- नन्दकिशोर चौधरी
प्रत्येक वर्ष भाद्र २९ गते बाल दिवस मनाइन्छ । बाल दिवसको अवसरमा विद्यालय, बालबालिका संग सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालय, विभिन्न सम्बन्धित संस्थाहरु लगायतले बाल दिवस मनाउँछन्। खेलकुद, मनोरंजन, ज्ञानबद्र्धक कार्यक्रमहरु गरेर बाल दिवस मनाउने गरिएको छ । बाल सहभागीतालाई बाल दिवसले सहयोग गरेकै देखिन्छ। तर बाल दिवसलाई दिवसको रुपमा वर्षमा एक दिन मात्रै मनाएर वर्ष भरी बाल अधिकार, बाल विकास, बाल सहभागिता लगायतका विषय व्यवहारमा ल्याउन सकिएन भने बाल दिवस सिर्फ एक दिवसको रुपमा मात्रै गनिनेछ।
बाल हित, बाल अधिकार, बाल दिवस लगायतका विषय नेपालमा कसरी कहिलेदेखि किन आयो भन्ने बारेमा वार्षिक रुपमा मनाइने बाल दिवसमा सहभागी बालबालिकाहरुलाई नै जानकारी भएन भने, जनाउन सकिएन भने त्यो बाल दिवसको अर्थ नै के रहला । तसर्थ् बाल अधिकारको बारेमा बाल दिवसको दिन मात्रै चर्चा गरेर अरु दिन ‘बाल’लाई ‘बाल’ दिइएन भने बालबालिकामा सर्वाङ्गिण विकासको अपेक्षा गर्न सकिदैन । बाल अधिकार एवं बाल दिवसको बारेमा बालबालिका, विद्यालय, सरकारी गैरसरकारी संस्थाले मात्रै होइन कि देश, प्रदेश, स्थानीय तह, वडा र गाउँ बस्तीमा बस्ने सबैलाई जानकारी हुन, जानकारी राख्न, जनाउन जरुरी छ।
बाल अधिकारको सुरुवात
बाल अधिकारको चर्चा प्रसंग प्रथम् विश्वयुद्ध (सन् १९१४–१९१८) संगै भएको देखिन्छ । प्रथम् विश्वयुद्धमा अनेकौ बेहिसाव धनजनको क्षति भयो। घर, विद्यालय, आश्रय स्थल सबै ध्वस्त भए । युद्धमा त बयस्क मान्छेहरुले भाग लिए, एक अर्कालाई मारे तर अवस्था नाजुक हुन गयो बालबालिकाको । उनीहरु बस्ने घर, पढ्ने विद्यालय, खेल्ने रमाउने ठाउँ क्षतविक्षत भए। बालबालिकाहरुले आमाबुवा गुमाए, आफन्त गुमाए, छाना, छहारी, ओत सबै गुमाए । जबकि युद्धमा बालबालिकाको न सहभागिता थियो न कोही कसैको पक्षमा लागेका थिए । यो कुराले युद्धलाई प्रत्यक्ष रुपमा नियाली रहेकी बेलायती सामाजिक अभियन्ता÷पत्रकार महिला एग्लेन्टाइन जेबलाई मर्माहत बनायो । बालबालिकाहरुलाई युद्ध जस्तो भयानक अवस्थाबाट बचाउनुपर्छ, जोगाउनु पर्छ भन्ने मत जाहेर गरिन् । तर बम, बारुद, बन्दुक, गोलीको अगाडी उनको मतको कुनै अर्थ रहेन, अर्थ रहन पनि दिएन।
बालबालिकालाई बचाउनु पर्छ, बालबालिकालाई बाच्न दिनुपर्छ भन्दै सन् १८९५ मा जन्मेकी जेबले युद्ध सकिएको करिब एक वर्ष पछि सन् १९१९ मा सेभ द चिल्ड्रेन फण्ड नामक संस्था बनाएको इतिहास छ । बाल अधिकारको कुरा गर्दै बालबालिकालाई युद्ध जस्तो विपतीबाट बचाउनका लागि उनले आफ्नो संस्था मार्फत आवाज उठाइ रहिन् तर उनको कुराको वास्ता नै गरिएन । दिन मात्रै होइन वर्षहरु बित्दै गए। बालबालिकाको हितको विषयमा कुरा उठाएको करिब ७० वर्ष पछि सन् १९८९ मा संयुक्त राष्ट्रसंघले एग्लेनटाइन जेबले उठाएको बाल अधिकार सम्बन्धी विषयलाई बाल अधिकार महासन्धीको रुपमा आत्मसात गर्यो। त्यो दिन थियो, १९८९ नोभेम्बर २० तारिख । त्यही भएर यहि दिनको सम्झनामा नोभेम्बर २० मा प्रत्येक वर्ष संसार भरी अन्तराष्ट्रिय बाल अधिकार दिवस मनाइन्छ। यसरी भएको हो बाल अधिकारको औपचारिक सुरुवात।
