कक्षामा अन्तरक्रियाका आधारमा मलाई उनीहरूको भाषिक क्षमता थाहा छ । यो अनुभवका आधारमा उनीहरूले लेखेको कुरा उनीहरूको होइन र कुनै ‘भर्चुअल गुरु’ लाई लेखाइएको थियो भन्ने निष्कर्षमा पुग्न मलाई गाह्रो भएन । धेरै वाक्य त्रुटिरहित भए पनि संरचनात्मक हिसाबले यान्त्रिक थिए।
घटना २ : स्नातक तहकै सातौं सेमेस्टरमा ‘क्रिटिकल एन्ड प्रबलम सल्भिङ’ कोर्स छ । विद्यार्थीमा आलोचनात्मक चेत निर्माण गर्न र प्रमाणसहित आफ्नो तर्क पेस गर्न तथा अरूको तर्क बुझ्ने क्षमतालाई प्रस्फुटन गर्नका लागि यो पढाइन्छ । गएको सेमेस्टरमा एक जना राम्रै विद्यार्थीले यसै विषयको आन्तरिक परीक्षा नराम्रोसँग बिगारेपछि उनीसँग मेरो कुरा भयो । किन यस्तो भो भन्ने प्रश्नमा उनले भने, ‘च्याट जीपीटीले डुबायो सर ।’ उनको परिस्थिति यस्तो थियो—
पाठ्यवस्तुको अध्याय २ र ३ उनले क्लास लिन पाएका थिएनन् । दुर्भाग्यवश, पाठ्यक्रमको संरचनाअनुसार त्यही अध्यायबाट प्रश्न सोधिनुपर्थ्यो । उनले पुस्तक तथा शिक्षक/सहजकर्ताको मद्दत लिनुको सट्टा पछिल्लो समय निकै चर्चामा आएको ‘भर्चुअल गुरु’ को सहारा लिए ।
बदलिँदो शैक्षिक परिप्रेक्ष्यमा गृहकार्य तथा आन्तरिक परीक्षाको संरचना, प्रकार तथा प्रकृति कस्तो हुनुपर्छ भन्ने अर्को छलफलको विषय होला । तर यी दुई प्रतिनिधि घटनाका आधारमा हाम्रो शिक्षण, पढाइ/लेखाइ र समग्र सिकाइमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले पारेको सकारात्मक वा नकारात्मक असरलाई नजरअन्दाज गर्न भने सकिँदैन।
एआईबारे दुई तर्क
शैक्षिक तथा शैक्षणिक परिवेशमा एआईको प्रभावलाई लिएर दुईवटा विचार प्रख्यात छन् । एक, अब विद्यार्थीलाई गृहकार्य वा असाइनमेन्ट नदिए पनि हुन्छ । एआईले त सिकाइ खत्तम पार्यो । अर्को, एआई त सिकाइको भगवान् निस्कियो । अब शिक्षण, सम्पादन जस्ता जागिर धरापमा परे, अथवा त्यस्ता जागिरको आभा रहेन ।
पहिलो सोच, हरेक परिवर्तनलाई सन्देहले हेर्ने र त्यसलाई सजिलै नस्विकार्ने र प्रतिरोधी मानसिकताको उपज हो । संसारमा भएका हरेक परिवर्तनका आफ्नै गुण–दोष छन् । जब क्यालकुलेटर आयो, मान्छेले भने— अब गणित शिक्षकको काम छैन । त्यसपछि झन् साइन्टिफिक क्यालकुलेटरको आविष्कार भयो, फेरि तर्क आयो— त्रिकोणमितिका कक्षा काम छैन । तर, त्यस्ता आकलनको विपरीत यी अभिनवले पेसा तथा सिकाइलाई मार्नुको सट्टा विद्यार्थीलाई गणितसम्बन्धी जटिल समस्या समाधान गर्न सहज बनाए । तर एआईलाई त्यही मानेमा ढुक्कसँग प्रयोग गर्न सकिँदैन ।
