मानवीय मानक व्यवहारको स्वरूपसँग सम्बन्धित नैतिकता मूल्य सिञ्चित अवधारणा हो । नैतिकताको लक्ष्य व्यक्ति र समाजमा असलको बढोत्तरी र खराबको न्यूनीकरण हो । प्रत्येक मानिसको अन्तरात्मामा यो बसेको हुन्छ र व्यक्तिको क्षमता र सम्भावनाको विकास सामाजिक रूपमा जिम्मेवार भएर सिर्जनात्मक शक्तिलाई पूर्ण रूपमा प्रस्फुटित गरी अन्तःसुख र सन्तुष्टि प्राप्तिका लागि नैतिकताले आह्वान गर्छ । यो आत्मपरक हो । उल्लङ्घन भयो वा भएन भनेर जाँच गर्ने कुनै स्वतन्त्र निकाय छैन । सार्वजनिक जीवनका ‘असल मानिस’ले आफूसित प्रत्यक्ष असम्बन्धित तर अप्रत्यक्ष रूपमा जोडिएको गल्तीका लागि समेत पदत्याग गर्छन् । सार्वजनिक जीवनबाटै सन्न्यास लिन्छन् । नेपालको सन्दर्भमा नैतिकताको प्रश्न अद्यापि गौण छ र शासकीय सत्तामा रहने वा बाहिरिनेलाई यसले हतपत फरक पारेको पाइँदैन ।
सबै समाजमा राजनीति बहुआयामिक हुन्छ । देशको शासनप्रणाली नेता र दलमा आश्रित हुन्छ । देशको विकास र सुरक्षा पनि राजनीतिले नै तय गर्छ । राजनीतिमा आममतदातालाई प्रलोभन दिनुलाई सामान्य मान्ने गरिन्छ । सत्य कुरालाई लुकाएर सार्वजनिक खपतका लागि लोकप्रिय र कर्णप्रिय कुराहरू गरिन्छ किनभने राजनीतिलाई एउटा कला मानिन्छ, जहाँ गरिबसित भोट र धनीसित नोट असुल गरिन्छ ।
समाजको निष्ठा र इमानदारी वा भ्रष्टाचारको व्यापकता राजनीतिसँग जोडिन्छ । राजनीतिले इमानदार, क्षमतावान र सार्वजनिक भलाइका लागि मरिहत्ते गर्ने मानिसलाई आकर्षित गरेको छ भने त्यस्तो समाज सुरक्षित हुन्छ र अखण्ड रहन्छ । त्यसकोविपरीत निजी लाभका लागि पदको दुरुपयोग गर्ने राजनीति भयो भने त्यो दुराचरणको मानक बन्न पुग्छ । प्रतिस्पर्धा र विकेन्द्रीकरणले भ्रष्टाचार घटाउँछ तर राजनीति गर्नका लागि भनेर ‘कोष’ बनाउने र त्यसमा राख्नका लागि धन–राशि सङ्कलन गर्ने गरिन्छ भने त्यसलाई भ्रष्टाचार मानिन्छ र यस्तो कार्यले सार्वजनिक जीवनका अरू क्षेत्रमा पनि भ्रष्टाचारका अवसरहरू मौलाउन जान्छन् । समाज पतनको बाटोतिर डोरिन्छ । राजनीतिमा स्थापित मान्यताले समाजका अन्य क्षेत्रलाई गहिरोसँग प्रभावित गर्छ ।
राजनीतिको सङ्कुचित अर्थ दाउपेच र चलाखी पनि हुन्छ, जसबाट शक्तिको उच्चतम बिन्दु राजनीति र भाववाची नैतिकताको यदाकदा मिलाप नदेखिएको हो । हाम्रो परम्परामा मानिस सत्वगुणी, रजोगुणी र तमोगुणी हुन्छन् । हाम्रा आदर्श ग्रन्थहरू रामायण र महाभारतमा नैतिकता अनकूल र प्रतिकूल दुवैथरिका राजनीतिको वर्णन पाइन्छ । समाजले ती दुवैलाई मान्यता दिएको पनि छ । सत्वगुणीबाट समाजको नेतृत्व हुँदा समाजमा हुने परिवर्तन सकारात्मक र कम कष्टकर हुने गर्छन् ।
