गमक पोष्ट समाचारदाता / रौतहट, २ असार । बोक्सी आरोपमा रौतहटका एक वृद्धामाथि मरणासन्न हुनेगरी कुटपिट भएको छ । आफ्नै छिमेकी सन्दिप महरासहितको समूहले बोक्सी आरोपमा माधवनारायण नगरपालिका–५, मिठुहवाका ६५ वर्षीय श्रीपती देवीलाई मरणसन्न हुनेगरी कुपीट गरेका हुन् ।
गत शनिबार आफ्नो घरबाट शिवनगरस्थित महादेव मन्दिर जानेक्रममा बाटोमा सन्दिप र उनीसँगै रहेका अन्य व्यक्तिले घरेलु बाँसको लाठि र हतियिारले आक्रमण गरेको पीडित परीवारले जनाएको छ ।
कुटपिटबाट श्रीपतीको टाउको, हात, कान लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
प्रहरीले घटनास्थलबाट उनलाई आक्रमण गर्न प्रयोग भएको भाटाको बन्डल बरामद गरेको छ ।
श्रीपती देवीलाई सोही बाटो हुँदै खेतमा गइरहेका स्थानीयवासीले देखेर उद्धार गरी चन्द्रपुर–४ स्थित सिभिल अस्पताल पुर्याएका थिए । अहिले उनको त्यही अस्पतालमो उपचार भइरहेको छ ।
उपचारको क्रममा उनको टाउको लगायत शरीरका १० ठाउँमा ३ सय बढी टाँका लगाइएको चिकित्सकले बताएका छन् ।
श्रीपती देवीलाई यस अघिपनि उनीहरुले बोक्सिको आरोपमा मानसिक यातना दिंदै आएको बताइएको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी भरत श्रेष्ठको कमाण्डमा गएको टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।