सिरहा, १९ मंसिर । उदयपुरको कटारी नगरपालिका ८ भाण्टावारीको सौर्य सिमेण्ट उद्योग खानी क्षेत्रमा बिहीबार राती वम विष्फोट हुँदा चार जना मजदुर घाईते भएका छन् ।
राती करिब १२ः१५ बजेको समयमा अज्ञात समुहले उद्योगलाई लक्षित गरी राखेको बम बिष्फोट हुँदा भाग्नेक्रममा उनीहरु घाईते भएका हुन् ।
बिष्फोटनबाट उद्योगमा कार्यरत कटारी नगरपालिका ८ का २४ बर्षिय बिष्णुबहादुर मगर, वडानं ७ का २३ बर्षिय नविन मगर, उदयपुरगढी गाउँपालिका २ का दुर्गा तामाङ्ग र मकवानपुर जिल्लाका ३० बर्षिय सागर मोक्तान रहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीले जानकारी दिए ।
उनीहरु सबैको अवस्था सामान्य छ । उनीहरुको कटारी अस्पतालमा प्राथमिक उपचारपछि घर पठाइएको उनले बताए । मध्यरातमा चार वटा वम एकैसाथ पडकिदा मजदुरहरु भागाभाग भएको थियो । घटनास्थलमा थप २ वटा शंकास्पद सामाग्री देखिएकाले नेपाली सेनाको टोलीलाई खवर गरेको उनले बताए ।
घटना लगत्तै डिएसपी भण्डारीको कमाण्डमा प्रहरी टोली परिचालन गरि एरिया नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताए । बिष्फोटनबाट मानविय र भौतिक संरचनामा क्षति नभएको दाहालले बताए ।
बिस्फोटन भएको वम सुतली र सकेट हुन सक्ने प्रहरीको अनुमान छ । बम विस्फोटको कसैले जिम्मा लिएको छैन् । यसअघि पनि ताप्लि गाउँपालिकालाई लक्षित गरी मंसिर ७ गते अज्ञात समुहले वम बिस्फोटन गराएको थियो । उक्त वमसमेत हालसम्म कसैले जिम्मा लिएको छैन् ।
जिल्लाको पहाडी क्षेत्रमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको सकृयता रहेको छ । वम विस्फोटन कसले गर्यो भन्ने एकिन नभएपनि विप्लव समुहले विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । यधपि अनुसन्धान जारी रहेको एसपी दाहालले बताए ।