मधु राई
गत वर्षको जस्तै यसपालि पनि कोरोना–कहरबीच धेरैको बिहे भयो, गरियो । घरआँगनमा पाल टाँगेर वा पार्टी प्यालेसमा तामझामका साथ बिहेभोज पनि खुवाए । कतिपय जोडी भने कहिले निषेधाज्ञा खुकुलो होला र बिहे गरौंला भनेर कुरिरहेका छन् ।
विराटनगर महानगरपालिकाले वैशाख १८ देखि सात दिनका लागि निषेधाज्ञा जारी ग¥यो । उक्त आज्ञा विराटनगरवासीले दिउँसो मात्र पालना गरे, बेलुकी भने कतिपय वडामा बिहेको बाजा बजिरहे । गत वर्ष ‘कोरोनाका कारण बिहेमा उपस्थिति जनाउन सकिएन’ भन्दा आफन्तहरू रिसाए । यसपालि पनि छिमेकी र आफन्तले बिहेको निमन्त्रणापत्र थमाइरहेका छन् । तीमध्ये केहीलाई ‘परिस्थिति अनुकूल भए मात्र आउँछु, नरिसाउनुहोला’ भनेर मैले टार्दै आएकी छु ।
‘यस्तो बेला किन बिहे गरिदिनुभएको छोराछोरीको ?’ भन्दा छिमेकीहरूको उत्तर हुने गर्छ– ‘लगन यति बेलै छ त के गर्नु ?’ स्वास्थ्यभन्दा लगनलाई महत्त्वपूर्ण ठान्ने उनीहरूको यस्तो जवाफ सुन्दा म किंकर्तव्यविमूढ हुन्छु । उनीहरूलाई धार्मिक आस्था र पुरेतहरूको सल्लाह÷सुझावले विषम परिस्थितिमा पनि छोराछोरीको बिहे गराइदिन प्रोत्साहन मिलिरहेको छ । सरसर्ती हेर्दा, पुरेतहरूले पनि स्वास्थ्यभन्दा कर्मकाण्डलाई बढी महत्त्व दिएको पाइन्छ । पोहोरको तुलनामा द्रुत गतिमा फैलिरहेको कोरोनाको दोस्रो लहरले त्रस्त बनाइरहेको छ । तैपनि कतिपय व्यक्ति पोहोरको जस्तै स्वास्थ्यको ख्यालै नगरी भन्दै छन्, ‘आ, यो कोरोनासोरोना यस्तै हो; आउँछ, जान्छ !’
यस्तो संकटको बेला पनि कतिपय अभिभावक छोराछोरीको बिहे गरिदिन हतारिएको देख्दा म छक्क पर्छु । निमन्त्रणा पाएपछि बिहेभोजमा सहभागी हुनेहरूले पनि आफ्नो स्वास्थ्यको ख्याल गरेको देखिँदैन । ‘अब्बुइ, जानुपर्छ नि हउ बोलाएपछि त !’ भन्ने निम्तालुहरूका कारण पनि बिहे गर्ने र गराइदिनेहरूको हौसला बढेको छ । अरू त अरू भइगए, शिक्षित तथा देश–विदेश घुमेका युवायुवतीसमेत महामारीबीच बिहे गर्न हतारिएको देख्दा नेपालीहरू जति नै पढे पनि स्वास्थ्य सचेतनामा दशकौं पछि रहेछन् भन्ने महसुस हुन्छ । स्वास्थ्यलाई सर्वोपरि नठान्ने यस्ता शिक्षित र स्वास्थ्य सचेतनामा पछि परेकाहरूले महामारी फैलने वातावरण तयार गरिरहेका छन् ।
पछिल्लो समय भारतको नयाँ दिल्लीलगायत अन्य राज्यमा भएका बिहेभोजबाट संक्रमण फैलिरहेका समचार आइरहेका छन् । बिहेमा सहभागी हुनेहरूको कोरोनाका कारण ज्यानै पनि गइरहेको छ । छिमेकी मुलुकका यस्ता समाचार हामी त्यति पढ्दैनौं, पढे पनि पत्याउँदैनौं । हुन त, सामान्य अवस्थाजस्तै बिहे मात्र होइन, मगनी, पुराण, महारुद्रीजस्ता धार्मिक अनुष्ठान आयोजना गरेका तथा पूर्वतयारी गरिरहेका फोटा सामाजिक सञ्जालमा टन्नै भेटिन्छन् । यस्ता फोटा हेर्दा साँच्चै अवस्था सामान्य भइसकेको हो कि भन्ने जोकोहीलाई पर्न सक्छ । फोटामा स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पनि पालना गरेको देखिँदैन । यस्ता फोटाहरूले अरूलाई पनि ‘जेसुकै होस्, बिहे र धार्मिक कार्यक्रम रोक्नु हुँदैन’ भन्ने सन्देश दिइरहेका छन् अनि अप्रत्यक्ष रूपमा यस्ता कार्य गर्न प्रोत्साहन पनि गरिरहेका छन् ।
