देवीराम आचार्य


कोभिड महामारीका कारण हामीले धेरै त गुमाउनु नै परेको छ तर यसले केही सिक्ने अवसर पनि दिएको छ । त्यो अवसरको सदुपयोग कति गर्न सकिन्छ, त्यसबाट भविष्यका लागि कति सिक्न सकिन्छ र त्यो सिकाइलाई कति प्रयोगमा ल्याउन सकिन्छ रु त्यो महŒवपूर्ण हुन्छ ।
गत वर्षको चैतबाट अवरुद्ध भएको शैक्षिक प्रणाली राम्रोसँग आफ्नै लयमा फर्कन नपाउँदै पुनः अवरुद्ध भएको छ । देशैभरि पालिकाअनुसार फरक फरक अभ्यासको सुरु भएको छ । बितेको एक वर्षमा राम्रोसँग पठनपाठन सञ्चालन हुन सकेको थिएन । सहरी क्षेत्रमा माघको पहिलो हप्ताबाट मात्र विद्यालय खुलेका थिए । तर त्यही समयमा पनि पठनपाठन र सिकाइको विषयलाई गौण मानेर परीक्षा लिने कार्यमा केन्द्रित भएको पाइयो । विद्यालयहरूले अभिभावकलाई परीक्षा महŒवपूर्ण होइन, सिकाइ महŒवपूर्ण हो भन्ने बुझाउन सकेनन् । विद्यालयले मात्र होइन त्यो बुझ्न र बुझाउन पालिकाले पनि चाहेनन् । अभिभावकलाई परीक्षा चाहिन्छ भन्दै परीक्षा लिने प्रतिस्पर्धा नै चल्यो । अहिले पनि धेरैको चासो र चिन्ता त्यही परीक्षामा देखिन्छ ।
शैक्षिक प्रणालीमा अवरोध आएपछि यसलाई कसरी सञ्चालन गर्ने, यसको संरचना, पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कनमा के कस्ता परिवर्तन गर्नु आवश्यक छ भन्ने सोधखोजतिर लाग्न सकिएन । कोभिड सङ्क्रमण कहिले कम होला र विद्यालय खोलेर पठनपाठन गर्न सकिएला भन्नेतर्फ नै धेरै समय व्यतित भयो । केही प्रयास नै नभएका त होइनन् तर हुनुपर्ने जति भएनन् वा गर्नसक्ने जति गरिएन । परम्परागत ढाँचाभन्दा फरक तरिकाले सोच्न सकिएन । शिक्षकहरूलाई स्वायत्तता दिएर सशक्तीकरण गर्ने प्रयास हुन सकेन र त्यो चुनौती माग गर्ने शिक्षकको सङ्ख्या पनि निकै कम मात्र रह्यो ।
वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने भनियो तर त्यसका लागि आवश्यक पूर्वाधार, सीप र क्षमताको कमी रह्यो । शहरी क्षेत्रमा चलेको अनलाइनलाई मात्र वैकल्पिक विधिको रूपमा बुझ्न थालियो । पहुँचमा भए पनि प्रयोगमा कम भएको रेडियो र पहुँच नै नभएको टेलिभिजनमा जोड दिइयो तर गर्न सकिने फोन, टोल सिकाइ, घरघरै सिकाइ, अभिभावक परिचालन, समुदायस्तरमा स्वयंसेवक परिचालन, क्लिनिक मोडेल, वाईफाई फ्रि जोन बनाउनेतर्फ पर्याप्त ध्यान दिन सकिएन । वैकल्पिक विधिबाट शिक्षण गर्दा थप मिहिनेत आवश्यक पर्छ भन्ने कुरालाई आत्मसात् गर्न सकिएन । समाधानका विधि खोजी गर्नभन्दा त्यसको प्रयोगमा देखिने समस्याको कल्पनामा बढी जोड दिइयो ।
वैकल्पिक शिक्षण सिकाइका सन्दर्भमा एउटा समूहले शिक्षकको भूमिका बढी देख्यो । शिक्षकले गर्ने सक्ने भएर पनि गरेनन्, उनीहरू सिकाउन तयार भएनन्, नेट छैन, अभिभावकमा चासो छैन, विद्यार्थीमा रुचि छैन भन्नेजस्ता समस्या मात्र देखाए भन्यो । अर्को समूहले शिक्षकलाई प्रविधि दिइएन, ल्यापटप र डाटा दिइएन, तालिम, प्रोत्साहन दिइएन, अनलाइन पढाउन गतिलो मोबाइल भएन भन्यो । वास्तवमा समस्या यी दुवै थिएनन् र होइनन् । समस्या हाम्रो जबाफदेहितामा रहेको थियो र छ ।
