अमृता अनमोल
अहिले बालबालिका घरमै छन् र केही बेर अनलाइन कक्षा लिएपछि उनीहरूसँग खाली समय प्रशस्तै हुन्छ । यो समयमा के गराउने भन्ने चिन्ता धेरै अभिभावकलाई लाग्न थालेको छ । कोरोना महामारीले विद्यालय बन्द भए पनि बालबालिकाको सिक्ने र ज्ञान आर्जन गर्ने अवसर खोसिनु हुन्न ।
बालबालिका जहिल्यै नयाँ कुरा सिक्न खोज्छन्, त्यसमा अभिभावकले सहयोग गर्नुपर्छ । ‘जहाँ समस्या, त्यहाँ उपाय’ भनेझैं बालबालिकालाई खाली समयमा घरायासी काम लगाउँदा व्यस्त हुन्छन्, जीवनोपयोगी ज्ञान पनि पाउँछन् । घर बालबालिकाको पहिलो पाठशाला हो, आमाबुबा प्रथम शिक्षक । ज्ञान आर्जन किताब वा विद्यालयबाट मात्र हुँदैन घरबाटै बालबालिकाको प्रतिभा निखार्न सकिन्छ । उनीहरूको मानसिक, शारीरिक, बौद्धिक, सामाजिक र भाषिक विकासका लागि घर–परिवारको निकै सहयोग हुन्छ ।
हाम्रो समाजमा धेरै पुरुष भान्साको काम गर्दैनन्, यो महिलाको मात्र जिम्मा हो भन्ने ठानिन्छ । यस्तो परम्परा तोड्न पनि बालबालिकालाई भान्साको काम सिकाउनुपर्छ । उनीहरूका लागि भान्सा ज्ञानको भण्डार हो । अनाज, फलफूल, तरकारीमा हुने पोषण तत्त्वको जानकारी यहीँबाट लिन सक्छन् । खाना पकाउन पनि सिक्छन् । बालबालिकाले भान्सामा काम गरे पढाइमा ध्यान दिँदैनन् वा भ्याउँदैनन् र फोहोर बनाउँछन् भन्ने चिन्ता मान्नु हुन्न । तरकारी केलाउने, धुने, सलाद बनाउने आदि ससाना काम गर्न, खाना पस्कन वा पकाउनै पनि प्रोत्साहन गर्न सकिन्छ । यसबाट उनीहरूले काम गर्ने तरिका र शैली सिक्नेछन् अनि कामप्रतिको लगाव पनि बढ्नेछ । पकाउनेबाहेक घर बढार्न वा पुच्न, लुगा धुनजस्ता काम उनीहरूलाई सिकाउन सकिन्छ । यसले उनीहरूलाई स्वावलम्बी बनाउँछ । अनि बिस्तारै आफ्नो काम आफैं गर्न सक्ने हुन्छन् । जिम्मेवारी लिने र पूरा गर्ने बानी पनि पर्छ । अन्ततः भान्सा र घर हेर्ने महिला मात्रैको जिम्मेवारी बाँडिन्छ ।
बालबालिकालाई तरकारी लगाउने, टिप्ने, गोडमेल गर्नेजस्ता करेसाबारीका काम लगाउनुपर्छ । बगैंचामै पनि फूल रोप्ने, पानी हाल्ने गर्न सक्छन् । यसले उनीहरूलाई फूल वा तरकारीको बोटबारे प्रत्यक्ष ज्ञान दिन्छ । खेती गर्ने तरिका पनि सिक्छन् । किताबमा पढेको भन्दा आफैंले देखेर, छोएर वा गरेर पाएको ज्ञान दिगो र प्रभावकारी हुन्छ ।
बालबालिकालाई खेल्न प्रेरित गर्नुपर्छ । त्यसका लागि खुला ठाउँ नै चाहिन्छ भन्ने छैन घरभित्रै पनि खेल्नका साथै व्यायाम गर्ने वातावरण मिलाउन सकिन्छ । उनीहरूको खेलमा अभिभावकले पनि साथ दिनुपर्छ । खेलले शारीरिक तथा मानसिक फाइदा गर्छ, अनुशासन सिकाउँछ । टिम वर्कका बारेमा बुझाउँछ । संघर्ष गर्न पनि प्रेरित गर्छ । साथै उनीहरूलाई मोबाइल चलाउन र टीभी हेर्न बन्देज गर्नु हुन्न । यसले बालबालिका बिगार्दैन बरु कति समय चलाउने वा हेर्ने भन्ने नियम लगाउनु जरुरी छ । यसबाट पनि कुनै न कुनै खालका ज्ञान पाइरहेकै हुन्छन् । अभिभावकले स्वतन्त्रतापूर्वक ज्ञान आर्जन गर्ने परिस्थिति बनाइदिनुपर्छ ।