क्यालकुलेटर तथा कम्प्युटर प्रविधिले मानवले पहल गरेको गतिविधिलाई छिटो, छरितो र सुदृढ गर्न सहजीकरण गर्छ । तर, एआईको लापरबाह प्रयोगले ज्ञान निर्माण गर्ने तथा उपार्जन गर्ने प्रक्रियामा विद्यार्थीको स्वायत्तता तथा एजेन्सीलाई नै खारेज गर्छ । जस्तो ‘नेपालमा जलवायु परिवर्तनको प्रभाव’ शीर्षकमा निबन्ध लेख्न लगाउँदा यसले तपाईंले जानेको, बुझेको वा बुझ्न खोजेको स्थानीय ज्ञान तथा व्यक्तिगत धारणालाई ठाउँ नदिई ठूला डेटा भण्डारमा छिरी अरूले भनेका कुरालाई जोहो गरी निबन्धको संरचनामा ढाल्दिन्छ । त्यसकारण, अन्य नवीनतम प्रविधिले जस्तै एआईका पनि आफ्नै गुण–दोष छन् । यसलाई कसरी प्रयोग गर्ने र यसबाट हुने हानिबारे कसरी सतर्क रहने भन्ने बुझाइ महत्त्वपूर्ण हो ।
उदाहरणका लागि जसरी क्यालकुलेटरको प्रयोग नकार्न सकिँदैन, शिक्षण तथा सिकाइमा एआईको प्रभावलाई निस्तेज पार्न गाह्रो छ । तर, विद्यार्थी तथा शिक्षकको वैयक्तिक विकास, ज्ञानको उपार्जन, प्रयोगलाई दाउमा राखेर यसको प्रयोग समग्र सिकाइका लागि हानिकारक छ । जसरी घटना १ का विद्यार्थीले कथाका मुख्य पात्रलाई चरितार्थ गर्न सिक्नुपर्ने हो, उनले महाभारतका कृष्णबारे लेख्ने प्रयास गरे । महाभारतका कृष्णबारे जान्नु नराम्रो पटक्कै होइन । तर, समस्या उनलाई सिकाउन तथा उनले सिक्नुपर्ने सीपबारे हो । त्यसैगरी, घटना २ का विद्यार्थीलाई क्रिटिकल थिंकिङ पढाउनुको तात्पर्य हो— उनले आफ्नो मस्तिष्कको सही उपार्जन गरी निर्दिष्ट परिस्थितिमा आवश्यक आलोचनात्मक तथा समलोचनात्मक चेतको विकास गरुन् र आफ्नो व्यक्तिगत तथा व्यावसायिक विकास गरुन् भन्ने हो । तर दुवै घटनामा विद्यार्थीले प्रविधिको बुइँ चढेर विद्यार्थी हुनुको आफ्नो एजेन्सी तथा स्वायत्तता गुमाएका छन् र सिक्ने मौका मारेका छन् ।
दोस्रो सोच, एआईको देवत्वकरण । अर्थात्, यसलाई टेक्नो–युटोपियन भाष्य (प्रविधिद्वारा स्थापित आदर्श समाज) पनि भन्न सकिन्छ । यो आस्था राख्नेहरूले मानिसको अस्तित्व, पहिचान तथा क्षमतालाई नजरअन्दाज गर्दै यसलाई स्तुत्य तथा अलौकिक मान्ने गर्छन् । छिटो र छोटो विधिमा रनभुल्ल भएर यसका दोषहरूलाई ओझेलमा पारेका छन् । त्यसो त यस्तो सोचका सिकार आम मानिस, विद्यार्थी, कतिपय शिक्षक तथा प्राध्यापकदेखि नाम चलेका वैज्ञानिक पनि छन् । जस्तो, प्रसिद्ध इजरायली लेखक युभल हरारीले पनि एआईको जन्म र विकासले सुई लगाउने, तौल उठाउने, गाडी चलाउने जस्ता काम मानिसको पहुँचमा नहुने र यस्ता जागिर धरापमा पर्ने बताएका थिए । सन् २०१८ को आफ्नो पुस्तक ट्वान्टी वान लेसन्स फर ट्वान्टी फर्स्ट सेन्चुरी (एक्काइसौं शताब्दीका लागि एक्काइस पाठ) मा उनले यस्तो जिकिर गरेका थिए (पृ. २०—२९) ।
यद्यपि, एआईको अपार क्षमताको जति पक्षपोषण गरे पनि यो प्रविधि पनि दोषरहित भने छैन, कम्तीमा सिकाइमा यसको निश्चिन्त प्रयोग सन्दर्भमा । अनुसन्धनात्मक जर्नल आर्टिकल र शोध प्रकाशनको लागि विश्व प्रसिद्ध प्रकाशक नेचरको ह्युमानिटिज एन्ड सोसल साइन्स कम्युनिकेसन्स जर्नलअन्तर्गत जुन २०२३ मा प्रकाशित शोध ‘इम्प्याक्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन ह्युमन लस इन डिसिजन मेकिङ, लेजिनेस एन्ड सेफ्टी इन एजुकेसन’ को अन्तर्य छ— प्रमुख मानव सरोकारलाई सम्बोधन नगरी एआईलाई स्वीकार गर्नु सैतानलाई बोलाउनु जस्तै हुनेछ । पाकिस्तान र चीनका विश्वविद्यालयका विद्यार्थीमा गरिएको उक्त शोधअनुसार एआई टुलको आलोचनात्मक प्रयोगले विद्यार्थीमा निर्णय लिने क्षमता खस्केको, आलस्य बढेको र गोपनीयतामा नोक्सान पुर्याएको पाइएको छ ।