नेपालमा बाल दिवस
संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धी आत्मसात एव्म पारित सहित विश्वभरी यसलाई अनुमोदन गरी बाल अधिकारको प्रचारप्रसार संगै कार्यान्वयनका लागि पहल गर्यो । संयुक्त राष्ट्रसंघले प्रचारप्रसारका लागि पत्राचार गरेपछि सोही अनुरुप त्यसको करिब एक वर्ष पछि नेपालमा किर्तीनिधि बिष्ट प्रधानमन्त्री भएको बेला सन् १९९० सेप्टेम्बर १४ तारिख (वि.सं. २०४७ भाद्र २९ गते)का दिन नेपालले बाल अधिकार सम्बन्धी महासन्धीलाई अनुमोदन गर्यो । यही दिनको सम्झनामा नेपालमा प्रत्येक वर्ष सेप्टेम्बर १४ अर्थात् भाद्र २९ गते राष्ट्रिय बाल दिवस मनाइन्छ । यद्यपि बालबालिका सम्बन्धी योगदानको सम्मान भन्दै वि.सं. २०५० देखि २०५५ सम्म रत्नराज्य लक्ष्मीदेवी शाह (तत्कालिन राजा महेन्द्रको रानी)को जन्म दिन भाद्र ४ गतेको दिन समेत बाल दिवस मनाइएको थियो।
नेपालमा बाल दिवस मनाउन थालिएको यस पटक ६० औं वर्ष पुगेको छ । तर के भने जस्तो बालबालिकाले बाल अधिकार प्राप्त गर्न सकेको छ त ? एक पटक गम्भीर रुपमा सोचौ सबैले । बालश्रम शोषण, बाल अधिकार हनन, सडक बालबालिकाको समस्या देशमा कति छ कति । पार्टीका सांसदले बालिकालाई शोषण गर्छन्, यातना दिन्छन्, पशु जस्तो व्यवहार गर्छन् र तिनको पार्टीको प्रधानमन्त्रीले त्यो सांसदलाई संरक्षण गर्छन् । यो भन्दा बिडम्वना र दण्डहीनताको अवस्था कल्पना पनि गर्न सकिदैन । सरकारले प्रत्येक वर्ष बाल दिवसको अवसरमा भाका मिलेको नारा त दिन्छन् तर बालबालिकाको क्षेत्रमा, बालअधिकारको क्षेत्रमा खास गर्न सकेको छैन।
बाल अधिकार
बालबालिका गर्भमा आइसके पछि उसले बाँच्न पाउने अधिकार प्राप्त गर्दछ। नेपालको सन्दर्भमा जन्मेदेखि १८ वर्षसम्म उमेरका व्यक्तिलाई बालबालिका भनिएको छ । बाच्न पाउनेदेखि सहभागितासम्मको अधिकारलाई बाल अधिकारको रुपमा व्याख्या गरिएको छ।
बाल अधिकारलाई चार पक्ष वा भागमा विभाजन गरिएको छ, जसलाई छोटकरीमा बसंविस भनेर बुझिन्छ। बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता गरी बाल अधिकारको चार पक्ष अन्तर्गत रहेर बाल अधिकारको सुनिश्चितता गर्ने गरिएको पाइन्छ । बाल बचाउ अन्तर्गत खाना, आवास, कपडा, उचित स्वास्थ्य र सुरक्षा प्राप्त गर्ने अधिकार प्राप्त गर्दा बाल संरक्षण अन्तर्गत भेदभाव, शोषण, अपहेलनाबाट संरक्षित हुने, जोखिमपूर्ण कार्यबाट संरक्षित हुने, श्रम शोषण सामाजिक विभेदबाट संरक्षित हुने, दण्ड, युद्ध तथा जोखिमपूर्ण कार्यबाट संरक्षित हुने अधिकार प्राप्त गर्दछ। त्यस्तै बाल विकास भन्नाले शिक्षा, खेलकुद, व्यायाम, मनोरञ्जन, सहयोग, पारिवारिक माया ममता प्राप्त गर्ने अधिकार राख्दछ भने बाल सहभागीताले बाल विकासका विभिन्न व्रिmयाकलापमा सहभागी हुन पाउने, धार्मिक सामाजिक तथा अन्य व्रिmयाकलापमा सहभागी हुन पाउने, आफ्नो विचार व्यक्त गर्न पाउने, आफ्नो जीवनसँग सम्बन्धित पक्षमा निर्णय ह‘ँुदा सहभागी हुन पाउने अधिकार आदि प्राप्त गर्दछन्।
संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धीलाई अनुमोदन गरेसंगै नेपालले सन् १९९० लाई बालिका वर्ष, सन् १९९१ देखि सन् २००० सम्म बालिका दशक, सन् २००१–२०१० सम्म बाल अधिकार दशकका रूपमा मनाएको देखिन्छ । नेपाल सरकारले बाल अधिकार संरक्षण र संवर्धनका लागि बालबालिका सम्बन्धी ऐन, २०४८ र बालबालिका नियमावली, २०५६ लागु गरेको छ भने नेपालको संविधानमा बालबालिकाको हकलाई मौलिक हकको रुपमा व्यवस्था, बालबालिका सम्बन्धी ऐन, २०७५ निर्माण तथा कार्यान्वयन, गुनासो सुनुवई कार्यविधि, २०७४ को निर्माण र कार्यान्वयन तथा बाल संगठन र बाल अधिकार समिति, कल्याण समिति लगायतका व्यवस्थाहरु लागु गरिएको छ।
बाल अधिकार सम्बन्धी महासन्धी
बाल अधिकार सम्बन्धी महासन्धी (Convention on the Rights of the Child, CRC) एउटा अन्तर्राष्ट्रिय कानुनी दस्तावे हो जसले बालबालिकाका अधिकारहरुको रक्षा र प्रवद्र्धन गर्नको लागि बनाइएको छ । यस महासन्धीलाई सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघको महासभामा अंगीकार गरियो । यस महासन्धीमा समावेश गरिएका अधिकारहरु यस बमोजिम रहेको छ।
क) सार्वभौम अधिकारहरु
विभेद विहिनता : सबै बालबालिकाले समान अधिकारहरु प्राप्त गर्नेछन् (धारा २)
–जीवन, अस्तित्व र विकासको अधिकार (धारा ६)
–स्वतन्त्रता र अभिव्यक्तिको अधिकार (धारा १३)
ख) शिक्षा र स्वास्थ्य
–बालबालिकाको स्वास्थ्य र विकासको सुरक्षाको लागि स्वास्थ्य सेवाहरुको पहुँच (धारा २४)
–बालबालिकाले प्राथमिक शिक्षा प्राप्त प्राप्त गर्नुपर्ने (धारा २८)
ग) बालबालिकाको संरक्षण
–बालबालिकाको शोषण र दुव्यर्वहारबाट संरक्षण (धारा १९)
–बालश्रमबाट सुरक्षा (धारा ३२)
–बालबालिकालाई जेलमा राख्ने नियम (धारा ३७)
घ) पालनकर्ता र परिवार
–पालनकर्तामा सजगता : बालबालिकाको सर्वोत्तम हितमा निर्णय लिने (धारा ३)
–पालनकर्ताको अधिकार : बालबालिकाको आफ्नो परिवारसंग सम्बन्ध कायम राख्न पाउने (धारा ९)
ङ) संस्कृति र छुट
–बालबालिकाले उनीहरुको राय व्यक्त गर्न पाउने अधिकार (धारा १२)
–संस्कृति र संस्कारहरुको सम्मान (धारा ३०)
यस महासन्धीका सिद्धान्तहरु र प्रावधानहरु बलबालिकाको जीवनको गुणस्तर सुधार्न र उनीहरुको अधिकारहरुको रक्षा गर्न समर्पित छन् । यो अन्तर्राििष्ट्रय स्तरमा मान्यता प्राप्त एक महत्वपूर्ण दस्तावेज हो जुन विश्वभरका सरकारहरुलाई बालबालिकाको अधिकारहरुको संरक्षण र प्रवद्र्धन गर्न प्रेरित गर्दछ।
पंक्तिकार बाल अधिकार विषयका जानकार एवम् भूतपूर्व बाल पत्रकार हुन्।