गमक पोष्ट समाचारदाता / वीरगञ्ज, १९ असार । वर्षाले भर्खरै रोपेको धान डुवानमा परेपछि पर्साको बिन्दवासीनी गाउँपालिका ४ अमरपट्टी निवासी चौरसिया चिन्तित छन् । भर्खर रोकेर सकेको १० कट्ठा खेतमा धान डुवानमा परेर गल्ने भएपछि चौरसीया चिन्तित भएका हुन् ।
विगत ३ दिनदेखिको लगातार वर्षाका कारण डुबान हुँदा चौरसियाको १० कट्ठा खेतको धानमा क्षति पुगेको छ । चौरसिया मात्रै होइन सोही ठाउँका पुरुषोत्तम चौरसिया लगायतका सयौँ जनाको डेढसय भन्दा बढी विगाहा खेतमा लगाइएको धान क्षति भएको छ । यो यस वर्षको मात्रै समस्या हैन । अमरपट्टी, मधुवल, गर्दाैल लगायतका स्थानमा बसोबास गर्ने बासिन्दाहरुको बर्षेनी लाखौँ मूल्य बराबरको धान नोक्सानी हुने गरेको छ ।

bidwasini
वर्षायामको समयमा छिमेकी राष्ट्र भारतको शिशवा भन्ने गाउँका स्थानीयले पानीको निकास थुन्दा डुबान हुने गरेको स्थानीय बताउँछन् । शिशवा गाउँका बासिन्दाहरुको खेत जोगाउन उनीहरुले पानीको निकास हुन नदिँदा नेपालतर्फको खेतमा डुबान हुने गरेको अमरपट्टीका स्थानीय रञ्जीत चौरसियाको भनाई छ ।
शशीभुषण चौरसियाको ३ बिगाहा, रञ्जित चौरसियाको १० कट्ठा, पुरुषोत्तम चौरसियाको ७ कट्ठा लगायतका सयौँको डेढ सय विगाहाभन्दा धेरै खेत डुबानमा परेको छ । वडा नम्बर ४ का वडाअध्यक्ष अनोज चौरसियाले भने डुबान वर्षेनी समस्या भएको बताउँदै घाम लागेपछि पानी आफै सुकेर जाने जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिए ।
भारततर्फका स्थानीयले पानी निकास हुने स्थानमा माटो पुरेर र नेपालतर्फको निजि जमिनमा घरहरु बन्दा पानीले आफ्नो दिशाअनुसार बग्न नपाएको हुँदा डुबान हुने गरेको वडाअध्यक्ष चौरसियाको भनाई छ ।
गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले पनि वडा अध्यक्ष अनुज चौरसियाकै भनाईमा सहमती जनाउँदै उक्त समस्याबारे हरेक वर्ष जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको प्रतिक्रिया दिए ।
निरन्तरको वर्षाका कारण हरेक क्षेत्र डुबानमा परेको हुँदा अमरपट्टी, मधवल, गर्दाैल लगायतका क्षेत्र अछुत हुन नसक्ने बताउँदै गाउँपालिका अध्यक्ष कानुले गाउँपालिकाको स्रोत साधनले भ्याएसम्मका कामहरु गरेको बताए ।
तर स्थानीय पुरुषोत्तम चौरसियाका अनुसार जनप्रतिनीधीहरु आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्दैछन् । जनप्रतिनीधिहरुले समस्याको समाधानतर्फ कुनै पहल नगरेको चौरसियाको आरोप छ ।
त्यसैगरी स्थानीय नेता मधुसुदन चौरसियाले जनता डुबानको चपेटामा पर्दा र लाखौँ मूल्य बराबरको नोक्सानी बेहोर्दा पनि गाउँपालिकाले सामान्य तरिकाले लिएकोमा आपत्ति जनाएका छन् ।
विन्दवासीनी गाउँपालिकामा मात्रै हैन । यो समस्या पर्सा जिल्लाका १४ वटै स्थानीय तहहरुमा यस्तै समस्या छ । हरेक स्थानीय तहका जनप्रतिनीधिहरु यस विषयमा गम्भिर भएर सोच्नुपर्ने आवश्यक देखिन्छ ।