प्रा.डा. बद्रीविशाल पोखरेल
प्रगतिशील तथा लोकतान्त्रिक स्रष्टाहरू प्रतिनिधि सभा विघटनपछि परस्पर दुई भिन्न कित्तामा उभिएका देखिन्छन् । एकथरि विघटनलाई प्रतिगामी, पश्चगामी, प्राप्त उपलब्धि खोस्न वा सङ्कुचित पार्न र मुलुकलाई अझै निरङ्कुशतातिर लैजाने कदम मान्छन् अझ उनीहरू अग्रगामी समाधान नखोजी विघटनलाई प्रथमिकता दिनु नाजायज भएको भन्छन् । अर्कातिर विगतमा झैँ नेपालीहरूलाई नै प्रयोग गरेर विशेषतः भारतीय शासकले तिनलाई अनेक लोभ लालचमा पारेर नेपाललाई क्रमशः विखण्डनको डिलमा पु¥याएको इतिहास सम्झन्छन् ।
भारत प्रवासमा रहेका जननायक तथा भूतपूर्व प्रधानमन्त्री बीपी कोइरालालाई नै भारतीय शासकले ‘हामीले भनेअनुसार मान्ने हो भने तपार्इंको देशमा हामी बहुदल ल्याइदिन्छौँ र तपाईंलाई प्रधानमन्त्री बनाइदिन्छौँ’ भनेर लोभ्याउँदा पनि उहाँ लोभिनुभएन । नेकपाका केही नितान्त निजी स्वार्थी तथा लालची नेताहरू बाह्य प्रभाव र दबाबमा परी क्रमशः पार्टी, सरकार हुँदै देशलाई विखण्डनको धरापमा पार्ने नियतका साथ लागिपरेको विगतका धेरै घटना साक्ष्य रहेको विखण्डनविरोधी स्रष्टा बताउँछन् । यस्तै, देश र जनता विरोधी चिन्तन र चरित्रका कारण बाध्यतावश प्रतिनिधि सभा विघटन भएको अर्काथरि स्रष्टाहरू औँल्याउँछन् । सरकारले अग्रगामी अन्य कदम नचाली विघटन रोजेको भन्ने विघटन विरोधी सर्जकहरू आफू कुनै अग्रगामी उपाय सुझाउन भने असमर्थ देखिन्छन् ।
संसदीय अभ्यासमा बाध्यतावश मध्यावधि निर्वाचनमा जानु वा जनगमन गर्नुलाई प्रतिगमन भन्न मिल्दैन र सुहाउँदैन । प्रधानमन्त्री केपी ओली र यो सरकार अलोकप्रिय हो भने त आफूलाई लोकप्रिय मान्ने र ठान्ने नेता किन जनगमनदेखि तर्सिएका होलान् र केवल कुर्सी गमनमा ज्यान फालेर लागेका होलान् रु
विघटन विरोधी स्रष्टाहरूले भनेझैँ यथास्थिति कायम हुँदा अब तीन वा चार दल मिलेर बन्ने सरकारमा विगतको सांसद् खरिद बिक्रीसम्मको चरम सरमको अवस्था आउन दिनु अग्रगामी उपाय हुन्थ्यो र रु आफूसमेत सरकारमा सहभागी तथा आफ्नै पार्टीको सरकारले चुच्चे नक्सा जारी गरेको भोलिपल्ट ओलीको राजीनामा माग स्वतः परिचालित तथा प्रायोजित देखिन्छ ।
यही प्रसङ्गमा बीपी विरासत पक्षधर लोकतान्त्रिक स्रष्टाहरू नेपाललाई कुनै पनि थिचोमिचो, हेलाँहोचो हुन नदिन र सिक्किमीकरण हुन नदिनसमेत ज्यानको बाजी लगाएर भारत प्रवासबाट नेपाल आउनुभएका बीपीको चिन्तन र चरित्र विपरीत सडकको तडकभडक सिर्जनामा रमाउनु सङ्गतिपूर्ण देखिएन । अझ नेपाली काँग्रेसका नेता डा। चन्द्र भण्डारीका अनुसार भारत अतिक्रमित नेपालको पश्चिमी भूभाग नेपाली नक्सामा समावेश गरेका कारण प्रधानमन्त्री ओलीलाई भारतीय शासकले प्रधानमन्त्री ओलीलाई अपदस्थ गर्छन् भनेको किटानी र त्यसको अन्तर्य स्रष्टाहरूले बुझ्न जरुरी देखिन्छ ।
