सिराहा, २५ भदौ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हिमाल, पहाड र तराई सबै क्षेत्रबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने एक्लो नेता भएको दाबी गरेका छन्। 

42d4acad-b007-41b4-94f8-29a9137668d0

सिराहामा आयोजित पार्टी एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो चुनाव जित्ने आफू मात्र एक्लो पूर्वप्रधानमन्त्री भएको जिकिर समेत गरेका हुन्।

आफ्नो राजनीतिक यात्रा र चुनावी सफलतालाई ऐतिहासिक रेकर्डको संज्ञा दिँदै प्रचण्डले देशका विभिन्न भूगोलबाट आफूले प्रतिनिधित्व गरेको स्मरण गराए। ‘मैले एउटा रेकर्ड बनाएको छु। म पहिला राजधानीबाट, रोल्पाबाट, सिराहाबाट, चितवनबाट र गोरखाबाट निर्वाचित भएँ,’ उनले भने, ‘अहिले रुकुम पूर्वबाट निर्वाचित भएको छु।’ तराई, मधेस, पहाड र हिमाल सबैतिरबाट विजयी भएर प्रधानमन्त्री बन्ने सौभाग्य आफूलाई मात्र प्राप्त भएको उनको भनाइ थियो।

देशमा अहिले छ(सात जना पूर्वप्रधानमन्त्री रहेको सन्दर्भ कोट्याउँदै उनले चुनाव जित्ने मामलामा आफू भाग्यमानी रहेको बताए। ‘यो पटकको निर्वाचनमा निर्वाचित हुने र विजयी हुने एउटै मात्रै प्रधानमन्त्री बिचरो प्रचण्ड मात्रै हो,’ उनले थपे, ‘दायाँबायाँ हेर्दा कोही छैनन्, त्यस्तो अवसर पनि मैले नै प्राप्त गरेँ।’

सिराहाको अत्यधिक गर्मीका बिच पनि कार्यक्रममा उपस्थित कार्यकर्ताको बाक्लो भीड देख्दा उनी उत्साहित देखिएका थिए। उनले गर्मी र पार्टीप्रतिको उत्साह घटेको हल्लाका कारण उपस्थिति पातलो हुने अनुमान गरेका थिए। तर, खुट्टा राख्ने ठाउँ नै नहुने गरी कार्यकर्ता उपस्थित भएको देख्दा उनले सबैलाई धन्यवाद दिए। ‘तपाईंहरूले गर्मीको प्रवाह नगरी पार्टीप्रति फेरि एकपटक भरोसा र विश्वास व्यक्त गर्नुभयो,’ प्रचण्डले भने।

पञ्चायतविरोधी आन्दोलन, जनयुद्धको तयारी र शान्ति प्रक्रियादेखि नै आफू सिराहासँग नजिक रहेको उनले स्मरण गरे। दोस्रो संविधानसभा निर्वाचनमा सिराहा क्षेत्र नम्बर ५ बाट जिताएर आफूलाई दोस्रो पटक प्रधानमन्त्री बनाएको भन्दै उनले सिराहावासीप्रति सधैँ ऋणी रहने बताए।

सम्बोधनका क्रममा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि लामो व्याख्या गरे। उनले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नयाँ संघर्ष सुरु भएको बताए। भाद्र २४ गतेको घटनालाई लिएर पार्टीको केन्द्रीय संयोजन समितिले त्यसलाई ‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासको कालो दिन’ घोषणा गरेको उनले जानकारी दिए।

‘त्यसलाई कालो दिनका रूपमा लिनुपर्छ। त्यो दिन संविधान र राष्ट्रिय स्वाधीनताविरुद्ध निकै ठुलो प्रतिक्रान्तिकारी षड्यन्त्र भयो,’ उनले भने। उक्त दिन केही घण्टाभित्रै सिंहदरबार लगायतका ऐतिहासिक धरोहर, दस्ताबेज, पार्टी कार्यालय र प्रहरी कार्यालयमा विध्वंस मच्चाइएको उनले बताए।

भाद्र २३ गतेको प्रदर्शनबारे प्रस्ट पार्दै प्रचण्डले सुरुमा उक्त आन्दोलन सकारात्मक रहेको बताए। ‘२३ गते दिउँसोसम्म त्यो आन्दोलन युवाहरूको भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा थियो। सञ्चारमाथिको प्रतिबन्धविरुद्ध थियो,’ उनले भने, ‘तर, २ बजेपछि जब त्यसले हिंसात्मक रूप लियो र घुसपैठ भयो, तब मानिसहरू मारिने परिस्थिति बन्यो।’ 

काठमाडौँको जिल्ला प्रशासन कार्यालयबाट प्रदर्शनको स्वीकृति लिने ‘जेन्जी’ युवाहरूको आन्दोलनमा पछि घुसपैठ भएको दाबी उनले गरे।

प्रशिक्षण कार्याक्रममा पार्टीका नेता महेन्द्र राय यादवले मधेश राजनीतिक रुपले जागरुक भुमि भएको बताए। उनले मधेश आन्दोलन, जनयुद्ध र अन्य आन्दोलनमा मधेश सधै परिवर्तनको पक्षमा रहेको स्मरण गरे। 

कार्यक्रममा पार्टीका विभिन्न तहतप्काका नेताहरुको उपस्थिति रहेको थियो। 

यसअघि मिर्चैयास्थित मोहन माध्यमि विद्यालयको नमुना कार्यक्रम अन्तर्गतको नवनिर्मित भवन उद्घाटन र विज्ञान प्रविधि प्रदर्शनीको उद्घाट गरेका थिए।