूको मन छुने मानवताले भरिएको यो कार्य । उनी कूटनीतिको कीरा नै थिए ।
यति मात्रै कहाँ हो र ! सिक्किम विश्वविद्यालयको कुलाधिपति (चान्सलर) को पदमा भारतका हरित क्रान्तिका पिता एमएस स्वामीनाथन र कुलपति (भाइस चान्सलर) को पदमा मलाई भारतका राष्ट्रपतिले नियुक्त गरेपछि हाम्रो प्रथम भेटघाटमै स्वामीनाथनले धेरै तीतामीठा अनुभवहरू मेरा अघि राखे । सिक्किमको चिसो मौसमका सन्दर्भमा फेरि अर्को मन छुने कूटनीतिको कथा भने । उनलाई एक दिन अचानक प्रधानमन्त्री नेहरूले निवासस्थानमा बोलाएछन् । स्वामीनाथन पुग्दा नेहरू उनैलाई पर्खिरहेका थिए । नेहरूले भने, ‘तिमी आज राति नै मस्को जानुपर्छ किनकि दुई दिनपश्चात् सोभियत संघका राष्ट्रपति निकिता ख्रुस्चेभले मनले खाएका राष्ट्रहरूका नामी वैज्ञानिकहरूको सभा राखेका छन् । भारतको प्रतिनिधित्व तिमीले गर्नपर्छ ।’ त्यति भनेर नेहरूले स्वामीनाथनको पहिरन नियाले । त्यसपछि भित्र गएर ओभरकोट, टोपी, स्वेटर, पन्जा एवं न्याना मोजासमेत ल्याएर स्वामीनाथनलाई ‘तिमीलाई मस्कोमा चाहिन्छ’ भन्दै दिए ।
कूटनीतिमा अनौपचारिकताको निकै गहकिलो महत्त्व हुन्छ । कसैले हात नमिलाएर एकअर्कालाई आलिंगन गर्छन्, कोही नेताहरूले एकअर्काले मन पर्ने खानेकुरा वा फलफूल पठाइदिन्छन् । पाकिस्तानका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई सर्गोधाको चौसा आँप पठाएजस्तै । गत वर्ष कोरोना महामारी कम्ती हुनासाथ भारतका विदेशसचिवले बर्माकी नेत्री आङ सान सु चीलाई भेट्दा दार्जिलिङको चियापत्ती प्रदान गरेपछि यस विषयमा मीठो आत्मीयता आदानप्रदान भएको कुरो हर्षबर्धन शृंगलाले वर्णन गरेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको वुहान र भारतको दक्षिणतिरको मामल्लापुरममा भएका अनौपचारिक भेटघाटमा दुई–तीनवटा कुरा उल्लेखनीय थिए । एउटा त प्रकृतिको नजिक, जस्तै— समुद्र तटमा, नरिवल पानी पिउँदै कुराकानी; अर्को, स्थानीय खानपिन र पहिरन पनि; र तेस्रो, एजेन्डाबिनाको मिटिङ । जसले जे विषय उठाए पनि भयो । छर्लङ्ग कुरा अघि बढोस् भनेर छेउछाउमा अरू कुनै अधिकारीलाई नराख्ने । कूटनीतिको एउटा नौलो पक्ष थियो यो ।
सन् १९९१ मा कोलम्बोमा भएको छैटौं सार्क शिखर सम्मेलनमा एउटा यस्तै चाखलाग्दो कुरा भयो । श्रीलंकाका प्रसिद्ध अर्थशास्त्री पोना विगनराजाले मलाई यो कुरो व्यक्तिगत रूपमा सुनाएका थिए । राष्ट्रपति रणसिंघे प्रेमदासासँग विगनराजाको घनिष्ठ सम्बन्ध भएकाले, शिखर सम्मेलनमा श्रीलंकाले के–कस्ता विशेष कुरा प्रस्ताव गर्न सक्छ भन्ने विषयमा छलफल हुँदा उनले प्रेमदासालाई सानो नोट बनाएर दिए । यसैअन्तर्गत त्यस सम्मेलनमा प्रेमदासाले दक्षिण एसियाको गरिबी आयोगको प्रस्ताव राखे र नेपालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई यसको अध्यक्ष पनि नियुक्त गरियो । यस आयोगले सन् १९९२ मा आफ्नो रिपोर्ट प्रस्तुत गर्यो । यो पनि पारम्परिक कूटनीतिक पद्धति एवं व्यवहारदेखि परतिरको कुरो हुन गयो ।
