हेटौंडा, २८ भदौ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि शिवम् सिमेन्टले ११ हजार बोरा सिमेन्ट निःशुल्क उपलब्ध गराउने भएको छ।

शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि ११० घरधुरी परिवारलाई प्रतिपरिवार १०० बोराका दरले जम्मा ११ हजार बोरा शिवम् ओपीसी सिमेन्ट उपलब्ध गराउने निर्णय गरिएको शिवम् सिमेन्टका डिजिएम मार्केटिङ केशव अर्यालले जानकारी दिए।

बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

उनका अनुसार शिवम् सिमेन्टमा कार्यरत कर्मचारीहरूले एक दिन बराबरको तलबबापत प्राप्त हुने ५ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेछ।

यसैगरी शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले पनि राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख सहयोग गरेको जनाएको छ।

कम्पनीले विपद्को कठिन घडीमा सरकार, स्थानीय निकाय तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै बाढीपहिरो प्रभावित नागरिकको जीवन पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा निरन्तर सहयोग गर्ने उले बताए।