मुकेश कुमार यादब /सिरहा १९ भदौ ।

सिरहाको औरही गाउँपालिका वडा नं. ४ ईटाटार का फुलो देवी सदा आफ्ना कलिला छोरा राम भजन सदाको पर्खाइमा एक वर्ष विताएकी छन् तर हालसम्म छोराको अत्तोपत्तो नभएपछि उनी चिन्तित बनेका हुन् ।
स्थानीय भागवत यादव, शिवजी यादव लगायतले भारतमा काम लगाइदिने भन्दै एक वर्ष अगाडि घरबाटै लगेको भए पनि अहिले आएर रामभजनको बारेमा उनले अनभिज्ञता प्रकट गरेपछि फुलोदेवी छोराको जीवन रक्षाको माग गरेकी छन् ।
फुलो देवी छोरा गुमाएको पात्र मात्र हुन् । स्थानीय भागवत यादव, शिवजी यादवलगायतका व्यक्तिले दर्जनौं सदा समुदायलाई रोजगारी दिलाउने नाममा भारतीय बजारको राईसमिलको लागि मानव तस्करी गरी उनीहरुलाई श्रम शोषण मात्र नभई शारीरिक, मानसिक, आर्थिक शोषण समेत गर्ने गरेको पीडितहरुको गुनासो छ ।
विपन्न परिवारका मुसहर समुदायलाई दलालले फकाई भारतीय सेलर मिलमा लगिने बखत घर खर्चको लागि दिएको रकमको ३६ प्रतिशत व्याज समेत उनीहरुले घरघरानाबाट असुल्ने गरेको पाइएको छ । स्मरणरहोस् मानव तस्करीको मुख्य नाइके भनिएको शिवजी यादव औरही गाउँपालिका अध्यक्षको प्रत्यासी उम्मेद्वार हुन् ।
वर्षौदेखि अनपढ, गरिव, निमुखा मुसहर समुदायलाई मात्र काममा लगिनु, उनीहरुलाई घरखर्चको लागि दिएको रकमको ३६ प्रतिशत व्याज असुल्नु, शारीरिक, मानसिक, आर्थिक तथा श्रम शोषण गर्नु जस्ता निर्दयी व्यवहार देखाउने पीडकहरुलाई कडा भन्दा कडा सजाय हुनुपर्ने स्थानीयहरुको माग रहेको छ ।