सिरहा, १६ भदौ। सिरहाको मिर्चैया नगरपालिकाका एक वडा अध्यक्ष किसानलाई बोरिङ्ग दिन्छु भन्दै अवैध रुपमा रकम असुल गरेर लापत्ता भएका छन्। मिर्चैया नगरपालिका ११ सीतापुरका वडा अध्यक्ष चन्द्रदिप कुमार यादव दर्जनौं किसानसँग बोरिङ्ग जडान गरिदिने नाममा लाखौं रकम असुर गरेर पछिल्लो दुई वर्षदेखि लापत्ता भएका हुन्।
वडा अध्यक्ष यादवले आफ्नै वडाका किसानसँग सिंचाई वोर्डिङ्ग जडान गरिदिने भन्दै जनही १५ हजारका दरले असुली गरेको स्थानीय ६५ वर्षिय भरत यादवले बताए। उनले भने, ‘मसँग २०८१ फागुनमा बोरिङ्ग जडान गरिदिने भन्दै रकमा माँगे, मैले पनि दिंए। केही दिन त काम भईहाल्छ भन्दै थिए। अहिले त आफै गायव भएको छ।’
भरतमात्र हैन यहाँका ५८ वर्षिय रामाशिष यादव, ३५ वर्षिय जगवीर यादव, चन्देश्वर यादव, वैजनाथ यादवसहित दर्जनौ किसानसँग सरकारको तर्फबाट बोरिङ्ग आएको छ, चाहिनेहरुले १५ हजारका दरले जम्मा गर्नुपर्छ भन्दै घर घरमै पुगेर रकम उठाएको उनीहरुले बताए।
भरत यादवले भने, ‘वडा अध्यक्षले भने पछि होला त भनेर पैसा बुझायौं, तर अहिले उनी आफै लापत्ता छ। हामीले बोरिङ्ग पायौं, न त पैसा नै फिर्ता।’
वडा अध्यक्ष यादवले सयौं व्यक्तिसँग रकम असुल गरेको स्थानीयको दावी छ। त्यसमध्ये कतिपयको वरिङ्ग जडान भएको पनि उनीहरुले बताए।
वडा सदस्यसमेत रहेका मनिकलाल यादवले आफैले पनि किसानहरुमार्फत रकम दिलाएको बताए। उनले भने, ‘मैले किसानसँग रकम नलिन भने, तर वडा अध्यक्षले गडाई खर्च लिनुपर्छ भन्दै असुल्नु भयो, मैले पनि दिलाउन लगाएँ, अहिले किसानले बोरिङ पाए न त पैसा नै फिर्ता।’
‘दुई वर्ष पुग्न लागिसक्यो, किसानले बोरिङ पाए न रकम फिर्ता,’ उनले भने, ‘यो वडा अध्यक्षलाई कार्वाही गर्ने कुनै निकाय रहेन छ, यसरी किसानलाई दुःखदिने वडा अध्यक्षलाई कार्वाही गरिनु पर्छ।’
मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले नगरपालिकाको योजनामा उपभोक्तासँग रकम असुलगर्ने कुनै योजना नबनेको बताए। उनले भने, ‘नगर तथा वडाका योजनाहरुमा उपभोक्तासँग रकम लिएर काम गर्ने कुनै योजना नै बनेको छैन। कुनै वडाले लिएको भए त्यो गलत हो।’
उनले आफूले पनि यस विषयमा सुनेको भएपनि आधिकारीक जानकारी नआएको बताए। ‘पीडित व्यक्तिहरुले नगरमा उजुर वाजुर गरे त्यसमा हामी छानविन गर्छौं। तर, अहिलेसम्म त्यस्तो आधिकारीक कुनै सूचना आएको छैन।’
वडा अध्यक्ष यादव पछिल्लो दुई वर्ष देखि वडा कार्यालय आउन छाडेका छन्। वडा सदस्यहरुलाई निमित्त दिएर बाहिर बाहिरै बस्दै आएको निमित्त वडा अध्यक्ष झगरु माझीले बताए। उनले वडा अध्यक्ष कहिले काही झुल्के पनि पछिल्लो करिव २ वर्षदेखि वार्डमा बस्नु भएको छैन। कहिले म त कहिले अन्यलाई कार्यबाहक दिएर उहाँ हिडिरहनु भएको छ। म गत २०८२ मंसिर देखि चैत सम्म र पछिल्लो पटक साउन ४ देखि हालसम्म कार्यबाहकको रुपमा काम गरिरहेको छु।’
त्यस अघि अर्का वडा सदस्य मनिकलाल यादव कार्याबाहक भएर काम गरिरहेका थिए। उनले पछिल्लो पटक आफूले ८ महिना कार्यबाहक भएर काम गरेको बताए। उनले पनि वडा अध्यक्ष सम्पर्क विहिन रहेको सुनाए।
वडा अध्यक्ष यादवले पनि किसानसँग रकम लिएको स्वीकार गरेका छन्। तर, उनले आफूपनि एउटा गैरसरकारी संस्थाको कारण फसेको बताए। उनले त्यस संस्थाको व्यक्तिसँग कुराकानी भईरहेको र अव चाँडै यसको छिनोफानो हुने फोनमा बताए।
आफू कतै नभागेको र काठमाडौंमा उपचार गराईरहेको वडा अध्यक्ष यादवले बताए। उनले भने, ‘म अहिले काठमाडौंमा उपचार गराईरहेको छु। यही साताभित्र फर्कदै छु, म भागेको छैन।’
तर वडाअध्यक्ष आफैले हस्ताक्षर गरेको कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी तोकिएको पत्रमा भने ‘कामकाजको लागि बाहिर देश जानु पभर्ने भएकाले मिति २०८३ साउन ४ गतेदेखि नआउँदासम्मको लागि वडासम्वन्धि प्रशासनिक, योजना सञ्चालन सम्पन्न कार्य, बजेट र आर्थिक कारोवारसम्वन्धि सम्पूर्ण कार्यको लािग कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी तोकिएको’ उल्लेख गरिएको छ।






















