जापानमा विद्यालय बिहान साढे ८ बजे शुरू हुन्छन्। तर हामी शिक्षक ७ बजे नै पुगिसक्छौं। डेस्क-बेन्च मिलेको छ/छैन, हेर्ने र मिलाउने गर्छौं। विद्यार्थी आइपुग्नुअघि कक्षाकोठा व्यवस्थित गरिसक्छौं। जापानका सरकारी विद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन्।
जापानका स्कूलमा हप्ताको पाँच दिन पढाइ हुन्छ। शनिबार र आइतबार बिदा हुन्छ। दिनमा ६ पिरियड हुन्छन्। हरेक घण्टी ५० मिनेटको हुन्छ। कक्षा शुरू हुनुभन्दा ५ मिनेट अघि शिक्षक कोठामा पुगिसक्नुपर्छ। विद्यार्थी २ मिनेटअघि आफ्नो सीटमा बसिसकेको हुनुपर्छ। कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन्। शौचालय अनि भान्सा पनि उनीहरूले नै सफा गर्छन्। यसमा शिक्षकहरू साथमा हुन्छन्। सरसफाइका लागि ४/५ जना विद्यार्थीको फरक-फरक समूह बनाइएको हुन्छ। शुरूका कक्षादेखि नै उनीहरूलाई सरसफाइ गर्न सिकाइन्छ। यो पनि शिक्षाकै अंग हो।
कक्षा शिक्षकले हाजिरी गर्दा हरेक विद्यार्थीको मुहार ध्यानपूर्वक हेर्ने गर्छौं। उनीहरूको अनुहार उज्यालो छ कि अँध्यारो छ नियाल्ने गरिन्छ। यदि कसैको अनुहार अँध्यारो छ भने सञ्चो भएन कि भनेर सोध्छौं। अरू नै केही समस्या भए अभिभावकलाई सोध्छौं र समाधानको प्रयास गर्छौं। यसो गरिएन भने समस्या ठूलो हुँदै जान्छ। त्यसले अनेक असर निम्त्याउन सक्छ। त्यही दिन समस्या सल्टियो भने उसको त्यो दिन राम्ररी बित्छ र त्यस दिनको उसको पढाइ पनि राम्रो हुन्छ।
जापानका सरकारी विद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन्। कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन्। शौचालय अनि भान्सा पनि उनीहरूले नै सफा गर्छन्। यसमा शिक्षकहरू साथमा हुन्छन्। सरसफाइका लागि ४/५ जना विद्यार्थीको फरक-फरक समूह बनाइएको हुन्छ। शुरूका कक्षादेखि नै उनीहरूलाई सरसफाइ गर्न सिकाइन्छ। यो पनि शिक्षाकै अंग हो।
हरेक सोमवार नैतिक शिक्षाको पढाइ हुन्छ। यसमा यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर शिक्षकले अर्ति-उपदेश दिने भन्दा पनि शिक्षक विद्यार्थीबीच छलफल हुन्छ। उनीहरूलाई कहिले कुनै किताब पढ्न त कहिले कुनै विषयवस्तुमा छलफल गर्न दिइन्छ। जस्तो, फोहोर जहाँ पायो त्यहीं फाल्नुहुन्छ कि हुँदैन, कक्षामा समयमा आउनुपर्छ कि पर्दैन, म्युजियम वा कतै जाँदा हल्ला गर्नुहुन्छ कि हुँदैन, आफ्नो व्यवहारले गर्दा अरूलाई अप्ठ्यारो पर्छ कि पर्दैन जस्ता प्रश्नमा विद्यार्थी र शिक्षकबीच छलफल हुन्छ। र, यस्तो छलफलपछि विद्यार्थीले आफैं निष्कर्ष निकाल्छन्।
केही समयअघि हाम्रो स्कूलमा एक विदेशी विद्यार्थी आए। उनको भाषा-संस्कृति जापानीभन्दा फरक थियो। कति विद्यार्थीले उनलाई माया र वास्ता गर्थे, तर कतिले गर्दैनथे। भाषा–संस्कृति फरक हुँदा घुलमिल हुन कतिलाई समय पनि लाग्छ। अरू देशबाट आएका फरक भाषा र संस्कृति भएको विद्यार्थीलाई बेवास्ता गर्नु ठीक हो कि होइन भनेर विद्यार्थीहरूसँग छलफल गरियो। र, उनीहरू आफैंले ठीक होइन भनेर महसूस गरे। सानैदेखि छलफल गरेर यसरी नैतिक शिक्षाको महत्व बुझउँदा पछिसम्म उनीहरू असल व्यवहार गर्छन्।
परीक्षाको नतिजा प्रकाशनका बेला हरेक विद्यार्थीका अभिभावकलाई १५ मिनेटका दरले समय दिइन्छ। अभिभावकसँगको कुराकानी ४/५ दिन चल्छ। कोही विद्यार्थी पढाइमा कमजोर भएमा कुन विषयमा किन कमजोर भए भनेर विषयगत शिक्षकहरूबीच छलफल हुन्छ। त्यसपछि मात्र कमजोर विद्यार्थीलाई कसरी माथि उठाउन सकिन्छ भनेर योजना बनाइन्छ।