नेपाली राजनीतिमा ‘नैतिकतावादीहरू’ सन्तुलनमा छन् र यदाकदा मुखरित पनि हुन्छन् । ‘पितामहहरू’लाई नेतृत्वको बाटो छाडिदिन नैतिक दबाब परिरहेछ तर संयुक्त राज्य अमेरिकाका निवर्तमान र वर्तमान राष्ट्रपतिलाई देखाएर उमेरको औचित्य सिद्ध गर्न खोजे तापनि तिनीहरूको मनमा द्वन्द्व चलिरहेको प्रतीत हुन्छ । नेपालीलाई चाहिएको समृद्धि र स्थिरता हो । समृद्धिका लागि राजनीतिक प्रणाली होइन, राजनेताको प्रवृत्ति सप्रिनुपर्ने देखियो । हाम्रो राजनीति विगत ७० वर्षभन्दा पहिलादेखि आन्दोलन, परिवर्तन, प्रतिगमनको वरिपरि रुमल्लिरहेको छ । यो अहिलेसम्म अनुमान गर्न सकिने र विश्वासिलो भइसकेको छैन । नैतिकतासित यसको द्वन्द्व चलिरहेछ ।
नैतिकताको द्वन्द्व राजनीतिसँग मात्र नभएर, नेपाली समाजका सबै क्षेत्रसित देखिन्छ । प्रजातन्त्रमा सबै सार्वजनिक पदाधिकारीहरू अन्ततः नागरिकप्रति जिम्मेवार हुन्छन् । यस्तो जिम्मेवारी ऐन–नियमको कार्यान्वयनद्वारा लागू गरिन्छ । नैतिकताको जग उत्तरदायित्व र जवाफदेहिता हो । राजनीतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिक, पेसागत रूपमा व्यावसायिक कर्मचारी भएको सार्वजनिक प्रशासनमा ‘शपथ ग्रहण’बाट नैतिकताको प्रारम्भ हुन्छ । शपथ ग्रहणद्वारा ‘मुलुक र जनताप्रति पूर्ण वफादार रहने’ सार्वजनिक प्रतिबद्धता व्यक्त गरिन्छ । योभन्दा पहिला नै सार्वजनिक प्रशासनले ‘उच्च नैतिक चरित्र’ को खोजी गर्छ, जुन ‘मूलतः सामाजिक मान्यता, सन्दर्भ र परिस्थितिसँग जोडिएको’ हुन्छ । त्यसैले यो भाववाची छ र सत्वगुणीसँग नजिक छ । सार्वजनिक निकायको खर्च सर्वसञ्चित कोषप्रति व्ययभार हुन्छ ।
जनप्रतिनिधिलेबनाएको कानुनद्वारा मात्र यो कोषको स्थापना र सञ्चालन हुन्छ । यो कोष‘प्रतिनिधित्वविना कर लगाउन पाइन्न’ भन्ने राजनीतिको जगमा अडेको छ । सार्वजनिक पदमा आसीन राष्ट्रसेवकमा दूरदर्शिता, न्याय, धैर्य र आत्मसंयमजस्ता उच्च सद्गुणहरू हुनुपर्ने र आफ्नो सेवा हैन तिनै करदाता जनताको सेवा गर्नुपर्ने अपेक्षा राखिन्छ । ‘सामान्य नैतिक चरित्र’ भएका व्यक्तिमा यी गुणहरूसहितको योग्यताको अभाव रहन सक्छ । तमोगुणीबाट सर्वसञ्चित कोषको
रक्षा नहुन सक्छ ।
