सिरहा, २२ भदौ। उदयपुरमा विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर ज्यान गएको छ। त्रियुगा नगरपालिका ८ बागचौरी स्थित विद्युत पोलमा चढेर विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाका कर्मचारीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका १० बोक्से घर भएका ४५ वर्षका रामकृष्ण राजधामी नाम गरेका नेपाल विद्युत प्राधिकरणको गाईघाट शाखामा कार्यरत रहेका थिए।

विद्युतका कर्मचारी राजधामी त्रियुगा नपा ८ स्थित बागचौरी गाउँमा विद्युत मर्मत सम्भारकालागि गएको र विद्युतको पोलमा चढेर बनाउने क्रममा साँझ साढे पाँच बजे करेन्ट लागेर घाइते भएका थिए।

घाइते राजधामीलाई उपचारकालागि उदयपुर जिल्ला अस्पताल ल्याएकोमा उपचार हुँदा हुँदै उनको साँझ करिव ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।  घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।