जापानमा विद्यालय तहको पाठ्यपुस्तक लेखनलाई धेरै महत्व दिइन्छ। विश्वविद्यालयका प्राध्यापक, राम्रा शिक्षकहरूबीच गहन छलफल भएपछि मात्र पुस्तक तयार हुन्छ। पुस्तक प्रकाशनका लागि गुणस्तरीय कागज प्रयोग हुन्छ। विद्यालयमा अंग्रेजी भाषाको पढाइ हुन्छ; तर गणित, विज्ञान, सामाजिक शिक्षा लगायत विषय जापानी भाषामा पढाइ हुन्छ। सानै कक्षादेखि विद्यार्थीलाई श्रम र कामको महत्व बुझउन व्यावसायिक सीप पनि सिकाइन्छ। सिलाइ-बुनाइ, सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन तालिम दिइन्छ। माध्यमिक तहका विद्यार्थी त कम्पनीमा गएर ‘इन्टर्नसिप×’ समेत गर्छन्। त्यसरी काम गरेबापत पैसा पनि पाउँछन् । काम गरेर पारिश्रमिक पाएपछि सरकारलाई कर तिर्नुपर्छ भन्ने कुरा उनीहरूले त्यतिबेला नै सिक्छन्। यसरी सिकेको कुरा उनीहरू आफ्नो र देशको लागि पनि हुन्छ।
विद्यार्थीले किताब मात्रै पढ्न मन पराउँदैनन्। त्यसैले उनीहरूलाई कक्षाकोठा बाहिर लैजाने गर्छौं। विभिन्न क्रियाकलाप गराउँछौं । विद्यार्थीलाई नियमित रूपमा संगीत, कला र खेलमा सहभागी गराउँछौं । यसबाट विद्यार्थीलाई धेरै कुरा सिकाउन सकिन्छ। जस्तो, खेलमा हार-जीत हुन सक्छ। यसैकारण झ्गडा हुन सक्छ। तर ‘खेल भनेको सबैको लागि खेल्ने हो, देशको लागि खेल्ने हो’ भनेर बुझउन सकिए उनीहरूलाई अनुशासन सिकाउन सकिन्छ। जापानमा बच्चाबेलादेखि नै जिम्मेवार बन्न सिकाइन्छ। हामीले उनीहरूलाई आफ्नो लागि मात्र होइन आफ्नो वरपर, समाज र देशको लागि काम गर्नुपर्छ भनेर सिकाइरहेको हुन्छौं। विद्यालय तहको पढाइ पूरा हुँदा उनीहरूमा आफूलाई राम्ररी अभिव्यक्त गर्न सक्ने क्षमता, न्याय, इच्छाशक्ति र समाजमा मिलेर बस्ने सीप विकास भएको हुन्छ।
विद्यार्थीले शिक्षकलाई हेरेर पढिरहेको हुन्छ। शिक्षक राम्रो भएन भने विद्यार्थी राम्रो हुँदैन। राम्रो विद्यार्थी बनाउन शिक्षकले मिहिनेत गर्नुपर्छ। शिक्षक दक्ष बन्न आधुनिक तरिका सिक्दै जानुपर्छ। पेशागत विकासका लागि सरकारले पनि तालिम दिन्छ। साथै सिनियरले जुनियरलाई सिकाउने गरिन्छ। उनीहरूसँग अनुभव हुन्छ। कतिपय नयाँ शिक्षकहरू गुगल सर्च गर्न मन पराउँछन्। प्रविधिबाट पनि सिक्नुपर्छ। तर नयाँबाट पुरानाले र पुरानाले नयाँबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ । किनकि मानिस सामाजिक प्राणी हो।
जापानमा शिक्षकको सेवा-सुविधा राम्रो छ। जीवन धान्न शिक्षकलाई राम्रो तलब छ। घरपायक भन्दा अन्यत्र गएर काम गर्नुपर्यो भने आधा घरभाडा थप पाउँछन्। पेन्सन पनि राम्रो छ। त्यही भएर पनि जापानमा मन लगाएर शिक्षकले काम गर्छन्। काममा मिहिनेत गर्छन्। विद्यालय छुट्टी भएपछि पनि अतिरिक्त २/३ घण्टा बसेर भोलिका लागि तयारी गर्छौं हामी। सेवा-सुविधा आकर्षक भए पनि शिक्षक हुने चाहना भने मान्छेपिच्छे फरक हुन्छ। शिक्षकका विभिन्नखाले समस्या वा दुःख हुन सक्छन् । तर पनि विद्यार्थीलाई माया गर्नुपर्छ। सम्मान दिनुपर्छ। उनीहरूको जीवनमा खुशी र सुख होस्, बच्चा राम्रो हुन् र देश राम्रो होस् भन्ने उद्देश्य हुनुपर्छ। यही उद्देश्य लिएर म शिक्षक बनेको हो। र निरन्तर यही पेशामा छु। अबको ९ वर्षपछि अवकाश पाउँछु।
प्रस्तुति: रोश्ना सुब्बा
शिक्षक मासिक।