पदाधिकारीलाई जवाफदेही बनाउन नागरिकको सशक्तीकरण अनिवार्य हुन्छ । सूचनाको अधिकार, प्रभावकारी नागरिक बडापत्र, नागरिकलाई पूर्वसक्रियताका लागि अवसर र प्रोत्साहन, सेवाप्रवाहमा सरोकारवालाको सहभागिता, निर्णय प्रक्रियामा सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण जवाफदेही बनाउने केही उपाय हुन्, जसले भ्रष्टाचारलाई न्यूनीकरण गरी निर्णय प्रक्रियामा निष्ठा र उत्कृष्टताको प्रवद्र्धन गर्छ । त्यसैले नागरिकको हरेक भूमिकामा सदाचार, निष्ठा, इमानदारी तथा अनुशासनको पालना अपेक्षित हुन्छ । तर, सेवाग्राहीमा अझै पनि खेतिपाती सप्रिन मनसुनप्रति र काम गराउन भनसुनप्रति विश्वास भएकाले नैतिकताको प्रवद्र्धन हुन सकिरहेको छैन । नैतिकताको द्वन्द्व जारी छ ।
कानुनसँग नैतिकताको ‘सहोदर सम्बन्ध’ र द्वन्द्व दुवै हुन्छ । दुवैको प्रयोजन नियमन हो । कानुनले नैतिकताको संरक्षण गरिरहेको हुन्छ भने नैतिकताले कानुनको । कसैलाई हानि पु¥याउनुहुँदैन भन्ने मूल विषयवस्तु समेटिएको फौजदारी कानुनको मूल स्रोत नैतिकता हो । कुनै काम गर्न वा नगर्नका लागि दुई वा दुईभन्दा बढी पक्षबीच गरिने करारको आधार पनि नैतिकता हो । अन्तर्राष्ट्रिय कानुनको ‘अन्तर्राष्ट्रिय सन्धिको पालना सन्धिमा हस्ताक्षर गर्ने सदस्यले इमानदारी र सहयोगसाथ गर्नुपर्छ (प्याक्टा सन्ट सर्भेन्डा)’ भन्ने सिद्धान्त नैतिकता हो ।
नैतिकताको धर्मसँग प्रगाढ सम्बन्ध छ तर धर्म र नैतिकता अलग–अलग विषय हुन् । धर्म नैतिकताभन्दा पनि निजी विषय हो । धार्मिक हुने वा नहुने, कुन धर्म अवलम्बन गर्ने भन्ने कुरा व्यक्तिको स्वविवेक, स्वतन्त्रता हो तर नैतिकता होइन । मानिस अधार्मिक हुन सक्छ तर अनैतिक हुन सक्दैन । नैतिकताले मानिसको स्वतन्त्रता प्रवद्र्धन गर्छ, धर्मले गर्दैन । धर्मले आश्रित बनाउँछ, परलोकवादी बनाउँछ तर नैतिकताले सामाजिक बनाउँछ । मुलुक धर्मप्रति जति निरपेक्ष छ, त्यसैको अनुपातमा नागरिकको स्वतन्त्रता सुरक्षित हुन्छ ।
जीवनका चार लक्ष्यमध्ये एक ‘अर्थ’को नैतिकतासँग द्वन्द्व भइरहेको हुन्छ । ‘अर्थ’ले समाजलाई गतिशील बनाएको हुन्छ । अर्थलाभ गर्ने व्यवसायीको एकसूत्रीय ध्याउन्न नाफा आर्जन वा सामाजिक मूल्य र मान्यतालाई आदर गर्नु पनि हो । समाजको सदस्यका रूपमा रहेका व्यवसायीको दायित्व सामाजिक समस्या समाधान गर्नेतर्फ पनि रहनुपर्छ । सामाजिक जीवनलाई गुणस्तरीय बनाउनुपर्ने सामाजिक उत्तरदायित्वबाट व्यवसायी पन्छिन किमार्थ मिल्दैन । आजको आममानिसले उसको मन र शरीरको स्वास्थ्यका लागि चिकित्सक एवम् औषधि व्यवसायीसँग र न्यायिक उपचारका लागि कानुन व्यवसायीसँग निरन्तर देखाभेट गरिरहनुपर्छ । आ–आफ्नो