यसपालि कोरोनाको दोस्रो लहरले केकति जनधनको क्षति गर्ने हो, अहिल्यै आकलन गर्न सकिन्न । पछिल्लो समय भारतका बिहारवासीले पनि छोराछोरीको बिहेका लागि विराटनगरका होटल तथा पार्टी प्यालेसहरू रोज्न थालेका छन् । सामान्य अवस्थामा यो हाम्रा लागि खुसीको खबर भए पनि कोरोना–कहरबीच तामझामका साथ विराटनगरका पार्टी प्यालेसहरूमा बिहेभोज हुनु भनेको खतराको घण्टी बज्नु हो । यी र यस्ता कतिपय कारण यसपालि कोरोना महामारी द्रुत गतिमा फैलिरहेको वास्तविकताबाट होटल तथा पार्टी प्यालेस सञ्चालकहरू अनभिज्ञ देखिन्छन् । पहिले व्यवसाय अनि मात्र स्वास्थ्य भन्ने मान्यतालाई सर्वोपरि ठान्ने यस्ता सञ्चालकहरूका कारण पनि विराटनगर पूर्वको कोरोना हटस्पट बन्दै गएको छ ।
त्यसो त, होटल तथा पार्टी प्यालेस सञ्चालकहरू, बिहे तथा अन्य धार्मिक अनुष्ठान गर्ने–गराउनेहरूको मनोबल त्यसै बढेको होइन । केही समययता सम्पन्न भएका राजनीतिक सभा, ¥याली अनि उद्घाटन÷शिलान्यासजस्ता गतिविधिले पनि महामारी द्रुत गतिमा फैलाइरहेको जानकारहरू बताउँछन् । भर्खंरै सम्पन्न रात्रिकालीन विराट गोल्डकपले पनि विराटनगरलाई हटस्पट बनाउन धेरथोर मद्दत गरेको छ । जनताको जीवनरक्षार्थ राजनीतिक दलहरू ढाल बनेर उभिनुपर्नेमा उल्टो कुर्सी बचाउने÷खोस्ने खेलमा लागेकाले पनि सर्वसाधारण निराश छन् र स्वास्थ्य मापदण्ड पालना गर्न उदासीन पनि ।
सर्वसाधारणमा स्वास्थ्य सचेतना कम हुनुका थुप्रै कारणमध्ये एउटा हो— महामारीमा राजनीतिक दलहरूले गरेका क्रियाकलाप । विशेष गरी भारतमा भएका राजनीतिक र धार्मिक गतिविधिकै सिको हाम्रो सत्तारूढ दलले गर्दै आएको छ । विभिन्न राज्यका विधानसभा चुनाव र हरिद्वारको कुम्भमेलाका कारण भारतमा कोरोना समुदायस्तरमै फैलियो । उक्त मेलामा सहभागी भएका ज्ञानेन्द्र शाह र कोमल शाह अहिले कोरोनाको उपचार गरिरहेका छन् । हामीकहाँ पनि केही साताअघि माडीमा सीतारामको मेला आयोजना गर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आफूसँगै श्रीमतीलाई पनि संक्रमित बनाए । अहिले उनीहरूको उपचार भइरहेको छ ।
नेताहरू स्वयं कोरोनाप्रति संवेदनशील नभएकै कारण सर्वसाधारणले स्वास्थ्य सुरक्षाका मापदण्ड र निषेधाज्ञाको पालना गरेको देखिँदैन । स्वास्थ्यप्रति सचेतना जगाउन सरकार पहिले संवेदनशील हुनु जरुरी छ । अनि यस्तो बेला बिहेलगायतका धार्मिक अनुष्ठान गर्नेहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन अनि भीडभाड नगर्न स्थानीय तहले आग्रह र सके नियमन पनि गर्नुपर्छ । उनीहरूलाई निषेधाज्ञा पालना गराउनु अपरिहार्य छ । साथै शिक्षित छोराछोरीले आफ्ना अभिभावकलाई ‘कोरोना सन्त्रास कम भएपछि बिहे गर्छौं’ भन्न सक्नुपर्छ । पुरेतहरूले पनि आफ्नो र अरूको स्वास्थ्यको ख्याल गरी कोरोनाकालमा लगनभन्दा मानव स्वास्थ्य सर्वोपरि हुन्छ भनेर बिहे गर्ने–गराउनेहरूलाई सम्झाउन सक्नुपर्छ ।
                                                                                                             कान्तिपुर अनलाईनबाट