- आशिष विश्वकर्मा
सिरहा, २२ पुस। नेपालमा भविष्य सुनिश्चित नभएको भन्दै शिक्षा र रोजगारीको लागि युवाहरु विदेशिने होड चलिरहेको बेला सिरहामा दुई युवकभने कृषि पेशाबाट लोभलाग्दो आम्दानी गरिरहेका छन्। गोलबजार नगरपालिका ३ मुसहर्नियामा स्थानीय २५ वर्षिय भरत यादव र सर्लाही हरिवनका ३२ वर्षिय निरज कुशवाहभने व्यवसायीक गोलभेडा खेतिबाट मनग्य आम्दानी गरेका हुन्।
गोलबजार नगरपालिका ३ मुसहर्नियामा पछिल्लो ७ वर्षदेखि आ–आफ्नै ढङ्गले व्यवसायीक गोलभेडा खेति गर्दै आएका दुवै युवाले यस वर्ष संयुक्त रुपमा ७ विगहाभन्दा बढी क्षेत्रफलमा गोलभेडा खेति गरेका छन्। उनीहरुले १२ विगहा जमिन भाडामा लिएर गोलभेडा बाहेक गहुँ, तोरी, मुसरी, उखु, धान लगायत अन्नबाली पनि पनि उब्जाउँदै आएका छन्।
यो वर्ष गोलभेडाबाटमात्र २० लाख बढी कमाई गर्ने लक्ष्य उनीहरुले लिएको छ। गोलभेडाको उत्पान र अहिलेसम्मको मूल्य कायम रहने हो भने २० लाख बढी कमाई हुने निरजले अनुमान लगाए। उनले भने, ‘गोलभेडाको फलाई र अहिलेसम्मको बजार मूल्य कायम रह्योभने सवै खर्च कटाएर कम्तीमा २० लाख आम्दानी हुने आकलन गरेको छु।’
अहिले उनीहरुको बारीबाट दैनिक १० क्विन्टल बढी गोलभेडा निस्किने गरेको छ। प्रति केजी ७० रुपैयाँबाट विक्रि सुरु गरेको गोलभेडाको मूल्य हिजोआज २० रुपैयाँमा झरेको छ। यहि मुल्य पनि कायम रह्यो भने रामै्र कमाई हुनेमा उनीहरु ढुक्क छन्।
अहिले उनीहरुको दिन गोलभेडा बारीमै वित्ने गरेको छ। पाकेको खोलभेडा टिप्न लगाउने, गोलभेडा उपचार गराउने, व्यसायीहरुसँग कुराकानी गर्ने, उनीहरुलाई चाहिएको जती गोलभेडा तयार पर्ने उनीहरुको दैनिकी छ।
भरतले भने, ‘विहानै उठ्यो, मजदुर भेलापारेर कुन बारीको गोलभेडा टिप्ने हो त्यहाँ पुग्यो, व्यवसायीको माँग अनुसार गोलभेडाको क्रेट तयार पार्यो, चिसोबाट जोगाउन औषधी उपचारको व्यवस्था मिलायो, यस्तैमा व्यस्त हुन्छौं।’
उनीहरुले फलाएको गोलभेडा स्थानीय बजारसहित उदयपुरको गाईघाट, कटारी, इटहरी र काठमाडौंसम्म पुर्याउने गरेको छ। व्यवसायीको माँग अनुसार आफैले पुर्याउने गरेका छन्। कतिपय व्यसायी बारीमै आएर लाने गरेको पनि उनीहरु बताउँ छन्। उनीहरुको आफ्नै सम्वन्धका आधारमा अहिलेसम्मे उत्पादन बेचिरहेका छन्।
सिरहाका भरत केही वर्ष सवारी चालक भएर काम गरे। अरुको गाढी चलाउँदै आएका उनले पछि आफ्नै हायस गाढी किनेर चलाए। कोरोना भाईसर महामारी समयमा गाडी चलाउन नपाएर घाटा लागेपछि उनी कृषि तथा पशुपालनमा लागेका हुन्। उनी अहिले गाई पालन, आँप र गोलभेडाको व्यवसायीक खेतिमा सक्रिय छन्।
सर्लाहीका निरज पनि पछिल्लो ७ वर्ष देखि गोलबजार ३ मुसहर्नीयामा वसेर आँप र गोलभेडा खेति गरिरहेका थिए। आ–आफ्नै व्यवसाय गर्दै आएको निरज र भरत पछिल्ला केहि वर्षदेखि आँपको व्यवासायमा र यस वर्ष देखि गोलभेडा खेतिमा पनि सँगै लागेका छन्।
जनकपुरमा १५ महिने ल्याव टेक्निसियन पढेका निरजले केही दिन जनकपुरमा रहेर काम गरे। १०–१२ हजारको कमाईले परीवार नचल्ने भएपछि रोजगारीकै निम्ति सन् २०१३ मा मलेसिया २ वर्ष र पछि २०१५ मा साउदी गएर २ वर्ष काम गरे।
विदेशको कमाईले पनि उनको चित्त नबुझेपछि घर फर्केका निरज आँपको व्यवसीक खेतिमा लागे। आँपको बगैचाँ चाहार्दै सिरहा आएका निरज पछिल्ला ६–७ वर्ष देखि यतै आँप र गोलभेडाको खेति व्यवसायीक रुपमा गरिरहेका छन्।
निरजले भने, ‘देशमै जागीर गरें, पैसा कमाउन विदेश पनि हानिए। कतै मन रमाएन। आज आफ्नै माटो खोर्सेर बसेर कमाई पनि गरेको छु। मन पनि रमाएको छ।’
‘बाबु बाजेले जीविकोपार्जन गर्न तरकारी खेति गर्दै आउनु भएको थियो, उहाँहरुले थोरै जमिनमा गोलभेडा उत्पान गर्दा पनि रामै्र आम्दानी गरेको देखेर आफूहरु यसतर्फ आकर्सित भएका हौं; निरजले भने, ‘थोरै जमिनमा उत्पादन गर्दा पनि राम्रो आम्दानी भएको देखेर व्यवसायीक ढङ्गले लागेको हुँ। अहिले राम्रै आम्दानी भईरहेको छ।’
निरन्तर व्यवायीक कृषि कमर्मा रहेका उनीले सिरहाका आँप र गोलभेडा देशको विभिन्न कुनामा पुर्याँदै आएका छन्। तर, उनीहरुलाई आफ्नै गाउँ घरले चिन्न सकेको छैन। आजसम्म उनीहरुले कुनै सरकारी तथा गैरसरकारी निकायबाट प्राविधिक र आर्थिक सहुलियत पाएका छैनन्।
आज पनि देशमा बसेर खेतिपाती, पशुपालन जस्ता कृषि कर्म गर्ने छोरालाई काम नलाग्ने, गरिखान नसक्ने भनेर हेपाहा दृष्टिले हेरीन्छ। तर, निरज र भरतको कृषि कर्म र आम्दानी गोलभेडाजस्तै रातो र रसिलो छ।