वैकल्पिक शिक्षण सिकाइ सम्भव रहेछ र हुन्छ भनेर उदाहरण दिने शिक्षकहरू नै हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ । साँच्चिकै केही गरौँ भनेर मनैदेखि लाग्ने शिक्षकहरूले गरिरहेकै थिए र छन् । आफ्ना लागि आफैँ खोजिरहेका छन् । विद्यार्थी र अभिभावकलाई निरन्तर सम्पर्क गरेका छन् । भाइबर हुन्छ कि स्काइप, फेसबुक म्यासेन्जर हुन्छ कि ट्वीटर खोजी गरिरहेकै छन् । मुख्य समस्या यो सङ्ख्या सानो भएको मात्र हो । आफ्ना विद्यार्थी पढाउने तरिका आफैँ खोजौँ तर पढाउँ भन्न पनि सकिएन । वैकल्पिक शिक्षण सिकाइका विधि आफैँ तय गरौँ भन्न पनि सकिएन । फोनबाट शिक्षण गर्ने सियुजी सिम वितरण गर्ने कामकै लागि हामीलाई झण्डै एक वर्ष लाग्यो । विद्यालयमा टोल फ्रि फोन राख्न सकिने नीति त बन्यो तर राख्न सकिएन । जटिल परिस्थितिमा शिक्षकलाई प्रेरणा र क्षमता विकाससहित वैकल्पिक सिकाइमा परिचालन गर्न नसकिएकै हो । त्यसमा स्थानीय, प्रदेश र सङ्घीय सरकारका कमजोरी त छन् नै जटिल परिस्थितिलाई पनि सामान्य रूपमा लिने हाम्रो संस्कारजन्य समस्या पनि छन् । केही गरौँ भन्ने उत्साह र जाँगर भएकाहरूलाई निरुत्साहित गर्ने समूह पनि छ हामीसँग । यो वर्षको शैक्षिक सत्र पनि यतिखेर अन्योलमा नै छ । देशभर ९० प्रतिशत विद्यालयले तोकिएको कोर्ष पढाएर सकेका छैनन् । जेठमा अन्त्य गर्ने भनिएको शैक्षिक सत्र अन्योलमै छ । कक्षा १० र १२ को परीक्षाले अझ अन्योल थपेको छ । कोभिड सङ्क्रमण गतवर्षको जस्तै भयो भने शैक्षिक प्रणाली के गर्ने भन्ने प्रश्न महŒवपूर्ण छ । हाम्रो परम्परागत ढाँचामा परिवर्तन गर्न अब ढिला भइसकेको छ । परिवेश अनुकूलका विभिन्न वैकल्पिक शिक्षण सिकाइका विधिहरूको अन्वेषण गर्नुपर्ने विश्वविद्यालय आफैँ नौ महिनासम्म परीक्षा लिन सकेन भने यो वर्ष के गर्ने अलमलमै छ ।
शिक्षण सिकाइ र शैक्षिक सत्रलाई महिना र दिनमा गन्नेभन्दा पनि कक्षा अनुसार विद्यार्थीले हासिल गर्नुपर्ने न्यूनतम सिकाइ सक्षमता हासिल गर्न सक्यो वा सकेन भनेर हेर्नु आवश्यक हुन्छ । निजी विद्यालयहरूले अवलम्बन गरेको अनलाइन सिकाइका तौरतरिकालाई सार्वजनिक विद्यालयका सन्दर्भमा हुबहु कार्यान्वयन गर्न सम्भव छैन र निजी कम्पनी वा व्यक्तिले निर्माण गर्ने कुनै पनि वेभ, एप्लिकेसनमा भर परेर सार्वजनिक शिक्षालाई सञ्चालन गर्न वा सुधार गर्न सकिन्न ।
दाताको सहयोगमा एक विद्यार्थी एक ल्पापटप अभियान परीक्षण भएको दश वर्षभन्दा बढी भयो । अहिले विद्यार्थीसँग त के हुनु र सबै शिक्षक र विद्यालयमा पनि पु¥याउन सकिएको छैन । केही धनी विद्यालय आफैँले ल्यापटप खरिद गरेर शिक्षकलाई दिएका छन्, केही स्थानीय तहले पनि दिएका छन् र दिँदै छन् । शिक्षकलाई ल्यापटप दिने ढाँचा विभिन्न हुन सक्छन् तर इच्छुकहरूका लागि मात्र लागत साझेदारीमा ल्यापटप उपलब्ध गराउन ढिला गर्नु हुँदैन ।
