सिरहा, ८ चैत। सिराहाको औरहीमा हुन लागिरहेको विष्णु महायज्ञको लागि मण्डप बनाउने नाममा दलित परिवारको घरमा डोजर चलाएको घटना अहिले उर्चाको शिखरमा पुगेको छ। घर भत्काउने नेतृत्व गरिरहेका महायज्ञ आयोजक समितिका कार्यकारीणी अध्यक्षसमेत रहेका गाउँपलिका अध्यक्ष शिवजी यादव घटनालाई ढाकछोप गर्न सवैखालका हर्कतमा उत्रिनेका छन्।
उनले गरेको एउटा हर्कत ढाकछाप गर्न धेरै अरुहरकतहरु गरिरहा छन्। औरही गाउँपालिका ५ का दिपक मरिकको घर भत्काएको दोस्रो दिनको मिति राखेर करिव एक महिना पछि सञ्चारमाध्यममा समाचार आईसकेपछि मञ्जुरी नामाको कागज बनाएका छन्। यो विषय गापा अध्यक्ष यादवले आयोजना गरेको पत्रकार सम्मेलनमा दिपकले खुलासा गरेको छ।
दीपकका अनुसार घर हटाउन मन्जुरीनामा रहेको कागजमा झुक्याएर ६ चैत बुधबार बिहान ११ बजेतिर मात्र हस्ताक्षर गराइएको हो। उनलाई नयाँ बनेको घर जग्गाको कागज भनेर सहि छाप गराएको बुझिएको छ।
स्थानान्तरण भएको जग्गामा घर बनाएर मात्रै पुरानो घर भत्काएको पालिका अध्यक्ष यादवले जिकिर गर्दै आएका छन्। तर, नयाँ बनेको घरमा पुरानै घरको काठ, बाँस र जस्ताको प्रयोग भएको छ। यसले पनि उनले घर भत्काउने र बनाउने कामसँगै गरेको पुष्टि हुन्छ।
ऐलानी पर्ति जग्गा खाली गराउने पटक–पटक सूचना निकालेको र सहमतिमा खाली गराएको अध्यक्ष यादव अध्यक्षको दावी छ। तर, सोही क्षेत्रमा अन्य घरहरु अझै पनि छदैछ।
एक बाबाजीले महायज्ञ स्थलमा रहेका मलिक परवारले माछामासु खाने र फोहर गर्ने भएकाले उनीहरुलाई यहाँबाट अन्यत्र सारेको बताए। उनले भने, ‘यहाँ यति ठूलो यज्ञ हुँदै छ। यहाँ उनीहरुले माछामासु खाने र फोहर गर्ने भएकाले उनलाई याँबाट अन्यत्र सारिएको हो।’
त्यति मात्र होइन दीपककी पत्नी अनितालाई ‘घरनजिकै सुंगुर (बंगुर)समेत पालेकाले त्यसले महायज्ञस्थलमा समस्या हुने भनेपछि पालिका अध्यक्षले देखाएको ठाउँमा सरेको’ बोल्न लगाएर भिडियो बनाइएको छ, जुन बिहीबार सार्वजनिक गरिएको हो ।
महायज्ञ आयोजक समितिका मान्छेले दुवैजना (पतीपत्नीलाई) सफाइ कर्मचारीको कामबाट निकालिदिने धम्की दिएर ‘पालिका अध्यक्षले देखाएको ठाउँमा सरेको’ भन्न लगाएर भिडियो बनाएको दीपकले बताए। तर, धम्की दिनेको नाम भने खुलेको छैन। ‘म गाउँपालिकामा अनि पत्नी औरही अस्पतालमा सफाइको काम गर्छाैँ, दुवैको तलब ३३ हजार रुपैयाँ हुन्छ, सातजनाको परिवार पाल्नुपर्छ,’ उनले भने, ‘कामबाट निकालिँदा गाह्रो हुन्छ भन्ने त्रासमा छौँ।’ गाउँपालिका अध्यक्षले नै घर भत्काउँदासमेत उनीहरूले यस अघि खुलेर विरोध गर्न सकेका थिएनन्।
उनीहरुले गरेका सवै हरकतले उनलाई दवामा यहाँबाट अन्यत्र सारिएको भन्ने पुष्टि हुन्छ।