विखण्डन विरुद्धका स्वर सम्बद्ध स्रष्टाहरू भने केही उपल्ला तहका भनिएका प्रगतिशील तथा लोकतान्त्रिक नेपाली सर्जकहरूमा इतिहास चेत र सामाजिक सञ्चेतनाको कमजोरीका कारण यथार्थको सक्रिय प्रतिविम्बन गरिरहेको पाइँदैन भन्छन् । प्रगतिशील तथा लोकतान्त्रिक स्रष्टाहरूका सकार पर्याप्त छन् तर तिनमा इतिहास चेतका कतिपय सवालमा गम्भीर कमजोरी देखिन्छन् । महामना डा।मोदनाथ प्रश्रितले प्रसिद्ध समालोचक निनु चापागाइँसमेत सहभागी ठूलै सङ्ख्यामा चीन भ्रमण दलमा सम्मिलित वरिष्ठ लेखकका रोचक अनुभव यस लेखकलाई सुनाउनु भएको थियो । प्रश्रितले इतिहास चेतका दृष्टिले कमजोर रहेको भ्रमण दलका सर्जकहरूलाई साक्षी राखेर भ्रमण गरिएका सबै प्रान्तका सबै उमेर समूहका प्रतिनिधि चिनियाँ जनतालाई उनीहरूको देशका चार वा पाँच सम्मानित नेताको नाम सोध्दा सम्पूर्णले विशाल चीनको एकीकरण कर्ता तत्कालीन सम्राट शी ह्वह्वाङ, माओ त्से तुङर तेङ सियाओ पिङसहित नेताकोसगर्व नाम उच्चारण गरेको यस लेखकलाई बताउनु्भएको थियो । स्वयं माओ आफ्नो देश एकीकरण गर्ने सम्राटलाई सलाम गर्थे । आम चिनियाँ जनता जात, जाति, धर्म, वर्ण, वर्ग, लिङ्ग, नाक र नश्लको सङ्कीर्ण घेराबन्दीमा नपरी देशको निर्माण, उत्थान र समृद्धिमा समर्पित नेताहरूलाई सगौरव सम्मान गर्दा रहेछन् तर नेपाली विद्वान् भनिनेहरू क्रान्तिकारी हुने नाममा भ्रान्तिकारी हुन उद्यत देखिन्छन् । तिनले नेपाल र नेपाली हुनुमा सर्वाधिक गर्व गर्नु विषय अर्थात् नेपाल एकीकरण, यसमा बलिदान गर्ने नरनारी र यसका मूल अभियन्ताप्रति अहिले पनि कटु कटाक्ष गर्छन् । इतिहास र समाजका सकारात्मक पक्षको जगेर्ना गर्नुपर्ने सही माक्र्सवादी सोचका विपरीत कतिपय माक्र्सवादी स्रष्टाहरू भड्काउमा रहेको टीठलाग्दो दृश्य देख्नुपरेको छ ।
माओका अनुसार कुुनै पनि समाजमा शासकका विचार, चिन्तन र संस्कृति प्रभावी हुने गर्छ र यसको कुप्रभाव प्रगतिशील वा अन्य स्रष्टा, लेखक तथा बुद्धिजीवीमा लामो समयसम्म रहिरहन्छ । त्यसको ज्वलन्त उदाहरण सङ्घीय लोकतान्त्रिक गणतन्त्रकालको नेपालमा टड्कारो रूपमा देखिन्छ । यसमा आफैँले सचेतता नअपाउने हो भने भोलिसम्म पनि उपर्युक्त खाले पछौटे चिन्तन, चेत र चरित्र बाँकी रहनेछ ।
