कुनै जवान चर्चित कलाकारको निधन विश्वमा जहाँसुकै पनि ठूलो खबर हो । तर बलिवुड कलाकार सुशान्त सिंह राजपूतको मृत्यु र उनकी प्रेमिका कलाकार रिया चक्रवर्तीको दानवीकरणको जुन स्तरले भारतको मूल समाचारमा कब्जा जमाइरहेको छ त्यसले कैयन् मानिसहरूलाई कतै राष्ट्रिय सङ्कट नै छायामा पारेको हो कि भन्ने परिरहेको छ ।
सञ्चारमाध्यमको यो असाधारण चासो जुन महिनामा मुम्बईस्थित घरमा राजपूतको लाश भेटिएदेखि सुरु भयो ।
प्रहरीले ती ३४ वर्षीय कलाकारले आत्महत्या गरेको बतायो र समाचार विवरणहरूमा उनी मानसिक स्वास्थ्यको समस्यासँग जुझिरहेको उल्लेख भए ।
तर राजपूतका पिताले चक्रवर्तीले उनलाई आत्महत्या गर्न उक्साएको, छोराको पैसा चोरेको, औषधिको ओभरडोज (धेरै मात्रा दिएको) तथा हत्या नै गरेको समेत आरोप लगाएपछि अहिले यो मामिला सङ्घीय प्रहरीले छानबिन गरिरहेको छ ।
ती आरोप अप्रमाणित छन् र रियाले अस्वीकार गर्दै आएकी छन् ।
राजपूतका लागि गाँजा किनिदिएको आरोपमा मङ्गलवार चक्रवर्तीलाई भारतको लागुऔषध नियन्त्रणसम्बन्धी निकाय एनसीबीले पक्राउ गरेको छ । ती आरोप रियाले अस्वीकार गरेकी छन् ।
सुशान्त सिंहले जुनमा आत्महत्या गरेका थिए । सञ्चारमाध्यमबाट एकोहोरो छानबिन वा मिडिया ट्रायलमा जथाभावी आरोपहरू लगाइएका छन् ।
भारतका चर्चित टेलिभिजन प्रस्तोताहरूले चक्रवर्तीलाई दोषी ठहर गरिसकेको देखिन्छ ।
“कुनै रियालिटी शोजस्ता कार्यक्रमको अर्को प्रतिस्पर्धी छैन (सबैजनाको ध्यान टेलिभिजन समाचारमा छ,’’ न्यूज वेबसाइट द प्रिन्टकी मिडिया सम्पादक शैलजा बाजपेइले बताइन् ।
यो ‘मिडिया सर्कस’ त्यतिखेर देखा परेको छ जतिखेर भारतले कैयन् महत्त्वपूर्ण सङ्कट झेलिरहेको छ ।
गत सोमवार भारत सरकारले सार्वजनिक गरेको आँकडाले त्यहाँको अर्थतन्त्रको डरलाग्दो चित्र देखियो ।
जुनमा सकिएको तीन महिने अवधिमा भारतको अर्थतन्त्र २३.९५ ले खुम्चिएको पाइयो । यो सन् १९९६ मा भारतले त्रैमासिक आँकडा सार्वजनिक गर्न थाले यताकै सबभन्दा खराब अवस्था हो ।
बीबीसी न्यूज, नेपाली अनलाईबाट