विद्यार्थीले ग्याजेट मन पराए, किताब छाडे । यो भाष्यले डिजिटाइजेसनको बुझाइ र प्रयोगमा बदलाव खोजेको छ । पढाइको अंग बनाउने तरिका वा विभिन्न प्रविधि–पुस्ताबीचको सहकार्य गर्ने तर्किबमा पनि परिवर्तन चाहेको छ । सबै प्रविधि–पुस्ताका शिक्षकलाई प्रविधि प्रयोगमा सक्षम बनाउन, पुस्तक र ग्याजेटलाई एक–अर्काका पूरक बनाउन, प्रविधि प्रयोगका समस्या चिन्न र सल्टाउन अब जरुरी छ।
शिक्षामा प्रविधि जोड्नु नै डिजिटाइजेसन हो । प्रविधि डोको प्रविधि हो । ढकिया प्रविधि हो । हतासो प्रविधि हो । आरन प्रविधि हो । ढिकी प्रविधि हो । यिनलाई कक्षाकोठामा जोडे रैथाने प्रविधीकरण भन्न मिल्छ । सरस्वती माध्यमिक विद्यालय थैब ललितपुरले यो काम गरेको छ । यसको जानकारी ‘मिनीनेपाल डट ओआरजी’ मा पाइन्छ । खरिकादेवी पराजुलीको विद्यावारिधि शोधपत्र (सन् २०२३) मा हेरे पनि हुन्छ । त्यहाँ सर्वतोभद्रमण्डलम् अर्थात् वैदिक रेखीबाट गणित पढाउने तरिका छ । आँखीझ्याल तथा स्याखुबाट पनि माध्यमिक तहको रेखागणित, बीजगणित तथा अंकगणित एकसाथ पढ्ने/पढाउने उपाय छ । उनले त्यसमा कम्प्युटर एनिमेसन पनि जोडेकी छन् । पश्चिमी शब्दावलीमा इथ्नोम्याथ वा इथ्नोसाइन्स भन्ने गरिन्छ।
भर्चुअल रियालिटी डिजिटाइजेसनको अर्को तरिका हो । यो तरिकाले यथार्थलाई भर्चुअल्ली देखाउँछ । महावीर पुनले ठमेलको होटलमा नेपालका हिमालको भर्चुअल अनुभूति गर्ने प्रबन्ध यसैको उदाहरण हो । यसबाट पढ्न/पढाउन मिल्छ । त्यस्तै, मेटाभर्स अर्को तरिका हो । चस्मा लगाउने र चस्मामा भएको बटम थिचेर रेडियोको फ्रिक्वेन्सी मिलाएझैं मिलाउने । जे खोज्यो त्यो हेर्ने । समुद्र हेरे पनि, पहाड हेरे पनि । ब्लकचेन अर्को प्रविधि हो । यो प्रविधिमार्फत हामी डिजिटल लेजरको रेकर्ड गर्न सक्छौं ।
तथ्यांक ठीक छ वा छैन भनी हेर्न सक्छौं । अन्तर्राष्ट्रिय जगत्मा जोडिन्छौं । पारदर्शिता सुनिश्चित गर्छौं । सफ्टवेयर एप्लिकेसन अर्को प्रविधि हो । यसले वेब ब्राउजिङ, वर्ड प्रोसेसिङ, स्प्रडसिट, ग्राफिक डिजाइन, इमेल, मल्टिमिडिया प्लेब्याक, गेम, प्रोजेक्ट मेनेजमेन्ट, एकाउन्टिङ, प्रोजेक्ट मेनेजमेन्ट, सञ्चार आदि कार्यमा सघाउँछ । च्याट जीपीटी अर्को प्रविधि हो । यसले लेख्न/पढ्न सघाउँछ । च्याट जीपीटी मोडल ३.५ प्रयोग गरे संग्रहित तथ्यांक ट्रान्सक्राइब गर्न सजिलो हुन्छ । प्रत्येक तीन महिनामा बदलिने अहिलेको प्रविधिले के गर्छ के गर्दैन भन्न सकिन्न । खोज निरन्तर जारी छ ।
कसरी सम्भव बनाउने ?