आर्थिक वर्ष २०६८÷६९ को बजेट भाषणमा सबै माध्यमिक विद्यालयमा इन्टरनेट पु¥याउने महŒवाकाङ्क्षा थियो, त्यो अझै पूरा भएको छैन । जसरी सबै पालिकामा बैङ्क पु¥याउने अभियान चल्यो र पुग्यो त्यसरी नै सबै विद्यालयमा इन्टरनेट पु¥याउने अभियान चलाउन ढिला भइसकेको छ । जिम्मेवार निकाय र त्यसका पदाधिकारीले यसतर्फ ध्यान दिनु आवश्यक छ ।
पाठ्यक्रमको ढाँचा, न्यूनतम सिकाइ उपलब्धि वा सिकाइ सक्षमता, शिक्षण सिकाइ प्रक्रिया र मूल्याङ्कनका विधिमा परिवर्तनको खाँचो छ । सिकाइ सक्षमतालाई न्यूनतम, अपेक्षित र उच्चतम गरी वर्गीकरण गरेर न्यूतम सिकाइ सक्षमता हासिल गरेपश्चात मात्र माथिल्लो कक्षाको सिकाइ निरन्तरता गर्ने व्यवस्था गर्न सकिन्छ । यसो गर्न विद्यमान पाठ्यक्रम र मूल्याङ्कन विधिमा परिवर्तन गर्नुपर्छ । विद्यालयले विद्यार्थीले चाहेको समयमा आफ्नो सक्षमता परीक्षण गर्न लगाउने र माथिल्लो कक्षामा जाने हुन सक्छ । सतहमा हेर्दा यो अव्यावहारिक देखिएला तर कक्षा १ देखि ७ को सम्पूर्ण अधिकार विद्यालयलाई दिने र त्यसको प्रभावकारी अनुगमन गर्ने, शिक्षकलाई क्षमता विकास गर्ने हो भने यसको कार्यान्वयन जटिल छैन । यसले विद्यार्थीको सिकाइका लागि शिक्षक र विद्यालयलाई जबाफदेही बनाउँछ ।
शिक्षक र विद्यालयलाई शिक्षण सिकाइको स्वायत्तता दिनु जरुरी छ । हरेक शिक्षकले आफूले जानेको विधिअनुसार सिकाइ सहजीकरण गर्न सक्छन् । स्थानीय परिवेशअनुसार शिक्षण सिकाइ सञ्चालन हुन सक्छ । विद्यालयमात्र होइन कक्षा, शिक्षक र विद्यार्थी अनुसार फरक फरक वैकल्पिक विधि प्रयोग हुन सक्छ । यो जटिल त पक्कै हुन्छ तर विद्यमान जटिल परिवेशका लागि यसको जटिलतालाई स्वीकार गर्न सकियो भने प्रभावकारी हुन्छ । कक्षा पाँचसम्म विषय शिक्षण गर्ने परिपाटी तत्कालै अन्त्य नगरी वैकल्पिक शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सकिन्न । त्यसका लागि नयाँ शिक्षक भर्ना गर्ने, कार्यरत शिक्षकको क्षमता विकास गर्ने काम प्राथमिकतामा हुनुपर्छ ।
बितेको एक वर्षमा हामीले हाम्रो विद्यालय शिक्षाको शैक्षिक प्रणालीमा परिवर्तन गर्न सकेनौँ । प्रविधिको विकास र विस्तार मात्र पनि समस्याको समाधान होइन । प्रविधिले केवल सहजता मात्र ल्याउने हो । प्रविधिको प्रभावकारिता शिक्षकमा भर पर्ने भएकाले शिक्षक पहिलो प्राथमिकतामा हुनु आवश्यक छ । शैक्षिक प्रणालीमा सुधारको अवसर पटक पटक नआउन सक्छ । प्रविधिको विकास र विस्तारसँगै शिक्षक क्षमता विकास, सशक्तीकरण र परिचालनमा समेत नयाँ पद्धति खोजी गर्दै अवसरको सदुपयोग गर्न सक्नुपर्छ । यसका लागि सबै सरोकारवाला जिम्मेवार हुन आवश्यक पनि छ । यतिबेला हाम्रो शैक्षिक प्रणालीले पुनर्संरचना खोजिरहेको छ त्यसतर्फ ध्यान दिन ढिला भइसकेको छ ।
                                                              (लेखक शिक्षा सेवामा अधिकृत हुनुहुन्छ ।) गोरखापत्र अनलाईनबाट