माथिका दुई उदाहरणले विद्यार्थीको सिकाइ बानीमा एआई कसरी सल्किएको छ भन्ने यथार्थलाई प्रस्ट पारेका छन् । विडम्बना के भने, हाम्रो शिक्षण संस्थाहरूले न यसबारे यथेष्ट औपचारिक बहस सुरु गरेका छन्, न यसबारे नीति नियम बनाउने जमर्को गरेका छन् । हाम्रा विश्वविद्यालयका सरोकारवाला पनि माथि उल्लेखित दुई ध्रुवीय सोचमा छन् । केही शिक्षक एआईको प्रभाव अभूतपूर्व छ भनी सोच्छन्, जबकि अरूले ती उपकरण प्रयोग गरेर कम्तीमा विद्यार्थीले केही सिक्छन् भन्ने सोच्छन् ।
तर, विश्वका धेरैले विश्वविद्यालयले यो प्रविधिको अभूतपूर्व प्रभावलाई बुझेका छन् र आफ्नो शिक्षण पद्धतिलाई सुदृढ गर्न र समयानुसार सान्दर्भिक बनाउन प्रयोगबारे नीति परिमार्जन गरी लागू गरिसकेका छन् । उदाहरणका लागि क्याम्ब्रिज विश्वविद्यालयले सुझाएको ‘लेखक’ को परिभाषाअनुसार कुनै पनि एआई टुल ‘लेखक’ हुन सक्दैन । तर, एआईको प्रभावलाई उक्त विश्वविद्यालयले पनि नकार्न पनि सकेको छैन । त्यसैले, प्रयोगकर्ताले जर्नल आर्टिकल लेख्दा वा शोध गर्दा एआई टुललाई दिएको निर्देशन (प्रम्प्ट) समेत उल्लेख गरी सन्दर्भ सूची तयार गर्न सुझाएको छ ।
त्यही अवधारणालाई पछ्याउँदै मोडर्न ल्यांग्वेज एसोसिएसन (एमएलए) ले अमेरिकन साइकोलोजिकल एसोसिएसन (एपीए) जस्ता रेफेरन्स गाइडले एआईद्वारा सिर्जना गरिएको ‘विषयवस्तु’ लाई सुसंगठित गर्ने हेतुले एआईद्वारा लेखिएको अंश उद्धरण गर्ने खाका तथा विधि सुझाएका छन् । एमएलए, एपीए, सिकागो म्यानुअल आदि विश्वविद्यालयका विभिन्न संकायअन्तर्गत शोध, अनुसन्धान तथा खोज गर्दा र जर्नल आर्टिकल तथा पुस्तक लेख्दा प्रयोग गरिएका स्रोत तथा लेखकलाई श्रेय दिन र सन्दर्भ सूचीको व्यवस्थापन गर्न प्रयोग गरिन्छ ।
सम्भावित समाधान
एआई तीव्र विस्तारित हुँदै छ । कुन हदसम्म यसको प्रयोग गर्ने भन्नेबारे ग्लोबल स्केलमा छलफल भइरहे पनि यसभित्र लुकेको व्यापारिक स्वार्थका कारण लागू गर्न सकिने प्रोटोकल बनेका छैनन् । त्यसैगरी, एआई टुल प्रयोग गरी लेखिएका विषयवस्तुलाई पहिचान तथा निगरानीमा राख्ने अनुप्रयोगहरू बने तापनि यी त्यति प्रभावकारी भएको पाइँदैन । तर, शिक्षण तथा प्राज्ञिक परिवेशमा एआईको प्रयोगलाई सही दिशातर्फ उन्मुख गर्न प्रणालीबद्ध हस्तक्षेप जरुरी छ ।
