- आशिष विश्वकर्मा
सिरहा, २४ भदौ। गोलबजार नगरपालिका ११ बेतौनाका ४५ वर्षिय चन्दरदेवी मुखियाको आँगनमै चापा कल छ। तर कलबाट पानी आउँदैन। आफ्नो कलले पानी दिनछोडेपछि छिमेकी मोहन झाको समरसेवल पम्पबाट पानीको गर्जो टारिरहेका छन्।
स्थानीय आशा देवी मुखियाले चापाकलमै सहुलियतको लागि सुपरसेशन मोटर जडान गरेका छन्। तर, मोटरबाट पानी नझरेको वर्षौं भईसक्यो।

वडा अध्यक्ष गणेश मुखियाको आँगन र बारीमा दुईवटा चापाकल छ। एउटामा सुपरशेसन मोटर जडान भएको छ। उनकोमा पनि उहि समस्या पानी तान्दैन।
गोलबजार ११ बेतौना हरिपुरका करिव २०० घर परिवार धेरैको आँगनमा पानी तान्ने चापाकल छ, तर पानी दिंदैन। आफ्नो आगनको चापाकलमा पानी आउन छाडेपछि गाउँका सवै स्थानीय मोहन झाको आँगनमा रहेको बोरिङमा लागेको समरसेवलको भर पर्नु परेकोछ।
पानीका लागि विहान वेलुका यहाँ लामो लाईन लाग्ने गर्छ। दुई बाल्टिन पानी लिन घण्टौ लाइन लाग्नु पर्ने बाध्यता छ।
लामो समयदेखि पर्याप्त पानी नपर्दा भुमिगत जलस्रोतको सतह तल झरेको कारण चापाकलमा पानी नआएको स्थानीय मोहन झाले बताए। उनले भने, ‘हाम्रोमा पछिल्लो पाँच वर्षले पानीको समस्या छ, त्यहि पनि असार साउनमा राम्रो पानी पर्दा मंसिर पुससम्म चापाकलहरुमा थोरै थोरै पानी आउँथ्यो, तर यस वर्ष लामोसमयदेखि पर्याप्त पानी नपर्दा कलबाट पानी आउनै छाडेको छ।’
लामो समयदेखि पानी नपर्दा धान सिंचाई गर्न खेत खेतमा भएका सम्पूर्ण मोटर तथा दमकलहरु चलेकाले झन यो समस्या चुएको झाले सुनाए।

उनले अहिले खेतमा रहेको मोटर र दमकलहरु धान सिंचाईको लागि चलिरहने भएकाले यहाँ चाप कम भएको बताए। उनले भने, ‘नुहाउन, लुगाधुन धेरैजसो मानिसहरु चौरी (धानखेत)मा जाने भएकाले यहाँ चाप कम छ, उताको नचल्ने हो भने यो एउटा समरसेवले गाउँलाई धान्नै सकिन्न।’
उनले तत्काल बैकल्पिक व्यवस्था नगरे यहाँका बासिन्दाले पानीको झन ठूलो समस्या वेहोर्नु पर्ने बताए।
वडा अध्यक्ष गणेश मुखियाले घर व्यवहारमा चलाउने पानीको ठूलो समस्या आईलागेको छ। हामीले व्यक्ति व्यक्तिलाई समरसेवल दिन सक्ने अवस्था वडाको नगरहेको बताए।
उनले पनि लामो समयकोे खडेरी र चौरी (धान खेत)मा भएको मोटरहरु एकैसाथ चल्दा चापकल काम नलाग्ने भएको बताए।
गोलबजार नगरपालिकाले वर्षेनी पीउने पानी र सिंचाईको लागि करोडौं रकम खर्च गर्दै आएको छ। तर, यस्तो खुद्रे र वितरणमुखि योजनाले खानेपानीको समस्या समाधान नहुने स्थानीयसमेत रहेका पूर्व खानेपानी डिभिजनल इन्जिनियर देवनाथ महतोले बताए।
उनले भने, ‘अव घर–घरमा चापाकल बाँडेने वितरणमुखि योजनाले पानीको समस्या समाधान हुँदैन, सामुहिक रुपमा एउटा गाउँ÷टोलमा बोरिङ र साना ओभरहेड ट्याङक राखेर पानीको समस्या सामाधान गर्नेगरी स्थानीय तहले सोच्नु पर्छ।’
यो मौसममा जसो–तसो चापाकलले पानीको गर्जो टारिरहेको थियोे, यो वर्ष लामो खडेरीले घरेलु प्रयोगमा मात्र हैन पानी अभावका कारण कृषि उत्पादनमा समेत समस्या हुनेबाला छ।
गोलबजार ११ बेतौनामात्र हैन पछिल्ला वर्षहरूमा तराई–मधेश क्षेत्रमा पानीको सङ्कट गहिरिँदै गएको छ। चुरे क्षेत्रको अनियन्त्रित दोहन, अनियमित वर्षा, खडेरी, भूमिगत पानीको अत्यधिक प्रयोग, परम्परागत पोखरीहरूको अतिक्रमण र बढ्दो तापक्रमका कारण भूमिगत पानीको सतह निरन्तर घटिरहेको जानकारहरु बताउँछन्।
एकातिर अत्यधिक गर्मी र अर्कोतिर पानीको अभाव गरी दोहोरो समस्या निम्त्याएको छ, जसले कृषि, जनजीवन र वातावरणीय सन्तुलनलाई गम्भीर रूपमा प्रभावित पारेको उनीहरुको कथन छ।






