एलन मस्कको सोचले भन्छ— दोहोरो संवाद हिजोको कुरा हो । अब सबैको सबैसँग संवाद हुने प्रविधि आउँछ । नेटवर्क नचाहिने । अन्तर्राष्ट्रिय मात्र हैन, अन्तरग्रहीय संवाद सम्भव छ । उनको स्टारलिंक स्याटेलाइट प्रविधिले दिने सन्देश यही हो । उनी भन्छन्— त्यो बेला मोबाइल पनि चाहिन्न । यो चिन्तन पछ्याउने हो भने हाम्रा अहिलेका भाष्य कथा हुन्छन् । अहिलेकै भाष्यलाई पछ्याउने हो भने पनि हामीसँग अनेक सम्भावना छन् । पहिलो, वाइफाई सुविधा भएका विद्यालय, कलेज, क्याम्पस तथा विश्वविद्यालय जोड्ने ।
यसैको विस्तारका रूपमा नेपाली डायस्पोरालाई ती संस्थासँग जोड्ने । अन्ततोगत्वा मन लागेका देशका विद्यालय, कलेज, क्याम्पस तथा विश्वविद्यालय पनि समेट्ने । विद्यार्थीका रुचिका उद्योग, व्यवसाय, बजार, संघसंस्था आदि जोड्ने । छिटफुट रूपमा यो काम भइरहेकै छ । यसलाई विस्तार गर्नासाथ हाम्रा कक्षाकोठा भर्चुअल कक्षा बन्छन् । पूरै कक्षामा त्यो सुविधा दिन नसकेमा विद्यालय, कलेज, क्याम्पस तथा विश्वविद्यालयको कुनै एउटा कोठालाई भर्चुअल कक्षा बनाउन सकिन्छ । आलोपालो विद्यार्थीले सिक्छन्, सिकाउँछन् । शोध गर्न गराउन सक्छन् ।
दोस्रो, वाइफाई सुविधा नभएका विद्यालय, कलेज, क्याम्पस तथा विश्वविद्यालयसँगको टेली लिंकेज गर्ने । यसका लागि टेलिफोन सुविधा भए पुग्छ । यस्ता ठाउँका विद्यालय, कलेज, क्याम्पस तथा विश्वविद्यालयका विद्यार्थीबीच टेलिफोन कक्षा चलाउन सकिन्छ । अहिले नेपाल टेलिकम्युनिकेसनले गरेजस्तो गरी फोन उठाउनासाथ शिक्षा दिने तरिका अपनाउन सकिन्छ । यसरी, कुनै बेला नुवाकोटमा दोहोरो संवाद हुने रेडियो शैक्षिक कार्यक्रम त्यसलाई निरन्तरता दिन सकिन्छ । तेस्रो, क्लोज सर्किट टेलिभिजनको प्रयोग । क्यामरा तथा मनिटर हुनासाथ यो काम बन्छ । यसको सहाराले घरैमा बसेर पढ्न मिल्छ, जाँच दिन मिल्छ । त्यहींबाट प्रसारण गर्न सकिन्छ । चौथो, रेकर्डेड क्लास । यसमा अडियो, भिडियो रेकर्ड गर्न सकिन्छ।
पाँचौं, फेसबुक, भाइबर, मेसेन्जर, ह्वाट्सएप आदिबाट कक्षा लिने । डाटा तथा डाटाप्याकबाट मोबाइल चलाउने शिक्षकको तागत उपयोग गर्न सक्ने अर्को सम्भावना छ । पोर्टेबल राउटर पनि यसमा जोड्न सकिन्छ । यस्ता सोच बोक्नासाथ हामीसँग अनेकौं सम्भावना भेटिन्छन् । शिक्षकको मोबाइलले स्मार्टबोर्ड, ल्यापटप आदिको काम गर्छ भन्ने ज्ञान हुन्छ । छैटौं सम्भावना हो, इन्टिलिजेन्ट ट्युटरिङ सिस्टमको प्रयोग । यो प्रणालीमा के पढ्ने/पढाउने तरिका हुन्छ । यसरी पढेको कुरा जीवनमा कसरी प्रयोग गर्ने भन्ने पनि समावेश हुन्छ । हुन त यो विधि कृत्रिम बुद्धिसँग जोडिएको हुन्छ तर त्यसलाई हामी रेकर्डेड ट्युसन कक्षाका रूपमा प्रयोग गर्न सक्छौं । हिन्दीको मास्टर फिल्मको तरिका अपनाउन सक्छौं । परिणामतः गरिबी तथा कनेक्टिभिटीको समस्या उराल्नेहरूको स्वतः पराजय हुन्छ । दुर्गम तथा गरिब बस्तीका मधेश, पहाड तथा हिमालका कक्षाकोठा डिजिटाइज्ड हुन थाल्छन् ।
डिजिटाइजेसनका लागि हामीलाई तीन कुरा चाहिन्छन्— डिजिटल स्थान (स्पेस), डिजिटल संस्कृति र ई–लर्निङ । भूगोल हेरेर, कनेक्टिभिटी, सम्भावना, प्रविधिको उपलब्धता हेरेर स्थान बनाउने हो । घोप्टे युगले यो संस्कृति भित्र्याइसकेको छ । फेसबुक र समाचार हेर्ने संस्कृतिले ई–लर्निङमा अभ्यस्त गराउँदै लगेको छ । यस्तो बेलामा पनि गरिबी र भूगोल देखाएर सम्भावना छैन भन्नु मानसिक दरिद्रताको अभिव्यक्ति मात्रै हुन सक्छ । यो दरिद्रताबाट माथि उठ्नासाथ हाम्रा विद्यार्थीलाई विश्वका जुनसुकै देशका कक्षामा जोड्न सक्छौं, खुला स्रोतमार्फत । गुगल स्कोलर्समार्फत । प्रिज्मामार्फत।
समस्या पनि छन् कि ?
डिजिटाइजेसनको दुनियाँमा दुईथरी समस्याको चर्चा हुन्छ— आन्तरिक र बाह्य । आन्तरिक समस्यामा प्रवृत्ति तथा विश्वास प्रमुख मानिन्छन् । शिक्षकको हकमा र शिक्षक प्रशिक्षकको हकमा । तिनको प्रतिरोध दोस्रो समस्या हो । डिजिटल दुनियाँले सिकाएका कुरालाई पाठ्यक्रम तथा पाठ्यपुस्तकसँग जोड्न नसक्नु तेस्रो समस्या हो । बाह्य समस्यामा प्रविधि पहुँच, कनेक्टिभिटी, उपकरण, तालिम र सपोर्ट प्रणाली हुन् । यसो गर्दा डिजिटल एक्स, वाई, जेड तथा अल्फा पुस्ताका सबै व्यक्तिलाई समेट्नुपर्ने हुन्छ । तलको बक्सका जुन समूहमा परे पनि :
– मौन परम्परामा जन्मेका (सन् १९२५–१९४५) : साइलेन्ट ट्रेडिसनल जेनेरेसन
– बेबी बुमर्सको बेलामा जन्मेका (सन् १९४५–१९६५) : बेबी बुमर्स जेनेरेसन
– एक्स पुस्ता (सन् १९६५—१९८०) : एक्स जेनेरेसन
– मिलिनियल्स (सन् १९८०—१९९५) : मिलिनियल जेनेरेसन
– जेड पुस्ता (सन् १९९५—२०१० : जेड जेनेरेसन
– अल्फा पुस्ता (सन् २०१० पछि जन्मेका) : अल्फा जेनेरेसन