भन्नलाई आफू प्रगतिशील वा प्रगतिवादी भन्ने तर बिरालो बाँध्ने संस्कारका अनुयायी हुने संस्कार स्रष्टाहरूमा पाइन्छ । कार्लमाक्र्स कण्ठै पार्ने तर माक्र्सवादी सिर्जनात्मक सोच र व्यवहार ठ्याम्मै नहुने विसङ्गति यत्रतत्र पाइन्छ । वादे वादे जायते तìव बोधजस्ता वैदिक सनातन चिन्तन र संस्कृतिको अध्ययन गर्ने अवसर माक्र्सले पाएको भए त्यसलाई पनि सिरानी हालेर माक्र्सले द्वन्द्ववाद निरुपण गर्ने एउटा आधार बनाउनु हुन्थ्यो तर किताबको भण्टा मात्र पढ्ने र त्यसैमा रमाउने माक्र्सवादी पण्डितलाई सिर्जनात्मक ज्ञान पलाउन सकेन । गाली गर्न सिक्यो, गुण ग्रहण गर्न जानेन । पढ्यो, त्यसलाई सिर्जनात्मक रूपमा आफैँले आत्मसात् गरेन । यही कुरालाई मध्यनजर राखेर प्रधानमन्त्री ओलीले ‘यस्य नास्ति स्थित प्रज्ञा, तस्य शास्त्र करोति किम्’ भन्दै अथ्र्याउन खोज्नु भएको थियो । प्रज्ञा भनेकोत प्रकृष्ट, विशिष्ट, सिर्जनशील, गहन तथा नवीन सोच र सिर्जनात्मक ज्ञान हो । कार्लमाक्र्सले विगतको समग्र ज्ञानलाई सामान्य सतही अध्ययन नगरी प्रज्ञाका सूक्ष्म र सिर्जनात्मक आँखाले अध्ययन गर्दा टाउकाले टेकेको द्वन्द्ववादलाई खुट्टाले टेकाउनु भएको हो । हो, यो हो प्रज्ञा । तर हाम्रा पण्डितहरूलाई किताब कण्ठ छ, सूत्र र श्लोक फरर आउँछ तर शब्द आए पनि सार, सिर्जना र सन्दर्भ आउँदैन । तिनले बाह्य आवरणमा माक्र्सवादी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणको उग्र विचार र व्याख्या गर्छन् तर भित्रभित्र अधि भौतिकवादी विचार र चिन्तनबाट ग्रस्त देखिन्छन् । जसले नेपाल र नेपाली हुनुमा गर्व गर्र्दैन र त्यसमा दूराग्रह राख्छ भने यस्ता खोटपूर्ण सोचले अरू कसैको राम्रो कामलाई राम्रो देख्दैन र भन्दैन । आग्रह र आदतको दास भयो भने उसले भिन्न राजनीति, विचार र व्यक्तित्वको राम्रोलाई राम्रो भन्दैन । जसले अरू पार्टी राजनीति र व्यक्तिलाई सदा धारेहात लगाएर पार्टी र अन्य खालका अनेक समूह र सम्प्रदाय निर्माण गरेको हुँदा र यस खालका प्रशिक्षणद्वारा प्रशिक्षित हुँदा यसैको कुप्रभावमा पर्ने खतरा हुन्छ । यस खालको भ्रमित प्रशिक्षणले भिन्न विचार र व्यक्तित्वको सकार धेरै दिन देख्दैन ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको संयुक्त जनआन्दोलनको सही नीति धेरैले बेलैमा नबुझ्नुको कारण नै यही हो । बीपी कोइरालाले लिएको राष्ट्रवादी अडान समयमै बोध गर्न नसक्नुमा पनि यही कारण रहेको छ । अनि प्रधानमन्त्री ओलीले तुलनात्मक रूपमा लगभग तीन वर्षको अवधिमा देश र जनताका हितमा गरेका उल्लेखनीय कामहरू केही पनि नदेख्नुमा कतिपय नेता, जेता र स्रष्टाको होइन, तिनका भ्रमित गति, मति र नियति नै प्रमु्ख कारण हो । तर सामाजिक