सिरहा, १७ भदौ। रसुवाको भोटेकोशी विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि ३६ औँ ब्याचको आधारभूत प्रशासनिक तालिममा सहभागी शाखा अधिकृतहरूले तीन लाख ३४ हजार ८१४ रुपैयाँ सहयोग गरेका छन्।

३६औँ ब्याचमा सहभागी २३९ जना शाखा अधिकृतमध्ये १३५ जनाले रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ९१ हजार ३१३ रुपैयाँ जम्मा गरेका हुन्। अन्यले भने व्यक्तिगत रूपमा सोझै सरकारको खातामा १ लाख ४३ हजार ५०१ रुपैयाँ जम्मा गरेका छन्।

यसरी सामूहिक तथा व्यक्तिगत रूपमा गरी ३६औँ ब्याचका शाखा अधिकृतहरूले बाढी प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि कुल ३ लाख ३४ हजार ८१४ रुपैयाँ सहयोग गरेको सिरहाको माडर भन्सारका शाखा अधिकृतको रुपमा कार्यरत विमल श्रेष्ठले जानकारी दिए।

विनाशकारी बाढीका कारण देश शोकमा डुबेको अवस्थामा पीडित नागरिकलाई राहत तथा राज्यको उद्धार, पुनःस्थापना र पुनर्निर्माण अभियानमा आफ्नो तर्फबाट समेत योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उनको भनाई रहेको छ। अधिकृत श्रेष्ठका अनुसार, यस विषम तथा पीडादायी परिस्थितिमा नागरिकको जिउधनको रक्षा, उद्धार, राहत तथा पुनःस्थापना एवम् क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणमा राज्यलाई ुसानै भएपनि सहयोग पुग्ने बताए।

बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला शाखा अधिकृतहरूको यो सहयोगले मानवीय एकता, सामाजिक उत्तरदायित्व तथा विपद्को समयमा राज्य र नागरिकप्रतिको जिम्मेवारीबोधको सकारात्मक सन्देश दिएको छ।