दीपकको घर रहेको जग्गा ऐलानी हो। तर, मधेश प्रदेश सरकारले दुई वर्षअघि मात्र जनता आवास कार्यक्रमअन्तर्गत बनाइदिएको थियो। अहिले गल्फुधारको पश्चिमी भँगालोको माटो खनेर थुपारिएको करिब दुई धुर टाकुरामा बाँसको टाटले बारेको टहरो बनाइएको छ। यो जग्गा सुन्दर जनता माविको हो। ‘उहाँहरूको टहरोमा खानेपानीका लागि कल छैन, बिजुली छैन,’ स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानले भनिन्, ‘अछुत भन्दै महायज्ञस्थलबाट उठीवास गराइयो। घर रहेको ठाउँको माटो पनि ताछेर फालिएको छ । यो अपराधमा संलग्नमाथि कारबाही हुनुपर्छ।’
गाउँपालिका अध्यक्ष यादवले कृषि बजार व्यवस्थापन गर्न दीपकको घर हटाएर अन्यत्र व्यवस्थापन गरिएको दाबी गरे । तर, त्यहाँ थप पाँचवटा घर छन्, जुन अहिले पनि त्यहीँ छन्।
यादवले जातीय छुवाछुतका कारण डोम परिवारलाई महायज्ञस्थलबाट जबर्जस्ती हटाएको पुष्टि भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए।
डोम परिवारको खानेपानीका लागि बिहीबारदेखि नै कल धसाउन मजदुर परिचालन गरिएको उनले बताए। ‘बिजुलीको काम पनि हुन्छ,’ उनले भने, ‘महायज्ञ समापन भएलगत्तै गाउँ कार्यपालिकाबाट निर्णय गरी पक्की घर बनाएर दिन्छौँ।’ महायज्ञ १७ चैतबाट लगाउने तय भएको छ।
अध्यक्ष यादवले डोम परिवारको घर रहेको ठाउँलाई कृषि बजारीकरणका लागि सेड निर्माण, बाउन्ड्री बनाउन संघीय सरकारको सवा तीन करोड बजेटको टेन्डरसमेत लागिसकेको दाबी गरे। ‘पालिकाबाट जग्गा खाली गर्न पटक–पटक लिखित–मौखिक सूचना गरेको भए पनि नटेरेपछि हटाइएको हो, महायज्ञको संयोग मात्र परेको हो,’ उनले भने।
दीपकका बुबा मोहिता डोमको परिवार करिब अढाई दशकअघि सिराहा नगरपालिका १९ सन्हैठा गाउँबाट गल्फुधारको पूर्वपट्टि हुलाकी सडकको दक्षिणी किनारमा बसेको थियो। ‘गल्फुधारनजिकको जग्गा रहेका व्यक्तिले खाली गर्न भनेपछि लालाबालासहित करिब १० वर्षअघि औरही ५ मा पुगेका थिए,’ स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानले भनिन् । औरहीमा दीपकको परिवार बसेको जग्गा ऐलानी थियो। स्थानीय बासिन्दाले सिनो फाल्थे। तर, हुलाकी सडक सुचारु भएपछि वरपर बस्ती बस्यो। जग्गा महँगियो। ‘त्यसपछि कृषि बजारीकरणको नाममा अहिले फेरी उठिबास लगायो;’ पासवानले भनिन्।
आफ्नो थातथलोबाट लखेटिएका डोम परिवारलाई पालिका अध्यक्षले व्यवस्थित र सुरक्षित भनिरहेको सुन्दर माविको स्वामित्वमा रहेको जग्गामा टहरा बनाएर राखिएको छ। भत्काइएको दुईकोठे घर मधेश प्रदेश सरकारको बजेटमा जनता आवास कार्यक्रमअन्तर्गत दुई वर्षअघि बनाएको थियो।
महायज्ञस्थलनजिकैबाट डोम परिवारको घर हटाएको विषयमा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयले अनुगमन थालेको छ। आयोग मधेश प्रदेश प्रमुख बुद्धनारायण साहनीले बिहीबार प्रेस नोट जारी गर्दै यज्ञस्थलनजिकैबाट दलितको घर हटाइएको भनिएको घटनाको अनुगमन थालिएको बताए। महायज्ञ सुरु गर्ने गरी भइरहेको व्यवस्थापन स्थलनजिक रहेको दीपक मल्लिकको पक्की घर १० फागुनमा दलित भएको कारणले भत्काई हटाई स्थानान्तरण गरिएको घटनाको अनुगमन तथा अनुसन्धान थालिएको प्रेस नोटमा उल्लेख छ।