काठमाडौं, २५ भदौ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले बिहीबार दिउँसो प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन्।

‘मन्त्री यादवज्यूले ब्यक्तिगत कारणले राजीनामा बुझाएको हो। उनले आफ्नो कार्यकालमा मन्त्रालयको जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त सहयोग, सहकार्य र सद्भावका लागि सम्बन्धित सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ,’ यादवको निजी सचिवालयले भनेको छ।

बुधबार प्रतिनिधिसभाको उद्योग समितिको बैठकमा दिएको अभिव्यक्ति नै यादवको मन्त्री पद जानुको मुख्य कारण बनेको छ। यादवले ‘उद्योगीहरूलाई पाता नफर्कासम्म खाना पकाउने ग्यासको अभाव टर्दैन’ भनेकी थिइन्। उनको अभिव्यक्तिलाई लिएर निजी क्षेत्र आन्दोलित बन्न पुगेको थियो।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल ग्यास उद्योग संघलगायतले मन्त्री यादवले कि त प्रमाण दिनुपर्ने, नभए माफी माग्नुपर्ने अडान लिएका थिए। यादव गत चैतमा उद्योग मन्त्री नियुक्त भएकी थिइन्। ६ महिनामै उनको पद गुमेको छ।

(न्यूज कारखानाबाट)