शिक्षक तथा विद्यार्थीको पुस्तैनी फरकले पनि धेरै समस्या ल्याएको छ । शिक्षककेन्द्रित हुन अभ्यस्त भएकाहरू विद्यार्थी केन्द्रित कसरी हुने ? पढाउन जानेकाहरूले पढ्ने कला कसरी सिकाउने ? शिक्षकबाट सहजकर्तामा कसरी रूपान्तरित हुने ? थोरै विद्यार्थी छन् । पढाउन जाँगर लाग्दैन भन्ने शिक्षकहरू यसका उदाहरण हुन् । १०० भन्दा कम विद्यार्थी भएका १० हजार विद्यालयमा पनि उल्लेख्य नतिजा नआउनु अर्को उदाहरण हो । यसको अर्थ हो— अहिलेका शिक्षकलाई डिजिटल संसारमैत्री बनाउन सकिएको छैन । न त आत्मविश्वासी नै । आधुनिक प्रविधि पनि पढ्ने साधन हो भन्ने चिन्तन दिन सकिएको छैन । विद्यार्थी पनि एकोहोरा भएका छन् । ग्याजेटमा तल्लीन तिनले ग्याजेटमै संसार देख्छन् । अभिभावक तथा शिक्षकहरू किताबमै संसार देख्छन् । जनस्तर र प्राज्ञिक दुनियाँ जोड्न चाहनेले धार्मिक ज्ञान, जनस्तरको ज्ञान तथा पश्चिमा ज्ञानको संयोजनमा संसार देख्छन् । हाम्रा ज्ञान, विज्ञान तथा प्रविधिका कुरा ग्याजेटमा कम भेट्छन्।
समाधान के ?
स्वीकार पहिलो समाधान हो । डिजिटल उपकरणहरू भाँडा मात्र हुन्, त्यहाँ जे हाले पनि हुन्छ । यो काम हामी सबैले गर्न सक्छौं । यति भन्नासाथ हामीसँग हजारौं समाधान भेटिन्छन् । शिक्षकहरू नै प्रविधिमा राख्ने सामग्री बनाउन थाल्छन् । विद्यार्थी त्यसै गर्छन् । उनीहरूको दिमागमा आधुनिक प्रविधि दोहोरो प्रणाली हो।
दोस्रो समाधान हो, यो प्रविधि ० र १ बाट चल्छ । मोबाइल, ल्यापटप वा डेस्कटप जे भए पनि । यति भन्नासाथ शिक्षकमा हिम्मत आउँछ।
तेस्रो समाधान, मोबाइल पाम टप हो। मोबाइल चलाउनेले ल्यापटप, डेस्कटप वा स्मार्टबोर्ड चलाउन सक्छ ।
चौथो समाधान, सिकाइ । हामी हाम्रा अनुभव भनौं, विद्यार्थी उनका ज्ञान, सीप तथा प्रविधिका कुरा गर्छन् । यति भन्नासाथ शिक्षकले विद्यार्थीसँग सिक्न थाल्छन् ।
पाँचौं समाधान, टी–प्याकको उपयोग । यो प्याकमा के पढ्ने भन्ने विषयवस्तु छ । कसरी त्यो विषय पढ्ने/पढाउने प्रक्रिया छ । पढेको कुरा कहाँ र कसरी उपयोग गर्ने भन्ने जानकारी छ । त्यसका लागि कक्षाकोठाको व्यवस्थापन के कस्तो हुनुपर्छ भन्ने पनि जानकारी छ। यो प्रबन्धले शिक्षकलाई प्रविधिमुखी बनाउँछ।
छैटौं समाधान, प्रविधिमा अलिकति खोज । अलिकति पाठ्यपुस्तकमा। अलिकति सन्दर्भ सामग्रीमा । अलिकति धर्मशास्त्रका किताबमा । अलिकति जनअनुभवमा । यति भन्नासाथ विद्यार्थी शोधकर्ता बन्छ । शिक्षकको भूमिका सिक्ने र सिकाउने बन्छ । प्रश्न हो— एककाँधे मात्रै बन्ने कि परिवेशअनुसारका कुरा समेट्दै जाने ? निर्णय हामी शिक्षककै हो।
कान्तिपुरबाट।