पेसा व्यवसायमा विशिष्ट र व्यवस्थित ज्ञानको उच्च शिक्षा हासिल गरेकाले नैतिकता, सदाचारसमेत सामाजिक मूल्य र आदर्शलाई पालना गर्दै पेसाप्रति पूर्ण इमानदार भएर जीविकोपार्जन गरे, नगरेको कुरालाई समाजले सदैव नियालिरहेको हुन्छ । यी पेसाकर्मी समाजका आदर्श हुन् । कानुनको पालना गर्ने, आर्थिक रूपमा पारदर्शी, सत्यनिष्ठामा विश्वास गर्ने पेसाकर्मीको मुख्य लक्ष्य नै मानवताको सेवा हो । जतिसुकै निर्मम, क्रूर र आततायी अपराधी भए पनि उसलाई मुद्दाको रोहमा कानुनले दिएको छुट, सुविधा एवम् सहुलियतबारे इमानदार सल्लाह दिनु र कानुनलाई टेकेर प्रतिरक्षा गर्नु कानुन व्यवसायीको कर्तव्य हो । कथित् अपराधीको प्रतिरक्षा गरेका आधारमा कानुन व्यवसायीको पेसा र चरित्रप्रति समाजले शङ्का गर्नु नपर्ने हो ।
विज्ञापन सञ्चारमाध्यमको प्रमुख आय हो । विज्ञापनदाता भनेका ठूला व्यवसायी हुन् । व्यवसायीले कर छली, प्रदूषण, राज्य सत्तालाई प्रभावमा पारी आफू अनुकूलको नीति बनाउने काम गरेमा त्यसबारे लेख्ने, नलेख्ने ? समाचार बनाउने कि नबनाउने ? सञ्चार जगत् पनि नैतिकताको द्वन्द्वमा हुन्छ ।
समाजका पौरखी सबैले धन आर्जन गर्छन्, घर बनाएकै छन् । वाहन हुन्छ, जीवनशैली लोभलाग्दो छ । तर, कर विरलैले तिर्छन् । सबैजसोको व्यावसायिक सङ्घ सङ्गठन छ । सबैले आफूसँग सम्बन्धित सेवा वा वस्तुको उत्पादनमा, बिक्रीमा र मूल्यमा एकाधिकार जमाउने जमर्को गरिरहेका छन् । पेट्रोलियम आयातमा नेपाल आयल निगमको एकाधिकार छ । यी सबैलाई नियमन गर्ने कानुन अभाव छैन । आचरणका नियममा बाँधिन बाँकी कोही छैनन् । यी पेसागत व्यवसायमा मुनाफा कि सेवा भन्नेमा र सेवा प्रदान गर्नलाई कानुन बाधक हो कि बाहना हो भन्नेमा नैतिकताको द्वन्द्व छ ।
आचारसंहितामा बाँधिन बाँकी कामदार, लेखक, कलाकार, कृषक र समाजसेवी पनि हाम्रै समाजमा छन् । लेखकले लेखेको लेख–रचनाबापतको पारिश्रमिकमा स्रोतमै कर लाग्छ । ‘ठूलो मानिस हैन, असल मानिस बन्नू’ भन्ने एउटा सुविख्यात लेखकको भनाइ भएकाले लेखकले पाउने पारिश्रमिकमा सुरुमै कर काटिएको हो कि ! लेखकलाई पनि यदाकदा अरूको रचना नक्कल गरेको, व्यक्तिविशेषको स्तूतिगान गरेको, राजनीतिक दलविशेषका लागि लेखेको भन्ने आक्षेप लाग्ने गरेकाले यिनीहरूको पनि नैतिकतासित सदैव द्वन्द्व रहिआएको छ ।