बालबालिकाले आमा, बुबा, हजुरबुबा तथा हजुरआमाको बोली, आनीबानी नक्कल गर्छन् । त्यसैले फुर्सदका बालबालिकालाई जीवनका मूल्य, मान्यता तथा अन्य विविध ज्ञान र सीप सिकाउनुपर्छ । उनीहरूको पूर्ण विकासका लागि घरपरिवारमा शान्त वातावरण बनाउनुपर्छ । घरभित्रको कलह, वादविवाद, ईर्ष्या, हेयभाव, विभेदजस्ता क्रियाकलापले बालमस्तिष्कमा नराम्रो असर पार्छ । उनीहरूको सिर्जनशीलतामा पनि कमी आउँछ । नकारात्मक मूल्य, मान्यता अपनाउन सक्छन् । परिवारका सदस्यबीच आपसी मेलमिलाप, सहकार्य, माया, आदरभाव, करुणा र विनम्रतापूर्ण व्यवहार भयो भने बालबालिकाले तिनै व्यवहारहरू अनुकरण गर्छन् । पछि जुनसुकै पेसामा लागे पनि उनीहरूले बाल्यकालमा पाएका मूल्यमान्यता बिर्संदैनन् । त्यसैले बालबालिका हुर्कंदै गर्दा घरको वातावरण शान्त बनाउन अभिभावकले ध्यान दिनुपर्छ ।
बालबालिकालाई केही कुरामा अलमल भए वा केही थाहा पाउनुपरे प्रश्न गर्छन्, गरिरहन्छन् । उनीहरूको स्वभावै जिज्ञासु हुन्छ । आफ्नै बुबाआमा वा दाइ–दिदीले गलत काम गरे पनि प्रश्न गर्न हिच्किचाउँदैनन् । तर, हामी उनीहरूको बोलीमा लगाम लगाउन खोज्छौं । प्रश्न सोध्न बन्देज लगाउँछौं । घरपरिवार, समाज, विद्यालय जुनसुकै ठाउँमा पनि बालबालिकाका प्रश्न र जिज्ञासाको जवाफ दिनुभन्दा उनीहरूलाई चुप लगाइन्छ । अहिले फुर्सदिलो भएर घर बसेका बालबालिकालाई अभिभावकले बोल्न रोक्नु हुन्न । घरपरिवारको कुरा सोधुन् वा समाजको वा राजनीतिको जे सोधे पनि हामीले नझर्की उनीहरूका प्रश्न र जिज्ञासा मेटाइदिनुपर्छ । उमेरअनुसार हुने शारीरिक परिवर्तन तथा यौन र प्रजननका कुरा पनि सिकाउनुपर्छ । यसले उनीहरूको अव्यक्त कौतूहल मेट्छ र असल, खराब छुट्याउन पनि मद्दत गर्छ ।
बालबालिका झुटो बोल्दैनन्, आफ्ना कुरा खुलस्त राख्छन् । सानो सानो कुरामा पनि रमाउँछन् । छिनमै हाँस्छन्, छिनमै रुन्छन् । इच्छा लागेको काम गर्छन् । बेफिक्री हुन्छन् । हामी भने बालबालिकाको स्वभाव बुझेर उनीहरूको इच्छाका बारे सोध्न प्रयास प्रायः गर्दैनौं । सोधिहाले पनि उनीहरूलाई इच्छाअनुसारको काम गर्न रोक्छौं । बरु आफूले पूरा गर्न नसकेका इच्छा र सपनाजति उनीहरूमाथि थोपर्छौं । यसले सानै उमेरमा भविष्यप्रति उदासीन बनाउँछ र व्यक्तित्व विकासमा पनि नकारात्मक असर पार्छ । त्यसैले फुर्सदका बालबालिकालाई उनीहरूका इच्छा र चाहनाका बारे सोध्नुपर्छ । धेरै बालबालिका असल मान्छे बन्ने, समाज सेवा गर्ने, आत्मनिर्भर हुने अनि देशको विकास गर्ने चाहना राख्छन् । अभिभावकले त्यस्ता काम कसरी गर्न सकिन्छ, बताउनुपर्छ । ताकि उमेर बढ्दै जाँदा उनीहरूका यस्ता चाहना नमरून् । लहैलहैमा खराब काम नगरून् ।
फुर्सदका बालबालिकालाई व्यावहारिक ज्ञान सिकाउनुपर्छ । उनीहरूले देखेरै धेरै सिक्ने हुनाले आफ्नो परिवारलाई शान्त र सभ्य राख्नुपर्छ । बालबालिकालाई जीवनोपयोगी सीप सरल तरिकाले सिकाउनुपर्छ । यसले उनीहरूको सिकाइमा निपुणता ल्याउने मात्र होइन, भविष्यमा असल व्यक्ति बन्न पनि सघाउँछ । कान्तिपुर अनलाईनबाट