पहिलो, व्यक्तिगत रूपमा यसको प्रयोगले आफ्नो वैयक्तिक विकासलाई कसरी निर्देशित तथा मार्गदर्शन गर्न सकिन्छ भन्नेतिर विद्यालय तथा विश्वविद्यालयको सिकाइ उन्मुख हुनुपर्छ । यसका लागि शिक्षक तथा सम्पूर्ण सिकाइ प्रणालीले वैयक्तिक विकास तथा वृद्धिका लागि सिकाइलाई केन्द्रमा राख्नु जरुरी छ । यो सन्देश विद्यार्थीले गर्ने दैनिक शैक्षिक क्रियाकलापद्वारा सम्प्रेषण हुनुपर्छ । सजिलै तथा निःशुल्क प्राप्त हुने एआई अनुप्रयोग नै विद्यालय तथा स्नातकस्तरको पढाइ/लेखाइलाई प्रभाव पार्न काफी छन् । चाहे स्वाद, अम्मल वा अभ्यास होस्, नयाँ कुराले प्रवेश तथा प्रश्रय पाउने भनेको हाम्रो दिनचर्या हो । त्यसकारण, व्यक्तिगत रूपमा विद्यार्थीको दैनिक शैक्षिक आनीबानी नै हस्तक्षेपको मुख्य प्रावधान हो । शैक्षिक क्रियाकलापमा यसलाई विद्यार्थीको अम्मल बन्न दिनु हुँदैन ।
परिवर्तनको सुरुआती चरणमा मानिस त्यो कुराप्रति निकै आकर्षित र अचम्मित हुने गर्छ, विशेषगरी कुनै पनि कुरालाई सकारात्मक तरिकाले आत्मसात् गरेका बेला । जस्तै, फेसबुक, युट्युब । त्यसो त इन्टरनेट आफैंले हामीलाई निकै तान्ने गर्थ्यो/गर्छ । यिनीहरू विस्तारित हुने क्रममा सकारात्मक दृष्टिले हेर्नेहरू अझ बढी चित्ताकार्षित हुने गर्छन् । यिनीहरूका दोष तथा बेफाइदा विस्तार थिग्रिएपछि मात्र थाहा हुन्छ । त्यसकारण, शिक्षक तथा शैक्षिक संरचनाले सिकाइलाई केन्द्रमा राख्नु जरुरी छ । एआई टुलको बुइँ चढ्नुको साटो यसको हात समाएर तर पूर्ण निर्भर नभई सिकाइ गर्नु महत्त्वपूर्ण हुन्छ ।
त्यसैगरी, संस्थागत संवेदनशीलता पनि उत्तिकै जरुरी छ । प्लेजियरिज्म (बौद्धिक चोरी) जस्तो महत्त्वपूर्ण प्राज्ञिक समस्यालाई कुनै एक प्रविधि टुलको सहारामा छोडिदिने हाम्रा विश्वविद्यालयलाई घनीभूत हुँदै गएको एआईलाई व्यवस्थित तथा निर्देशित गर्नु निकै चुनौतीपूर्ण छ । सार्वजनिक जमघटमा हुने र सार्वजनिक खपतका लागि बोलिने सरोकारवालाको सतही अभिव्यक्तिले एआई प्रभावलाई निगरानीमा राख्न र व्यवस्थित गर्न सकिँदैन । यसका लागि निर्दिष्ट नीति आवश्यक छ । हाम्रो देशमा जहाँ डिजिटल डिभाइडको खाडल गहिरो छ र डिजिटल साक्षरता कम छ, एआईले शैक्षिक वातावरण तथा शैक्षणिक प्रक्रियामा ल्याउने घाटा–नाफालाई औंल्याउनु नितान्त आवश्यक छ ।
पंक्तिकार प्रविधि र नवीनतम चेत शिक्षा तथा शिक्षण गतिविधिमा अपरिहार्य छन् भन्ने कुराको सौहार्दपूर्ण पक्षपोषण गर्छ । तर, प्रविधिको बुइँ मात्र चढेर हाम्रा विशिष्ट, स्थानीय तथा अद्वितीय अवस्थाको सम्बोधन हुँदैन । एआईको असीमित सम्भावनाबारे धेरै चर्का समर्थन र पक्षपोषण भएका छन् । तर पनि हाम्रो शिक्षण र सिकाइको परिप्रेक्ष्यको सन्दर्भमा एआईको प्रयोगबारे नीति निर्देशन नबनाई यसलाई ढुक्क भएर आत्मसात् गर्न सकिने स्थिति छैन । कुनै पनि नवप्रवर्तनको प्रयोग सिकाइ उत्प्रेरणालाई निमिट्यान्न पार्न नभई यसलाई सुदृढ बनाउन प्रयोग गरिनुपर्छ भन्ने कुरा पढ्ने र पढाऊने दुवैले बुझ्नु जरुरी छ।
कान्तिपुरबाट।