सञ्चेतनालाई समग्र रूपमा सक्रिय प्रतिविम्बन गर्ने हो भने सरकारले तुइन विस्थापित गरिएका, छात्रवृत्ति पाएर पढिरहेका लाखौँ दलित, अपाङ्गता भएका तथा लक्षित वर्गका विद्यार्थीसम्म पुग्नुपर्छ र सरकारबाट निःशुल्क प्याड पाएका हजारौँ छात्राहरूको आवाज सुन्नुपर्छ । ८३ हजार युवालाई विभिन्न सीपमूलक तालिम दिएको, प्रत्येक जिल्लामा एक प्रविधिक धारको आङ्गिक क्याम्पसको व्यवस्थाजस्ता अनेक विकास निर्माणका काम र दुई वर्षमा मात्र तीन सय २५ वटा सडक पुल निर्माण भएको पनि नदेख्ने स्रष्टालाई द्रष्टा चेत कमजोर लेखक भन्नुपर्ने हुन्छ । नेपाल काठमाडौँ उपत्यकाको खाल्टो मात्र होइन । केवल आफ्ना अनेक खालका आग्रह र असन्तुष्टि मात्र प्रवाह गर्नु मात्र कला साहित्य होइन । एउटा स्रष्टा देश र जनताको प्रतिपक्ष हुँदैन हुनुहुँदैन । आफूलाई माक्र्सवादी द्वन्द्ववादी भन्ने सर्जकले जो कसैका स–साना वा ठूला उपलब्धि र प्राप्तिलाई जगेर्ना गर्नुपर्छ । मात्रा नभई गुण हुँदैन ।
रुख देख्ने, जङ्गल नदेख्ने अनि जङ्गल देख्ने, रुख नदेख्ने खालका अतिवादको भ्रममा पर्दा आखिरमा स्रष्टाले आफैँलाई पनि एक दिन नदेख्न सक्छ । इतिहासकै गर्भबाट वर्तमानको जन्म हुन्छ । इतिहास भत्काएर इतिहास बन्दैन । इतिहासको समग्र र सही ज्ञानले मात्र इतिहासका भूल, भ्रम र अन्योललाई सच्याउन सकिन्छ । तर ऐतिहासिक सत्यलाई कुनै पनि आग्रह, दूराग्रह र बहानामा भुल्न र मेट्न सकिँदैन र इतिहासका नाममा अनुचित, अनर्गल अनपेक्षित पक्षलाई महिमा मण्डन गर्न मिल्दैन र हुँदैन । बेलाको बोली र मौकाको काम नगर्ने हो भने प्राप्त उपलब्धि जोगाउन सकिन्न ।
हिजो नेपालको संविधान जारी गर्न नदिन दबाब र प्रभाव पार्नेहरूका मतियार बनेर प्राप्त उपलब्धि जोगिन्न । संविधानअनुसार नेपाल समाजवाद उन्मुख भनिएको छ । आधार पुरानै छ, आधेय वा उपरी संरचनामा मात्र परिवर्तन भएको छ तर परिवर्तित प्रणालीको जग र जरामा सामन्तवादी संस्कृति जब्बर छ । यसैले भद्र महिलालाई आफ्ना पाउ धुवाउने महाराजका एक अक्षर नबोल्ने नारीहरू नै राष्ट्रपतिप्रति अनेकथरि मनोगत आक्षेप लगाउन मज्जा मान्छन् । त्यसैले माक्र्सवादी सैद्धान्तिक सतही ज्ञानले मात्र कुनै पनि नेता र स्रष्टा शुद्ध बुद्ध हुन सक्तैन । तनको मैलो साबुनले धोएर जान्छ तर मन र मस्तिष्कमा वषौँदेखि कट्कटिएर दर्शनढुङ्गा सरह जब्बर बनेर बसेको पछौटे चिन्तन माओलेझैँ बारबार र हजारबार अध्ययन, पठन, मनन र चिन्तन गरेर मात्र घटाउन र हटाउन सकियो भने मात्र उपलब्धिको जगेर्ना हुनसक्छ ।
(लेखक साहित्यकार हुनुहुन्छ ।) गोरखापत्र अनलाईनबाट