सिरहा, २८ भदौ। गाउँ ब्लक जग्गा नापी भएको १२ वर्षपछि गोलबजार २ लालपुरका बासिन्दाले आफ्नो भोगचलनको जग्गा दर्ता गराउन पाउने भएका छन्। वडा कार्यालयले एक सूचना प्रकाशित गर्दै सम्पूर्ण भोगचलन गरिरहेका जग्गाधनीहरुलाई दर्ताका लागि वडाले आह्वान गरेका हुन्। 

वडा अध्यक्ष सुकदेव सिंहले वडाको निरन्तर मेहनत र पहलपछि नापी कार्यालयका कर्मचारीहरूलाई वडामै ल्याएर निःशुल्क जग्गा गर्दा गराइपाउन लागेको बताए। उनले भने, ‘यहाँबाट लहान आउजाउ गर्दा लाग्ने भाडा, कागजपत्र नमिल्दा हुने झन्झटलाई मध्येनगर गर्दै वडाले आफ्नै खर्चमा सम्पूर्ण जग्गा दर्ताको निवेदन लिने व्यवस्था मिलाएको हुँ।’

उनले निवेदनसमेत वडाले आफै तयार पारिदिने बताए। भोली पालिकामा भोलि भदौ २९ गते सोमबार   देखि एक सातासम्म विहान ९ बजेदेखि ५ बजेसम्म निबेदन लिने बताए। 

साविक लालपुर गा.वि.स अन्तर्गत ३ देखि ८ वडासम्मका २७ कित्ताको करिव २० विगहा गाउँ ब्लक जग्गा २०७१÷७२ मा नापी भएको वडा अध्यक्ष सिंहले जानकारी दिए। साविक वडानम्वर २ मा ७, ४ मा २, ५ मा ४, ६ मा ५, ७ मा ३ र ८ मा ६ कित्ता गाउँ ब्लकको जग्गा नापी भएको छ। उनले लामो समय नापीगरेको भएपनि यसको प्रकृया अगाडी बढ्न सकेको छैन।