विश्वविद्यालयमा शिक्षकभन्दा कर्मचारीको सङ्ख्या बढी छ । सेवाप्रदायक कार्यालयमा प्रवेश गर्दा सो कार्यालयको भन्दा ठूलो आकार र धेरै सङ्ख्यामा कर्मचारीको पेसागत सङ्घ सङ्गठन र तिनको आकर्षक साइनबोर्ड देखिन्छ । सार्वजनिक सेवाप्रदायक निकायको मूलभूत कार्य सेवा दिने हो वा ट्रेड युनियनको राजनीति गर्ने थलो हो ? सार्वजनिक सेवामा प्रक्रिया महŒवपूर्ण हो वा सेवाग्राहीको सन्तुष्टि ? पेसागत सङ्घ सङ््गठनले पेसागत हितलाई दाउमा राखेर सार्वजनिक हित, सदाचार र नैतिकताका लागि आवाज ‘उठाउने’ साहस गरेको समकालीन समाजमा देखिएको छैन । यो नैतिकतासँगको खुला द्वन्द्व हो ।
आफूलाई फाइदा हुनेगरी काम गर्नु मानवीय कमजोरी हो भन्ने जानेर नै ती कुराको निरीक्षण र अनुगमन गरी कारबाही गर्न जिम्मेवारी तोकेका निकाय पनि छन् । सार्वजनिक जीवनमा सुशासन, सदाचार, शुद्धता, पारदर्शिता, जवाफदेहिता, निष्पक्षता, मितव्ययिता, सतर्कता, समयनिष्ठ, गुणस्तरीयजस्ता नैतिकतासँग पनि सम्बन्ध राख्ने अमूर्त गुणहरूको प्रवद्र्धनका लागि धेरै सार्वजनिक निकाय क्रियाशील छन् । तीमध्ये पाँचवटा निकाय ः अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सूचना आयोग, महालेखा परीक्षक, राष्ट्रिय सतर्कता केन्द्र र प्रेस काउन्सिललाई प्रतिनिधिमूलक मानी विचार गर्दा अघिल्ला दुइटाले भौतिक कारबाहीको अधिकार राख्छन् र पछिल्ला तीनवटालाई सिफारिस गर्नेसम्मको ‘सफ्ट’ अधिकार छ । सार्वजनिक जीवनमा यी निकायले पारेको मनोवैज्ञानिक प्रभावले नैतिकताप्रतिको द्वन्द्वको सङ्केत गर्छ । यस्ता निकाय नै व्यावसायिक र निजी स्वार्थको ‘द्वन्द्व’ मा रुमल्लिएका छन् । उजुर गर्नेले सास्ती खेप्छ, बिराउनेले उन्मुक्ति पाउँछ भन्ने आमबुझाइलाई घटनाक्रमले पुष्टि गरेका छन् । नैतिकतालाई आवश्यक पनि ठानिएको तर त्यसको महŒवलाई स्वीकार गर्न हिच्किचाएको अवस्था हो यो ।
सार्वजनिक जीवनका सबै क्षेत्रलाई दलीय राजनीतिक दृष्टिकोणले हेरिने हुँदा नैतिकतामा ह्रास आइरहेको छ । उच्च नैतिकता वा मनोबल हुनु भनेको उच्च क्षमता र सीपको विकास हुन सक्नु हो । मानवीय मर्यादा र मनोबलमा कमी आउँदा कामप्रतिको निष्ठा, समर्पण र नतिजामा नकारात्मकता देखिन सक्छ । उत्पादन (आउटपुट) पोटिलो हुँदैन । अपेक्षित आचरण र नैतिकताबीच पनि द्वन्द्व छ । यसो हुनाको कारण के हो भने आचरण समाज निर्देशित हुन्छ र यो सामाजिक स्वीकार्यताको जगमा यो अडेको हुन्छ जब कि नैतिकता आत्मनिर्देशित हुन्छ र यो अन्तस्करणको आवाज हो । सार्वजनिक जीवन बाँच्ने जोकोहीले यी दुईबीच सदैव उपयुक्त सन्तुलन कायम गर्ने प्रयास गरिरहनुपर्छ ।
(लेखक न्यायसेवामा हुनुहुन्छ ।) गोरखापत्र अनलाईनबाट