भारतका प्रधानमन्त्रीहरू अटलबिहारी वाजपेयी र इन्द्रकुमार गुजरालले पनि मन छुने कूटनीति गर्थे । सन् २००३ को वाजपेयीको चीन परिभ्रमणअघि हामीले उनलाई गान्तोकमा निम्त्यायौं । म त्यसताक सिक्किम सरकारको प्रमुख आर्थिक सल्लाहकार थिएँ । तिनताकका मुख्यमन्त्री र हामी सबैले अध्ययन गरेर र सुहाउँदिलो वातावरण देखेपछि, वाजपेयीलाई सिक्किमको नथुला भएर चीनको तिब्बतसँग गरिने व्यापारमार्ग फेरि खोल्नपर्छ भन्ने प्रस्ताव राख्यौं । व्यापक व्यापार–वाणिज्य हुने यो मार्ग जेलेपला मार्गसँगै, सन् १९६२ को भारत–चीन युद्ध हुँदा बन्द गरिएको थियो । उनले चीन भ्रमणमा यो विषय उठाउने आश्वासन दिए । हामी प्रफुल्लित भयौं । चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँगको भेटघाटमा यो मार्ग खोल्ने निर्णय लिइयो र ४४ वर्षपछि खोलियो पनि । सग्लो उपलब्धि थियो यो । वाजपेयीले पनि जन्मिँदै कूटनीतिको मुटु बोकेका थिए ।
प्रधानमन्त्री गुजरालको सन् १९९७ को नेपाल भ्रमणमा अनौपचारिक कूटनीतिको अर्को दृश्य अघि आयो । यस भ्रमणमा प्रधानमन्त्रीको भारतीय प्रतिनिधिमण्डलमा मलाई पनि सामेल गरिएको थियो । गुजराल अनौपचारिक सल्लाह मस्यौदा गर्नमा निपुण थिए । सानो–तीखो–घोच्ने कुराले उनलाई प्रभाव पार्थ्यो । यसैको एउटा परिणाम थियो— आजको नेपाल–बंगलादेशको फूलबारी कोरिडोर भएर जाने मार्ग । भारतले चार दशकसम्म हुँदैन भनेको कुरो गुजरालले एक–दुई घण्टाको भेटवार्तामै हुन्छ भनिदिए । उनको एकपक्षीय (युनिल्याटरल) कूटनीतिको मुटु नै यही थियो । सानो छिमेकी राष्ट्रलाई ठूलो राष्ट्रले मन खोलेर, ठूलो चित्त देखाएर दिनुपर्छ भन्ने सोच ।
‘दुस्मन’ राष्ट्रहरूबीचको सम्बन्धमा ससाना मन छुने कुराले ठूलो प्रभाव पार्दा रहेछन् । भारत र पाकिस्तानको युद्धपछि यस्तै भयो । बंगलादेशको स्वाधीनता संग्राममा भारत–पाकिस्तानबीच घमासान युद्ध भएपछि, पूर्वी पाकिस्तान (आजको बंगलादेश) लाई छुट्याएर एउटा नयाँ राष्ट्र बनाएपछि यी दुई राष्ट्रहरूबीच सन् १९७२ मा ऐतिहासिक सिमला सम्झौता भयो । यो सम्झौता गर्न भारतकी प्रधानमन्त्री दुई दिनअघि नै सिमला पुगिन् । त्यहाँ के भयो भन्ने कुरो आलेक्स भन तुन्जेलमानले सन् २००८ मा प्रकाशित आफ्नो पुस्तक ‘इन्डियन समर’ मा घतलाग्दो गरी वर्णन गरेका छन् ।
यसै कुरोलाई पाकिस्तानी अखबार ‘फ्राइडे टाइम्स’ मा मेहरू जाफरले पनि लेखेका छन् । उनीहरू भन्छन्— भारतीय प्रधानमंन्त्री इन्दिरा गान्धीले पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अली भुट्टो र उनकी छोरी बस्ने कोठाहरूको सजावट अनि विशेष सुविधाहरूबारे व्यक्तिगत रूपमा ध्यान दिइन् । छोरी बेनजिर बस्ने कोठालाई उनले मन पराउने रङ पोतेर अरू सामग्रीसाथ सजाइएको थियो । अर्कोपट्टि जुल्फिकर बस्ने कमरामा उनले अति नै रुचाउने चुरोट–सिगार राखिएको थियो । जुल्फिकर अली भुट्टोले इन्दिरा गान्धीलाई प्रथम पटक भेटेका थिए र अति प्रभावित भएका थिए, उनको आचरण एवं अतिथि सत्कारबाट । यसरी नै ऐतिहासिक सिमला सम्झौतामा प्रधानमन्त्रीद्वयले हस्ताक्षर गरे ।
आजका नेताहरूले अमेरिकाका ट्रम्पले झैं भताभुंग पार्ने, चारैतिर सर्वनाशको बिगुल फुक्ने कूटनीतिभन्दा नेहरू–चाउ एनलाई–इन्दिरा गान्धी–वाजपेयी–गुजराल–प्रेमदासाले जस्तो मन छुने, मनै हर्ने, मनै जित्ने कूटनीति गर्नुपर्छ । अनि मात्रै क्षेत्रीय शान्ति, वैश्विक स्थिरता र मानवीय जीवन पद्धति अघि बढ्नेछ । कान्तिपुर अनलाइनबाट ।